अञ्चल अस्पतालमा दरबन्दी छ, विशेषज्ञ छैनन्

इनेप्लिज २०७३ भदौ २७ गते ६:१० मा प्रकाशित

hospitalकाँकडभिट्टा (झापा), २७ भदौ । सरकारले दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा मेची अञ्चल अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ ।

अञ्चल अस्पतालमा १९ जना विशेषज्ञको दरबन्दी भएपनि छजना मात्र विशेषज्ञ कार्यरत हुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको हो ।

यतिबेला बालरोग विशेषज्ञको तीनजनाको दरबन्दीमा एकजना छन् । स्त्रीरोगतर्फ तीनजना हुनुपर्नेमा एकजना, फिजिसियनमा पनि तीनजनाको दरबन्दीमा दुईजना विशेषज्ञ डाक्टर छन् ।

अस्पतालमा भर्खरै बेहोस पारेर गरिने शल्यक्रिया सेवा सुरु गरेको छ तर त्यहाँ पनि दुई दरबन्दीमध्ये एकजना मात्र डाक्टर हुँदा समस्या भएको अस्पतालका सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले बताउनुभयो ।

डा पीताम्बरका अनुसार अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर कम भए पनि उपचार सेवा भरपर्दाे नै रहेको छ । “हामी सेवामा प्रतिबद्ध छाँ”, उहाँले भन्नुभयो – “अहिले हामीसँग दक्ष जनशक्तिको अभाव छ यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने काम भइरहेको छ ।”

उहाँले दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

अधिकांश गम्भीर प्रकृतिका रोगको उपचार अहिले मेची अस्पतालमै सफल भइरहेको छ । एक वर्षको अवधिमा सो अस्पतालबाट ६५ हजारभन्दा बढी बिरामीले उपचार सेवा लिएका छन् ।

आव २०७२-७३ मा ओपिडीमा ४७ हजार ५६३, इमर्जेन्सीमा ११ हजार ८४३ र अन्तरङ्ग विभागबाट पाँच हजार ८५४ जनाको सफल उपचार भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया