स्कुलले आयोजना गर्ने महायज्ञमा दानविरहरुको घुईचो हुनुमा धार्मिक आस्था की सामाजिक बाध्यता ?- प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ पुष २ गते २०:५८ मा प्रकाशित

image1

धर्म, संस्कार, रितिरिवाज समुदाय वा समाजलाई अनुशासित ढंगबाट नियमन गर्न बनाईएको सामाजिक नियम हो भन्दा खासै फरक पर्दैन । चाहे मानिसले आफुलाई बाहिरी संसारमा आस्तिक वा नास्तिक भनेर परिचित गराए पनि कुनै न कुनै तवरबाट सबैले धार्मिक आस्था र परम्परागत मान्यतालाई अनुसरण गरिरहेको पाईन्छ । वैज्ञानिक, डाक्टर, ईन्जिनियर वा धार्मिक गुरुहरु नै किन नहुन् केही न केही रुपमा सबैजसोले भाग्यवाद र ईश्वरमा भरोसा गरेको पाईन्छ । अत: धार्मिक विश्वास जुनसुकैरुपमा भएपनि सबै मानिसहरुमा हुने गर्छ । खास आज उठाउन खोजेको प्रसंग भनेको स्कुलहरुले आयोजना गर्ने धार्मिक महायज्ञहरु मार्फत आर्थिक संकलन गरेर स्कुलहरुको शैक्षिक स्तर वृद्दी गर्ने, भौतिक संरचनाको विकाश गर्ने गरेको सन्दर्भ हो । यस किसिमको प्रचलनको लोकप्रियता खासगरि नेपालको ग्रामिण क्षेत्रमा बढ्दै गएको पाईन्छ ।
वास्तवमा धार्मिक कार्यक्रम मार्फत शिक्षा, स्वास्थ, बाटोघाटो निर्माणमा जनताहरुको सहयोग जुटाउन सकिन्छ भन्ने मान्यता राखेर महायज्ञहरु संचालनमा प्रवचनकर्ताको रुपमा सहभागिता जनाएर महत्वपुर्ण भुमिका निर्माण गर्ने कामको थालनी स्वर्गिय वाचन शिरोमणी नारायण प्रसाद पोखरेलले गरेका थिए तसर्थ उनको योगदान यस क्षेत्रमा अतुलनीय छ । उनको देहान्त पश्चात पनि उनका छोरा र अन्य धार्मिक प्रवचनकर्ता पण्डितहरुको भुमिका यस्ता कार्यमा महत्वपुर्ण रहदै आएको छ । यस्ता धार्मिक कार्यक्रम आयोजकहरुले यस्ता धार्मिक प्रवचन दिने कला भएका वाचकहरुलाई आमन्त्रण गरेर आकर्षक ढंगबाट धार्मिक प्रवचन गर्न लगाएर सर्वसाधरणहरुको मन प्रसन्न गराएर दानको रुपमा सहयोग रकमहरु, भौतिक चल वा अचल सामाग्रीहरु संकलन गर्ने गरेको पाईन्छ ।

यस्ता धार्मिक महायज्ञहरुमा दाताहरुलाई दानको मुल्य हेरिकन आवस्यक मानसम्मान पनि दिईने चलन छ । त्यसो त दाताहरुले दान गर्ने अभिप्राय समान हुँदैन कसैले धार्मिक आस्थाको रुपमा त कसैले सामाजिक प्रतिष्ठाको रुपमा त कसैले आत्मसम्मान र ईगो वा देखासिकीको रुपमा समेत यस्तो कार्यक्रममा आफ्नो दान वा उपहार अर्पण गर्ने गरेको पाईन्छ । कतिपयले आफु र आफ्नो पुर्वजहरुको नाम उचो राख्ने मनाशायले आफ्नो क्षमता भन्दा बढि आर्थिक सहयोग गर्ने गर्छन् त कतिपयले प्रतिस्पर्धाको हिसावले त कतिपयले समाजमा अरु समान सम्मानित भएर बाँच्न सकियोस् वा मर्दा-पर्दा सबैको सहयोग पाईयोस् भन्ने मनाशायले पनि सक्दो वा औकात भन्दा बढि पनि घरघडेरी बन्धक राखेर समेत सहयोग गर्न तत्पर हुन्छन् ।

यस्तै एउटा धनधान्याञ्चल महायज्ञ नारायणस्थान बाग्लुङको एउटा लोकप्रिय नमुना सामुदायिक स्कुल ” गणेश मावि”मा आजभोली केही दिन देखि संचालन भईरहेको छ । जुन यज्ञमा भक्तजनहरु, सर्वसाधारण देखि व्यापारी र विभिन्न क्षेत्रका व्यक्तिहरुको टाढा टाढा समेतबाट उल्लेखनियरुपमा उपस्थित भई अनेपेक्षित आर्थिक सहयोग दान वा चन्दा दिएको खवरहरु आईरहेको छ । महायज्ञले वरपरका गाउँलेहरुले मनफुकाएर सहयोग गरेको देखिएको छ र महायज्ञ स्थल दैनिक खचाखच भरिएको जानकारी पाईएको छ । यसले के देखाउँछ भने मानिसहरुलाई सामाजिक काममा, सामाजिक संस्थाहरु, शैक्षिक धरोहरहरुमा सहयोग गर्न बहाना वा माहोल खडा हुनु पर्दो रहेछ ।

यस्तै अनुभव यो स्तम्भकारले २०६१ सालमा यही गाउँ नारायणस्थानमा संचालित धनधान्याञ्चल महायज्ञ ( तत्कालिन जनता मावि स्कुलमा) मा समेत उल्लेखनिय उपस्थितीमा मनफुकाएर सबैतिरबाट आर्थिक सहयोग जुटेको थियो । त्यस्तै धेरै ठाउँमा यस्ता धार्मिक महायज्ञबाट उल्लेखनिय आर्थिक संकलन भएर स्कुल, स्वास्थ केन्द्र, बाटोघाटो, पुलहरु आदी निर्माण भएका खवरहरु पनि समय समयमा सुन्दै आईएको छ । अत: मानिसहरुमा वर्तमान समयमा पनि धार्मिक आस्था र सामाजिक सेवाको भावना जीवन्त रहिरहेको छ । तसर्थ वर्तमान समयमा सामाजिक विकाशको एउटा आधारशिलाको रुपमा धार्मिक गतिविधीलाई समेत अगाडी बढाउन सकिने देखिन्छ ।

अन्तमा नेपालको सरकार वा राज्यले जनताको शिक्षा, स्वास्थ, खानेपानी, यातायात जस्तो आधारभुत क्षेत्रमा समुचित ध्यान पुर्याउन नसकिरहेको अवस्थामा यस्ता धार्मिक गतिविधीकै साहारामा समेत सामाजिक क्षेत्रका महत्वपुर्ण क्षेत्रमा सर्वसाधारणको अतुलनीय योगदान निरन्तर रहिरहनु अति प्रसंसनिय मान्नु पर्छ । यसबाट कम्तीमा पनि राज्यले केही पाठ सिकेर राष्ट्रको ढुकुडीमा संकलित राजस्व र अन्तर्राष्ट्रीय सहयोगको समुचित सदुपयोग जनउपयोगी क्षेत्रमा लगानी गर्न सके थप जनताहरुको उत्साह बढ्ने थियो परन्तु यस तर्फ राजनितिक नेतृत्वहरुको चेत वा होश अझै सम्म खुलेको छैन बरु यस्तै जनताले आयोजना गर्ने महायज्ञहरुमा लाजै नमानी खादा र माला गलामा पहिरिन आतुर देखिन्छन् ।

प्रतिक्रिया