सुदूरपश्चिमका तीन जिल्लाका एकसय ४१ बेपत्ता

इनेप्लिज २०७३ मंसिर १६ गते ६:२६ मा प्रकाशित

कञ्चनपुर, १६ मङ्सिर । भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय ४१ जना बेपत्ता भएका छन् । निड्स नेपाल, कञ्चनपुर नामक गैरसरकारी संस्थाले भारतमुखी अप्रवासनबारे गरेको अध्ययनमा मजदुरीमा गएका व्यक्ति बेपत्ता भएको पाएको हो ।

“भारतमा मजदुरी गर्न गएकाका परिवारसँगको प्रत्यक्ष भेटघाटका क्रममा अछामका २२, डोटीका ९९ र कञ्चनपुरका २० जना गरी एकसय ४१ जना बेपत्ता भएको पाइएको छ”, निड्सका कार्यक्रम व्यवस्थापक प्रकाश मडैले भन्नुभयो । उहाँका अनुसार बेपत्ता भएका व्यक्ति पाँचदेखि बीस वर्षको अबधिसम्म परिवारको सम्पर्कमा नरहेको पाइएको छ ।

संस्थाले गरेको अध्ययनअनुसार तीनवटै जिल्लाका ६३ प्रतिशत काम गर्ने उमेरका युवा भारतमा मजदुरीका लागि जाने गरेका छन् । भारतमा मजदुरी गर्न जानेमध्ये ६० प्रतिशतसँग कमाएको पैसा सुरक्षित राख्नका लागि बैंक खाता नहुँदा उनीहरुको विप्रेषणसमेत जोखिममा रहेको पाइएको व्यवस्थापक मडैले बताउनुभयो ।

संस्थाले विप्रेषण सुरक्षित राख्नका लागि भारतमा जानेको समूह बनाई बैंकमा खाता खोल्न र बैंकमार्फत पैसा पठाउनका लागि सचेतना दिने कार्य गरिएको उहाँको भनाइ रहेको छ ।

“एक वर्षको अबधिमै दुईसय प्रवासीले बैंकमा खाता खोली कारोबार गर्न थालेका छन्”, उहाँले भन्नुभयो । सन् १९५० को नेपाल—भारत मैत्री सन्धिका आधारमा दुवै देशका नागरिक बिना रोकटोक नेपाल–भारत ओहोरदोहोरका साथै सम्पत्तिको व्यावसायिक अधिकार प्रयोग गर्दै आएका छन् ।

एक देशबाट अर्को देश जानका लागि कुनै भिसा, प्रमाण नचाहिने र निर्बाधरुपमा नेपाली भारत र भारतीय नेपालमा आएर रोजगारमा संलग्न हुने गरेका छन् ।

प्रतिक्रिया