बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १५:४१
वासिङटन डिसी 04:56

असुरक्षाका कारण चारवर्षदेखि साङ्लोमा

इनेप्लिज २०७३ कार्तिक ४ गते ८:५० मा प्रकाशित

sपथरी (मोरङ), ४ कात्तिक । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला—१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । उहाँका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले साङ्लोमा बाँधेर राखिएको हो ।

उहाँका बाबु दलबहादुरले भन्नुभयो, “हराउने डरले साङ्लोमा बाँधेर राखेका हाँै । दलबहादुरलाई बूढेसकालमा छोरो साहारा बन्ला भन्ने आशा थियो । तर छोरोलाई नै साङ्लोमा बाँधेर हेरचाह गर्नुपर्ने भएको दुखेसो उहाँ सुनाउनुहुन्छ । उहाँका अनुसार आर्थिक अवस्थाले भ्याएसम्म उपचार गरेको तर आर्थिक अभावले उपचारका लागि ठूलो अस्पताल नलगिएको हो । उनीहरुको सम्पत्तिको नाममा एउटा पुरानो घर र एक धुर जग्गा छ । दलबहादुर भन्नुहुन्छ, “बेचौँ कहाँ बस्ने ?”

छोराको उपचारमा ठूला अस्पतालले सहयोग गरिदिने हो भने छोराको होस फर्किने आशा उहाँमा जीवितै छ । तर ७८ वर्षे यी बाबुलाई हस्पिटलसम्म लाने र कहाँ कसरी बोल्ने हेक्का छैन । त्यसैले, उहाँ छोरो रोइकराइ गरेर पागलपनमा चिच्याएको, कराएको, हाँसेको पुर्पुरोमा हात राखेर हेर्न बाध्य हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरी श्रीमती पनि हालसालै खसिन्, काजकिरिया केही दिनअघि मात्र सकिएको हो ।”

श्रीमती हुँदा केही सजिलो थियो अहिले धेरै समस्या भयो । के गर्ने, कसो गर्ने ? आफ्नो देहान्त भैहाले छोरोलाई कस्ले हेर्ने ? दलबहादुरलाई निक्कै पीर छ ।

दलबहादुर कार्की स्वयम् बिरामी हुनुहुन्छ । उहाँका शरीरमा बुढ्यौलीले छोप्दै जाँदा पहिलेजस्तो बल छै्रन । आफैँ अरूको सहारामा रुमलिने अवस्थामा हुनुहुन्छ । तर उहाँ भन्नुहुन्छ, “सकी नसकी छोराको स्याहार गर्दैछु ।” आफ्नो छोरोको उपचार भए छोरोले आफैँ गरिखाने आशाको त्यान्द्रो बाबुले मनमा सँगाल्नुभएको छ ।

कस्ले सहयोग गरिदिने ? महत्वपूर्ण प्रश्न बनेको छ जुन कुराले उहाँलाई मुटुमाथि ढुङ्गा राखी जिउन बाध्य बनाएको छ ।

प्रतिक्रिया