२० बर्षको लामो.. “पर्खाइ” : गायक दिनेश भण्डारी

इनेप्लिज २०७३ असोज २८ गते १८:२१ मा प्रकाशित

picsart_10-14-12-12-38

बाल्टिमोर मेरिल्याण्डका स्थानीय चर्चित गायक “दिनेश भण्डारी” करिब २० बर्ष भन्दा बढी निरन्तर गीत-गजल गायनमा सक्रिय रहेका एक पुराना गायक हुन् । नेपालमा भर्खर भर्खर गीत-गजल रेस्टुरेन्टहरुको शुरूवात भएको समयमा विभिन्न चर्चित गीत गजल रेस्टुरेन्टहरुमा हिन्दी तथा नेपाली चर्चित गीतहरु गाएर आफ्नो गायन यात्राको शुरुआत गरेका थिए।

हाल प्राय: उनी बाल्टिमोर मेरिल्याण्ड, डि. सी. भर्जिनिया, न्युयोर्क लगायत विभिन्न ठाउँहरुमा हुने अधिकांश नेपाली कार्यक्रमहरुमा दर्शक माझ ‘महेफिल’ जमाउने गर्छन। भारतीय पाकिस्तानी संगीतप्रेमीहरुलाई समेत आफ्नो मिठासपूर्ण आवाजको सुगन्धले बाँधेका यिनले एल्बममा भने यो नै पहिलो पटक आवाज भरेका हुन। ७ वटा गीतहरुको संकलनमा उनले हालै “पर्खाइ” नामको एकल एल्बम बजारम सार्वजनिक गर्नुभएका छन। सोही एल्बमको सार्वजनिक युट्युव भिडियो अहिले नेपाली सांगीतिक बजारमा चर्चामा पनि रहेको छ।

“पर्खाइ” गीति एल्बममा जम्मा ७ वटा विभिन्न भावका कर्णप्रिय गीतहरु रहेका छन् । गीतकार ललिजन रावल, डा. नवराज लम्साल, भावेश भुमरी, एटर्नी बिनोद रोक्का, तथा अर्जुन घिमिरेले यस एल्बममा गीत लेखेका छन् भने एल्बमका ४ वटा गीत संगीतकार टीका भण्डारी र ३ वटा गीत चर्चित गायक तथा संगीतकार अमर तन्डुकारले संगीत भरेका छन्।

हालै केही समय अघि मात्र उनी नेपाल गएका बेला सो एल्बमको एक भब्य कार्यक्रमका बिच नेपाली सिने तथा संगीत जगतका चर्चित व्यक्तित्वहरुको बाक्लो उपस्थितिमा बिमोचन गर्नु भएको थियो।  उक्त कार्यक्रममा नायक रमेश उप्रेती, नायक अर्जुन श्रेष्ठ, निर्माता एबं कलाकार बिनोद मानन्धर, संगीतकार गायक टीका भण्डारी, विश्व रेकर्डधारी चर्चित रेडियो प्रस्तोता रबि लामिछाने, गायक अमर तन्डुकार, ब्यावसायी एबं गायक निर्मल पौडेल, चर्चित पत्रकार कृष्ण भट्टराई लगायतका व्यक्तित्वहरुले एल्बम “पर्खाइ” को सामुहिक बिमोचन गरेका थिए।

गायक दिनेश भण्डारी भन्छ्न : ” २० बर्ष लामो यो मेरो सांगीतिक यात्रामा मलाई माया गर्नुहुने मेरा परिवार, आफन्तजन तथा सम्पुर्ण संगीतप्रेमी शुभचिन्तक साथीभाइहरुलाई विशेष धन्यवाद दिँदै.. “पर्खाई” समाप्त भएको छ र यो राम्रो गीति एल्बम बनेको छ। एकपटक सुनेर आफ्नो साथ दिनुहुन र प्रतिक्रियाहरु ब्यक्त गरिदिनुहुने छ भन्ने बिश्वास लिएको छु।

हामी सम्पुर्ण मेरिल्याण्डवासी संगीतप्रेमीहरुका तर्फबाट उहाँको २० बर्षे लामो साधनाको “पर्खाइ” एल्बमको सफलताको कामना ब्यक्त गर्दै उहाँको सांगीतिक यात्राको निरन्तरता अनि सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं।

साभार: श्रीजन ताम्राकार, बाल्टिमोर मेरिल्याण्ड

© मेरिल्याण्डका हामी नेपाली, 2016

प्रतिक्रिया