चितवनमा १६ हजार तीनसय ५५ भूकम्पपीडित

इनेप्लिज २०७३ मंसिर २२ गते ६:५१ मा प्रकाशित

chitwanरत्ननगर (चितवन), २२ मङ्सिर । चितवनमा १६ हजार तीनसय ५५ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् ।

हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितको निवेदन सङ्कलन भएको हो । सामान्य क्षतिसहित गरी यसअघि चितवनमा १५ हजार सातसय ४९ भूकम्पपीडितको तथ्याङ्क आएको थियो । त्यसमा पूर्णक्षति तीनहजार सातसय २५ घर रहेको थियो ।

चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत गरिएको लगत सङ्कलनको क्रममा यसरी भूकम्पपीडितले क्षतिको विवरण पेस गर्नुभएको हो ।

पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डका आधारमा मात्रै उनीहरुलाई सरकारले रु तीन लाखको राहत प्याकेज दिनेछ । अहिले आएका निवेदन छानबिन गर्न केन्द्रबाट इन्जिनियर सहितको टोली आउन लागेको जिविस चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो । गत कात्तिकबाट यसरी लगत सङ्कलन गरिएको थियो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट कम प्रभावित जिल्लामा समेत पुनःनिर्माणको काम सुरु गरेपनि जिल्लामा पुनः लगत सङ्कलन गरिएको हो ।

पहिलो चरणमा लगत सङ्कलन र त्यसपछि पुनः निर्माणको काम थालिनेछ । चितवनलगायत १७ जिल्लामा लगत सङ्कलन थालिएको छ । अहिले यसरी लगत सङ्कलन हुने जिल्लामा चितवनलगायत लम्जुङ, तनहुँ, खोटाङ, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, सोलुखुम्बु र कास्की छन् ।

यस्तै, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र सङ्खुवासभामा पनि पुनःनिर्माणको काम थालिएको जनाइएको छ ।

प्रतिक्रिया