तरकारीबाट वार्षिक आठ लाख आम्दानी

इनेप्लिज २०७३ कार्तिक २३ गते १०:५१ मा प्रकाशित

tarkariफलेवास (पर्वत), २३ कात्तिक । रोजगारीका सिलसिलामा तीन वर्ष मलेसिया पुगे पनि सोचेजस्तो कमाइ नभएपछि विदेशबाट फर्केर वहाकीठाँटी–६ लिङ्सिङका ३६ वर्षीय ऋखिराम भुसाल तरकारी खेतीमा व्यस्त हुनुहुन्छ ।

विसं २०६० देखि तत्कालीन नेकपा माओवादीको राजनीतिमा सक्रिय बन्नुभएका उहाँले गाउँ कमिटीदेखि राज्य समिति सदस्यसम्मको पदमा रहेर काम गर्नुभयो । घरखर्च चलाउन समस्या भएपछि उहाँ तरकारी खेतीमा सक्रिय बन्नुभएको हो । उहाँले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ ।

सात रोपनी जग्गामा टनेलभित्र गोलभेँडा, काउली, बन्दागोभी, रायो, मुला, काँक्रो, लौका, खुर्सानी, करेला, आलुलगायत तरकारी सँगै च्याउखेती गर्दैआउनुभएको छ । “वार्षिक रु आठ लाख आम्दानी हुन्छ,” उहाँले भन्नुभयो– “अहिलेसम्म रु २० लाख लगानी गरिसके ।” व्यवसाय छाडेर राजनीतिमा नफर्कने उहाँ बताउनुुहुन्छ ।

मोदीको सेयर बाँडफाँड

मोदीखोलामा दुई वटा जलविद्युत् आयोजनाको प्रवद्र्धन गरेको निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले जिल्लावासीका लागि खुल्ला गरेको साधारण सेयर बाँडफाँड गरेको छ ।

आयोजनाले जिल्लाका बासिन्दालाई मात्रै लक्षित गरी ११ लाख ५० हजार कित्ता साधारण सेयर बाँडफाँड गरेको हो । रितपूर्वक आवेदन गरेका ११ हजार ४०४ आवेदकलाई सेयर बाँडफाँडमा सामेल गरिएको छ । रु पचास हजारसम्मको ५०० कित्ता आवेदन गर्ने साना लगानीकर्ता र त्यसभन्दा बढी लगानी गर्नेलाई ठूला लगानीकर्ता मानी सेयर बाँडफाँड गरिएको प्रबन्ध निर्देशक सुधीर तिमिल्सिनाले जानकारी दिनुभयो ।

साना लगानीकर्तालाई ४० प्रतिशत र ठूला लगानीकर्तालाई ६० प्रतिशतका दरमा बाँडफाँड गरिएको छ । कम्पनीले आयोजना प्रभावित जिल्लाका बासिन्दाका लागि गएको भदौ २६ गतेदेखि असोज ८ गतेसम्म सेयर आवेदन माग गरेकामा एक अर्ब ७३ करोड कित्ता सेयर आवेदन परेको थियो । रु ११ करोड ५० लाखको सेयर आवेदन भएकामा रु एक अर्ब ७३ करोडबरारको आवेदन सङ्कलन भएको थियो ।

निर्माणको तयारी भएको साढे १० मेगावाटको तल्लो मोदी ‘बी’ जलविद्युत् आयोजनासहित युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई सेयर खुला गरेको थियो ।

प्रतिक्रिया