डा केसीको मागप्रति सरकारी चिकित्सक सङ्घको समर्थन

इनेप्लिज २०७३ मंसिर १५ गते ८:०५ मा प्रकाशित

dr-kcकाठमाडौँ, १५ मङ्सिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत अठार दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपाल ( गोदान) ले समर्थन जनाएको छ ।

गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुङ्ग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ ।

महासचिव डा. गिरीले २४ घन्टा पछि डा केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संङ्घर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा आग्रह गर्नुभएको छ ।

नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाको स्थापना सरकारी तवरबाट भई जेहेन्दार विद्यार्थीले सर्वसुलभ रुपमा अध्ययन गर्नसक्ने वातावरण बन्नुपर्छ भन्ने लगायतका मागप्रति गोदानले एक्यवद्धता जनाएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

डा केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्नसमेत बल पुग्ने अपेक्षा गोदानले लिएको विज्ञप्ति भनिएको छ ।

सरकारले प्रा डा केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ । समितिले चार पटकसम्म वार्ता गर्दा पनि दुबै पक्षबीच सहमति हुन सकेको छैन ।

प्रतिक्रिया