संगीतको कुनै भाषा र ठाउँ हुदैन ; गायक चन्द्र

इनेप्लिज २०७३ मंसिर १ गते ०:०९ मा प्रकाशित
ss
काबुल,कार्तिक ३० । हजार सपनाहरुलाई मनको कन्तुर भित्र कैद गरेर विदेशी भूमिमा रगत र पसिना बगाउदै हिड्ने लाखौं यात्रीहरु मध्येका एक गायक चन्द्र श्रेष्ठ अचानक अफगानिस्तानको राजधानी काबुलमा भेटिए । 
 
पत्रकार रोशनसँगको भेटमा उनले भने, ‘बाध्यताको अगाडि मायाले नथाम्दो रहेछ’ । सानै देखि गीत संगीतमा रुचि राखिरहने गायक चन्द्र श्रेष्ठ रेडियोमा गीत बज्दा त्यस भित्र के छ ? कसरी रेडियो भित्र छिरेर मान्छे गीत गाउछन् भन्ने कौतुहल लिइरहने श्रेष्ठले एकदिन  बुबाले ल्याउनु भएको रेडियो नैे फुटाउदा नमिठो कुटाई खाएका स्मरण गराए ।
 
पाँचथर फाक्क्तेपका तिलचन्द्र र मनमाया श्रेष्ठको कोखबाट जन्मिएका गायक श्रेष्ठका परिवारमा एक छोरा सौगात र जिवनसाथि राधा श्रेष्ठ छन् । श्रेष्ठले दुई दर्जन भन्दा धेरै गीतहरुमा स्वर दिइसकेका छन् । उनका ‘रमितै हेर्नु’, ‘फिदिम बसैमा’,‘मिलन चोकैमा’ जस्ता नेपाली लोक जुहारी तथा एकल गीतका एल्बमहरु गाँउघरमा चर्चित बनेका थिए ।
chandra1
 
रेडियो नेपालबाट प्रसारण हुने ‘अनुरोध गीतको कार्यक्रममा’ चिठ्ठी लेखेर मनपरेको गीत अनुरोध गर्दै आफ्नो सांगीतिक यात्रालाई सुरुवात गरेका थिए । वि.स.२०५१ सालमा प्रवेसीका परिक्षा उर्तिण गरेपछि उनि काठमाडौँ तिर लागेका थिए ।  उनले १३ बर्षको उमेरमै ‘डाँडा पाखा बन अभागीलाई जता संझियो एक्लै एक्लो मन’ बोलको गीतलाई रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएका थिए । 
 
त्यस पछि ‘चिठी पठाऊ जस्तो लाग्छ छैन ठेगाना’ र ‘सल्लेरी सुसाउने लाएको माया छुटेर गयो मन केले बुझाउने’ पूर्वेली लोक भाकामा आधारीत गीतलाई विभिन्न गायक गायिकाको आवाजमा रेडियो नेपालबाटै रेकर्ड गराएका थिए ।
 
‘फुलै र फुल्यो बन भरि, गलैचा बुन्छु रात भरि… 
न ज्याला दिञ्छ न फुर्सद, न खान पुग्छ पेट भरि..  
बन खायो आगोले, जिन्दगी खायो गलैचा धागोले ।। ’ 
 
एल्वम ‘गलैचा धागोले’ मा संग्रहित रहेको छ ।  काठमाण्डौंको महंगी सँगै आफना चुनौतीका बीच स्वरोजगार बन्ने विभिन्न बाटोहरु अपनाउँदै सन्ध्याकालीन भन्ने पत्रिका साइकलमा राखेर घर घरमा पुर्याउने काम देखि टेम्पोमा बसेर नेपाली चलचित्रहरुको प्रचार प्रसारमा हिडेको तितो अनुभव सुनाए । 
 
उनको पहिलो एल्वम ‘रमितै हेर्नु’ लाई धौलागिरी क्यासेट सेन्टरले लिए पनि बजारमा वितरण नगरी अन्तिममा  मास्टर क्यासेट समेत हरायो भनेर एउटा मौलाउदै गरेको प्रतिभालाई स्खिलीत गराउने प्रयत्न गरेको दुखेसो पोखे । अन्ततः पुसिङ सेलका लागि बेलायत, मलेसिया र हङ्गकङ्गतिर पठाएर क्यासेटको लगानी उठाउन सफल भए ।
 
उनले रेडियो नेपालले आयोजना गरेको विभिन्न कार्यक्रममा गीत गाउदै फुलबारी सम्मेलनमा लिम्बु भाषाको  गीत गाएर पुरस्कृत समेत भएका थिए । वि स २०५८ सालमा ‘गाऊ बेशिको माया’ नामक सांगीतिक अभियान लिएर बरिष्ठ गायक जितेन राई , टंक के सी,कूल्बा सुब्बा,प्रेम पन्दाक सहित ताप्लेजुँङ्ग ,पाँचथर इलामको सांगीतिक यात्रा गरेका थिए ।
उनले ‘फिदिम बसैमा, धन कमाई म फर्की आउने छु आउँदो दशैमा’ वोलको गीत भिम लामासँग ‘प्रबासी मनको घाउ’ एल्वम सार्वजनिक गरेका थिए । जुन एल्वमका गीतहरुलाई नेपाली स्रोताहरु माँझ चर्चित बनेका थिए । 
 
उनि जँहा गए पनि उस्तै परिवेशको गीत रचना गरीहाल्थे ‘कोइला खानीमा, मरिन्छ कि बचिन्छ जिन्दगानीमा’ र ‘मिलन चोकैमा’ एल्वम निकाले तर आफ्नो गीतहरुलाई भिडियो बनाउन नसकेकोले चर्चामा आउन नसकेको बताए ।
 
मुलुकको राजनीतिक विभाजन प्रति सन्देशमुलक गीत ‘टोल टोलमा बिकाश पुर्याउ है  गाँउ गाउँमा बिकाश पुर्याउ है  ।।’ गाएका छन् ।
यति मिठो गायन प्रतिभा भएर पनि किन अफगानिस्तान पलायन हुनुभएको भन्ने प्रश्नमा उनले भने – ‘आर्थिक अवस्थाले गर्दा मजदुर गर्न मात्र आएको हु ,पलायन भएको होइन बाध्यताको अगाडी माया र प्रतिभाले मात्र नथाम्ने रहेछ ।’
 
गायक श्रेष्ठ परदेशी भूमिमा रहेर पनि गीत संगीतलाई छाडेका छैनन् । उनि भन्छन संगीतको कुनै भाषा र ठाउँ हुदैन । अन्त्यमा स्वदेश फर्केपछि पत्रकार तथा रचनाकार रोशन मेवाहाङका गीतहरु गाउने  तयारी गरीरहेको बताए ।

प्रतिक्रिया