बालुवाटारमा अस्थायी शिक्षकको धर्ना

इनेप्लिज २०७३ कार्तिक २ गते ७:५८ मा प्रकाशित

teacher-andolanकाठमाडौँ, २ कात्तिक । आठौँ संशोधित शिक्षा ऐनले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै अस्थायी शिक्षकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

अस्थायी शिक्षक सङ्घर्ष समितिले सरकारसँग यसअघि पनि आफ्ना माग राखिएको तर आश्वासन दिने काम मात्र भएको भन्दै आज दुई घन्टा बालुवाटारमा धर्ना दियो ।

समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्ने, ६० वर्ष पुगी अवकाशप्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायीका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्ने लगायत माग राखेको छ ।

समितिका अध्यक्ष नीरेन्द्र कुँवरले भन्नुभयो – “यसअघि दुई पटक हामीले सरकारलाई आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र दिएका थियौँ तर सरकारले आश्वासन मात्र दिने काम ग¥यो अब आश्वासनले हुँदैन ऐन नै संशोधन गर्नुपर्छ ।”

आठौँ संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (अवकाश) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ । यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरुले खाली हात बिदा हुनुपर्ने प्रावधान छ । लिखित परीक्षाअघि नै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया