शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनाले रौतहट शोकमा डुबेको छ । करिब दुई दर्जनको मृत्यु भएको, एक दर्जनभन्दा बढी घाइते भएको र डेढ दर्जनकै संख्यामा हराइरहेको हुनाले रौतहट शोकमा डुबेको हो । मृत्यु हुने, घाइते हुने तथा हराइरहेकाहरुमध्ये अधिकांश रौतहटकै छन् । शिक्षक सेवा आयोगले शनिवार बिहान लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको परीक्षा दिन पोखरा गइरहेका परीक्षार्थीहरु चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी यातायातको बस नारायणघाट–मुग्लिंग सडक खन्डमा त्रिशुली नदीमा शुक्रबार बिहान साढे तीनबजेतिर खसेपछि चालकसहित २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर रौतहटको गरुडा नगरपालिका शिवनगरका प्रमोद राम, लौकाहाका राकेश यादव, कटहरिया ९ बलिरामपुरका व्रज किशोर कुशवाहा, वसन्तपुर १ का गणेश कुमार साह, मुडबलवा ३ का चित्तरञ्जन कुमार यादव, मुडबलवा ६ का राजेश कुमार यादव, इनर्वा ७ का जोगिन्दर गिरी, राजपुरका कामेश्वर प्रसाद साह, गरुडा नगरपालिका जयनगरका शेख सहजित आलम, लौकाहा २ का सचिन्द्र प्रसाद यादव, गौर १३ का सन्ध्या श्रीवास्तव तथा खानेपानी संस्थानको कार्यालय सहायक जोकु साह रहेका छन् ।
यसै गरी बसको ड्राइभर कास्की जिलाको लेखनाथ नगरपालिकाका लोक बहादुर पौडल तथा पोखरा उपमहानगरपालिका झल्लीडाँडाका चित्र बहादुर बोहराको पनि मृत्यु भएको छ । यस्तै भारत बिहारको मोतीहारीका शंकर ठाकुर, राम सागर भगत, फेकन ठाकुरको पनि सनाखत भएको छ । अन्य केही मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा चन्द्रपुरकी निली साह, प्रिन्स साह, भारतको सितामढीका सुगान्धी गुप्ता, स्वयता गुप्ता, आकाश गुप्ता, धादिङका राजन पान्डे, पोखराकी दिपिका थापा, सितामढीका राजेश गुप्ता, रितेश गुप्ता, रौतहट बगही ७ का शेख सराज, भारत शिवहरका फेकु राय, रौतहट बडहर्वा २ का प्रमोद दास, चन्द्रपुर ५ का संजय साह, सर्लाही वसन्तपुर १ का अविनाश कुमार चौधरी, चन्द्रपुर ३ का गाडी सहयोगी श्याम न्यौपाने, गौरका सुशान श्रीवास्तव लगायतका यात्रुहरु घाइते छन् । अन्य घाइते समेतको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैगरी एकै साथ मुडबलवाबाट पाँचजनाले बस चढेकोमा दुई जनाको सनाखत भएको छ भने बाँकी तीनजना रविरञ्जन यादव, राम बालक साह र मुकेश रामको अवस्था अज्ञात रहेको मुडबलवा उच्च माध्यमिक विद्यालयको शिक्षक दिनेश राय यादवको भनाइ छ । यस्तै शंकर गुदर उच्च माध्यमिक विद्यालय समनपुरमा करिब एक महिनादेखि अंग्रेजी विषयको शिक्षण गरिरहेका शिक्षक राजीव कुमार सिंह पनि सोही बसमा चढेको गरुडा काउन्टरबाट पुष्टि भए पनि अवस्था अज्ञात रहेको छ । यसैगरी झुनखुनवामा बस परीक्षाथी दीपेन्द्र कुमार साहको अवस्था अज्ञात रहेको आफन्तले बताएका छन् । गरुडा नगरपालिका अन्तर्गतको लक्ष्मीपुर गाउँका युवक तथा झाँझपुल माविमा अध्यापनरत शिक्षक सञ्जय कुमार यादवको अवस्था पनि अज्ञात रहेको छ । पन्ध्रदेखि बीस जनाको अवस्था अज्ञात रहेको घटनास्थल पुगेका शंकर गुदर उच्च माविका प्राचार्य देवेन्द्र साहले बताएका छन् । दुर्घटनामा अधिकांश उच्च शिक्षितहरु परेकाले पनि रौतहट शोकमग्न बनेको शिक्षित समुदायको भनाइ छ ।
प्रतिक्रिया