ए विहानी
एकाविहानै तिमी नआउ यसरी
यति मिठो मुस्कान बोकेर
मलाइ त यी जुनताराहरु लुक्ने
निस्पट्ट अँध्यारो नै मनपर्छ
जहाँ म दिनभरिको थकान बिसाउन सक्छु
चुपचाप सँग कसैले नसुन्नेगरी भिज्न सक्छु
एक्लै-एक्लै एकान्तमा भक्कानिएर बग्न सक्छु
भनिदिउँ तिमीलाई
जो आफैं पिंजडामा छ
उ तिम्रो आजात खुशीमा
कसरी सामेल हुन सक्छ र ?
प्रिय
जब तिम्रो न्यानो मुस्कानहरु
यो बिरानो बरण्डाको रेलिङ्ग हुँदै म सम्म आइपुग्छन्
जागिरका अजङ्ग मैदानबाट लंकारीरहेको हुन्छ
मानसिक सन्तुलन नगुमाएको एउटा पहाड
र म भारि मन घिसार्दै तयार हुन्छु रगट्न
उहीं हृदय नभएको ढुँगाका छातीहरु
दुवै हत्केलामा लामालामा पञ्जा भिरेर
यसैले त
ए विहानी
मन पर्दैन एकाविहानै
तिम्रो आगमन अचेल
अनि मन पर्दैन बाध्यताको यो पञ्जा भिर्न
जहाँ मुटु नै छेद्-ने दुषित बिवस्ताहरु
नाकैमुनि भएर गुज्रन्छन् , खिसी गर्दै . . . उँस्स्स् ,,,
साच्चै
हिजो आज, दिनहरु
दिन जस्तो उज्याला लाग्दैनन्
परिस्थितिले पराय बनाएदेखी
आँशु चुहाउन नसकेका बादल जस्ता
धुमधुमति उभिएको बुढो रुख जस्तो
ए विहानी
तिम्रो योवनको एकमुठी बैजनी रङ्ग
जस्केलोमा आधा मात्र छिरेर भाग्दा
म एक त्यान्द्रो लंगडो आशामाथि
विश्वासको बैशांखी लगाएर
मुस्काउँछु एक ओठ सापटी
हो
तिम्रो छिप्पिँदो रङ्ग त झनै मन पर्दैन
जहाँ तिमी मेरै छायाँ मुनि मलाइ निचोर्छौ
र म निथ्रुक्क हुँदै नारिन्छु दुईवटा टायर पछाडी
लालीगुँरासको आँगनमा फक्रेका मेरा सपनाहरु
भतभती पोल्ने यस मरुभूमिको बिधम्स भूमरीले
बनाउनसम्म बेरूप बनाउँछ उहीं दुईवटा टायर मुनि
ए विहानी
त्यस बखत लाग्छ छक्का मारेर तिमीलाई
उछिट्याँइदिउँ मेरै सगरमाथाको टुप्पोमा
जहाँ तिमी बोकी आउँथ्यौ मेरै माटोको सुवास
र म मनभरी विश्वासको दियो बालेर
अर्पण गर्थें एक कलश आस्था
अनि टाँसीदिन्थें सेतो तिलक एक प्रत्याभूतिको
हरेक विहान मेरा पति र पुत्र नउठ्दै
भो
यसरी बारम्बार नसम्झाउ मलाइ
यो मरुभूमिमा पीडा ढाक्न हाँस्नुको अर्थ
र
नसम्झाउ सूर्योदयको आँगन
सूर्यास्तको क्षितिज
लालीगुँरासको मुस्कान
डाँफेको मारुनी नाँच
अनि
मेरी आमा बिसाउने चौतारी
मेरो बाबा हिड्ने गोरेटो
अहँ, यी सब केहि नसम्झाउ
जसले चर्काउँछन् यो चट्टान जस्तो छाती
र , रुवाउँछन् हृदय भिज्नेगरि
मेरै माटोको सुवासले
यो मरुभूमिमा तप्किएका पसिनाले
कस्सम , रुवाउँछन् …
प्रतिक्रिया