महायज्ञमा ६ करोडभन्दा बढी दान सङ्कलन

इनेप्लिज २०७३ मंसिर २९ गते ३:४६ मा प्रकाशित

रामपुर (पाल्पा), २९ मङ्सिर । गङ्गालाल माध्यमिक विद्यालय, चापाकोटमा सञ्चालन भएको महायज्ञमा रु ६ करोड ३२ लाख ७७ हजार चारसय ७० बराबरको दान सङ्कलन भएको छ ।

महायज्ञमा रु एककरोड तीनलाख नौसय ७० नगद र रु पाँच करोड २९ लाख ७६ हजार पाँचसय बराबरको जग्गादान सङ्कलन भएको मूल आयोजक समितिका संयोजक हरि पँगेनीले बताउनुभयो ।

प्राविधिक शिक्षा सञ्चालनका लागि भएको महायज्ञमा लक्ष्यभन्दा बढी दान सङ्कलन भएको छ । गत मङ्सिर २० देखि २७ गतेसम्म सञ्चालन भएको महायज्ञ अवधिभर पण्डित दीनबन्धु पोखरेलले सङ्गीतमय शैलीमा कथावाचन गर्नुभएको थियो ।

चापाकोट–११ कुवाकोटका मित्रलाल कोइराला, रामु कोइराला र राजु कोइरालाको परिवारले महायज्ञमा सबैभन्दा बढी रु ५१ लाख बराबरको जग्गादान गर्नुभएको मूल आयोजक समितिका सदस्य अर्जुन खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया