बज्जिका भाषाको पहिलो गीत गरियो रेकर्ड

इनेप्लिज २०७३ मंसिर ११ गते १२:०६ मा प्रकाशित
*

*

नेपालीय बज्जिकाको प्रथम गीतको रेकर्ड गरिएको छ । रौतहटमा प्रभावशाली युवा गायकद्वय संजय महतो राज र नथुनी बसेराले संयुक्तरुपमा पहिलो बज्जिका गीत गाएर रेकर्ड गराएका हुन् । रौतहटको शिवनगरमा खोलिएको स्टुडियोमा गीत गरिएको हो । कवि, लेखक तथा गीतकार राजका साथै गायक बसेराको संयुक्त लेखन रहेको गीतमा दुवैजनाको संयुक्त स्वर पनि रहेको छ । नेपालमा बज्जिका भाषामा पहिलो गीतको रेकर्ड भएकोले बज्जिका क्षेत्रमा नयाँ युगको आरम्भ भएको बज्जिका साहित्यकार राम अधार पासवानको प्रतिक्रिया छ ।

सभ्य र शिक्षाप्रद गीतबाट नेपालीय बज्जिका गीतको औपचारिक सुरुआत हुनु सुखद पक्ष रहेको धेरैको भनाइ छ । बज्जिका भाषामा भारतमा शारदा सिन्हालगायत विभिन्न प्रसिद्ध गायकले समेत बज्जिकामा गीत गाएका छन् । नेपालमा पनि केही गायकको एलबममा बज्जिका गीत परेको भए पनि बज्जिका नाम दिन नसकेको अवस्थामा स्थानीय गायकद्वय राज र बसेरा नेपालीय बज्जिकाका प्रथम गायक बन्न सफल भएका छन् । चन्दु यादवको संगीत तथा धर्मेन्द्र कुमारको लगानीमा रेकर्ड गरिएको गरिएको गीतलाई माँ सरस्वती रेकर्डिङ स्टुडियो शिवनगरमा नै मिक्सिङको काम भइरहेको र केही दिनमै गीतलाई सार्वजनिक गरिने गायक राजले जानकारी गराएका छन् ।
नेपालको सातौँ ठूलो भाषाको रुपमा बारा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लामा बोलिने बज्जिका भाषामा रेकर्ड गरिएको गीतले नेपालीय बज्जिकाको सांगीतिक विकासमा नयाँ ढोका खोलेको प्रतिक्रिया दिइएको छ ।

 

प्रतिक्रिया