ए बुढी !

इनेप्लिज २०७३ कार्तिक २ गते १७:२९ मा प्रकाशित

image1

हिजोका रोडपति करोडपति बने
हिजोका गरिब आज हरिप बने
अब त हामी पनि अगाडि बढौँ
ए बुढी! हामी पनि दलाली गरौँ

हिजो झोला बोकी सहर पस्या झिल्के
आज महल ठड्याउने भयो रे
घर खेत र घडेरीको दलाली गरेर
आज त धनाढ्य बन्यो रे
तिम्रो अनि मेरो दुबैको पेट भरौँ
ए बुढी! अब त हामी पनि दलाली गरौँ

सोझा साझा युवालाई
बिदेश पठाई पठाई
पल्लो घरको साइलो हिड्छ
कारमा रमाई रमाई
तिमी र म अब त दुबै जना मिलौँ
ए बुढी! हामी पनि दलाली गरौँ

राम्रो काम छ भनेर झुटो बोली बोली
मेरा घरतिरका अनि तिम्रा पनि माइति
सबैलाई बिदेशतिर पठाऊँ
हरिया नोटहरू खनखनी गनौँ
अब त हाम्रो पनि दुख सबै हरौँ
ए बुढी! हामी पनि दलाली गरौँ

हिजोका माग्ने आज मान्य भए
हिजोका खाते आज जान्ने भए
सोझो काम र असल विचारले
हामी भने जहाँको तही नै भयौं
अब त हामी पनि बाङ्गा मान्छे बनौं
ए बुढी! हामी पनि दलाली गरौँ

न त बिदेश  नै जान सकियो
न त यहीँ नै प्रगति भयो
तिमी आफ्ना चिनेकालाई फसाऊ
म पनि सोझा आफन्तलाई खोज्छु
अब त हामी पनि चिल्लो तेल घसौँ
ए बुढी ! हामी पनि दलाली गरौं

सस्ता सस्ता खेत घडेरी  किनौँ
नसके कमिसनको काम नि गरौं
पहाडबाट झर्नेलाई राम्रो छ भनौं
२/३ सालमै धनी हामी बनौं
अब त हामी पनि केही नयाँ सोचौं
ए बुढी ! हामी पनि दलाली गरौँ

जमाना नै दलालको रैछ भन्ने बुझौं
के गर्छौ भनी सोधे आफ्नै बिजनेस भनौं
जसरी भए पनि टन्न पैसा गनौँ
बरू परे आफ्नै मान्छेलाई ठगौँ
अब त हामी पनि अग्रपथमा चढौँ
ए बुढी ! हामी पनि दलाली गरौँ ।

हाल -कपिलवस्तु, नेपाल

प्रतिक्रिया