विराटनगर, २९ साउन । कर्मचारी सञ्चय कोष विराटनगरले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा रु दुई अर्ब ६५ करोडको हाराहारीमा रकम लगानी गर्नुका साथै सापटीबापत रु ६० करोड ३२ लाख असुली गरेको छ ।
सो अवधिमा १९ हजार ९२९ जना सञ्चयकर्तालाई रु दुई अर्ब विशेष सापटी, २०५ जना सञ्चयकर्तालाई रु २९ करोड घर सापटी, ३० जना सञ्चयकर्तालाई रु तीन करोड ७४ लाख शैक्षिक सापटीमा लगानी गर्नुका साथै चार हजार ४६ जना अवकास प्राप्त सञ्चयकर्तालाई रु ३० करोड सञ्चयकोष भुक्तानी गरेको छ ।
त्यसैगरी, ८१ जना मृतक सञ्चयकर्ताको हकवालाले काजकिरिया अनुदानको रकमबापत रु २२ लाख ३३ हजार, १२ जनाले दुर्घटना क्षतिपूर्तिबापत रु १३ लाख र २५ जना मृतक सञ्चयकर्ताको हकवालाले कल्याणकारी रकमबापत रु २५ लाख ६० हजार प्राप्त गरेको कर्मचारी सञ्चयकोष विराटनगरले जनाएको छ ।
यसका साथै, २०७२ साल असोज १ गतेदेखि लागू गरिएको प्रसूति तथा शिशु स्याहारबापत एक हजार चारसय ५९ जनाबीच रु एक करोड नौं लाख ४२ हजार ५००, औषधोपचार सुविधा अन्तर्गत सातजना सञ्चयकर्तालाई रु एक लाख ४४ हजार आठसय १४ प्रदान गरिएको छ ।
यस कार्यालयले सापटी असुलीलाई पनि प्रभावकारी बनाइएको कार्यालय प्रमुख शङ्त गौंतमले बताउनुभयो । उहाँकाअनुसार गत आर्थिक वर्षमा विशेष सापटीबापत रु २९ करोड र घरसापटीको सावा ब्याजबापत रु ३८ करोड असुल गरिएको छ भने सञ्चयकर्ताको घर सापटीको सस्पेन्स ब्याज रु चार करोड ३६ लाखमध्येबाट रु तीन करोड ३२ लाख अर्थात ७६ प्रतिशत असुल गरिएको हो ।
सञ्चयकर्तालाई अनलाइन सेवामार्फत सम्पूर्ण सेवा सोझै प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै कार्यालय प्रमुख गौतमले मोरङ, सुनसरी र झापा जिल्लाका सहरी क्षेत्रमा घर निर्माण वा खरिद गर्न सञ्चयकर्तालाई घर सापटी र परिवारका सदस्यको उच्च शिक्षाका लागि शैक्षिक सापटी लागू गरिएको जानकारी दिनु भयो ।
पूर्वाञ्चलको ११ जिल्लाका ७० हजार सञ्चयकर्तालाई विराटनगर कार्यालयबाट विगत २५ वर्षदेखि प्रत्यक्ष सेवा प्रदान गर्दै आइरहेका यस कार्यालयका लागि आफ्नो भवन नरहेकाले अब कोषले आफ्नै भवन निर्माणका लागि बोलपत्रसमेत आह्वान गरिसकिएको छ ।
प्रतिक्रिया