बौद्धनाथ चैत्य सर्वसाधारणका लागि खुला हुने

इनेप्लिज २०७३ मंसिर ६ गते ६:१५ मा प्रकाशित

bouddha-nath-saveकाठमाडौँ, ६ मङ्सिर । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको यही मङ्सिर ७ गते (भोलि) प्रधानमन्त्रीबाट उद्घाटन गरेपछि दर्शन खुला गरिने जानकारी दिनुभयो ।

सोही कार्यक्रममा चीनका धर्मगुरु इनसुनको पनि सहभागिता रहने समितिका अध्यक्ष लामाले बताउनुभयो । उक्त कार्यक्रमका लागि भारत, चीन, श्रीलङ्का, म्यान्मा, ब्राजिल, जर्मनी, जापान, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको छ ।

गत वर्षको वैशाखमा आएको भूकम्पका कारण चैत्यमा क्षति भएपछि सर्वसाधारणको दर्शनका लागि चैत्यभित्र प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । करिब रु २३ करोडको लागतमा जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको समितिले जनाएको छ ।

सो चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि आइतबार राति प्राणप्रतिष्ठा गरिएको छ । जीर्णोद्धारका क्रममा नजानेर अन्जानमा भएका त्रुटिबाट मुक्त हुनका लागि क्षमादान गर्दै प्राणप्रतिष्ठा गरिएको उक्त कार्यक्रममा महायानी सम्प्रदायअन्तर्गत निङ्मा, काग्यु, गेलुक र शाक्य सम्प्रदायका ठूला धर्मगुरुद्वारा विधि विधानपूर्वक विशेष पूजा गरिएको थियो । बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरुले शान्ति पाठसमेत गर्नुभएको थियो । प्राणप्रतिष्ठाको प्रक्रियापछि देवता चलायमान हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया