आधुनिक शिक्षालाई वेद र उपनिषद्सँग जोड्न शिक्षाविद्को माग

इनेप्लिज २०७३ कार्तिक ६ गते १६:०८ मा प्रकाशित

काठमाडौँ, ६ कात्तिक । अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन आज सम्पन्न भएको छ । महासम्मेलनको अन्तिम दिन आज सनातन वैदिक धर्म सम्मेलन, आर्य सम्मेलन र शिक्षा सम्मेलन सम्पन्न भएको आयोजक नेपाल आर्य समाजका सचिव कृष्णदेव खतिवडाले राससलाई जानकारी दिनुभयो ।

सम्मेलनका वक्ताले आधुनिक शिक्षा प्रमाणपत्रमुखीभन्दा पनि योग्यतामुखी हुनुपर्नेमा जोड दिनुभयो । शिक्षाविद् डा विद्यानाथ कोइरालाले आधुनिक शिक्षालाई ज्ञानको मुहान वेद उपनिषद्सँग जोडिनुपर्ने बताउनुभयो । अध्यात्मसँग आधुनिक शिक्षा विमुख हुँदा विद्यार्थीले पूर्ण ज्ञान पाउन नसकेको अधिकांश वक्ताको भनाइ थियो ।

महासम्मेलनमा नेपालबाट पाँच हजार, भारतबाट तीन हजार एवम् अन्य देशबाट ५०० सहभागी थिए । महासम्मेलनका तीनै दिन बिहान ५ः०० देखि ६ः०० बजेसम्म योग शिविर र त्यसपछि महिलाले वैदिक यज्ञसमेत सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ ।

महासम्मेलनका क्रममा आठ छुट्टै सम्मेलनसमेत सम्पन्न भएको संयोजक सहप्राध्यापक डा माधवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

“नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाको संयोजनमा विश्व संस्कृत, गायत्री परिवारका डा राजु अधिकारीको संयोजनमा विश्व युवा, विश्व वेद विज्ञान, विश्व महिला, विश्व शिक्षा, विश्व सनातन धर्म र विश्व आर्य संस्कृति सम्मेलनसमेत सम्पन्न भयो” – उहाँले भन्नुभयो ।

महासम्मेलनको कात्तिक ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया