हो म अनागरिक हुँ

इनेप्लिज २०७३ साउन ४ गते १५:१० मा प्रकाशित

 

PRAKASH SHRESTHA

म देश हराएर प्रदेशमा आएको मान्छे
थाहाँ छैन कहिले देश भेटिन्छ
अनि प्रदेशबाट देश फर्किन्छ या फर्किदैन
अपशोच देश त अहिले नक्शा मात्र बनेछ
खै कता छ देश, खै कता छ राष्ट्रप्रेम
खोला बेचिए, सिमा लुटाईए
रगत बेचिए, मान्छे बेचिए
अस्मिता नै लुटिए पछि
मान्छेलाई के कसरी मान्छे भन्ने
त्यस्तै सबथोक लुटिएको अस्थिपंजरले
कतिन्जेल पो थाम्ला र मांसपेशीलाई
मेरुदण्डको करामतमा अडेको मांसपेशी
मेरुदण्ड कमजोर हुँदा
कसरी शरिर, शरिर बनेर अडिएला कतिन्जेल
हो स्पाईनलको फ्युजन सर्जरी गरेको शरिर
तन्दुरुस्त कसरी होला भित्रै देखि
त्यस्तै देशलाई पटक पटक छिमेकीले सर्जरी गर्दै
घाउँमा सयौ टाँका लगाएर
मेरुदण्डमै ईन्जेक्सनका सयौ डोव बनाईरहँदा
कसरी कतिन्जेल टिकिरहला
अटल, अजर र अमर बनेर

खै केलाई भन्ने देश आजकल
छिमेकीकोमा बन्धक राखिएको माटोलाई
नामसरि र राजिनामा गर्न ठिक्क पारिएको
गैरि खेतको लालपुर्जा हराएको बर्षौ भईसक्दा
खै कसरी सार्भभौम देश बनेर गर्भ गरौ
भाडामा बसेको बटुवाको त्यतिन्जेल हैसियत होला
जतिन्जेल घरबेटीबा को चित्त बुझ्ला
हो म जन्मेको देशका नागरिक यस्तै भएका छन्
घरबेटीबाको निगाह र आशिर्वादमा बाँचेका छन्
लालपुर्जा र स्वामित्व सबै उसकै हातमा छ
मेरा अबोध बालकले एपार्टमेन्टको कोठालाई
हाम्रो घर भनेर माया गर्छ
त्यसरीनै हामी देशलाई मेरो घर भन्दै छौ
गहिरिएर हेर त तिम्रो घरमा तिम्रो अधिकार के छ
पल्टाएर हेर त ईतिहास
तिम्रो घरको जग र पर्खाल कति कमजोर भए
खै लालपुर्जाको ओर्जिनल कपि तिमी सँग छ
हो दिवालिय हुन लागेको कम्पनी जस्तो
किस्ता तिर्न नसकेको लिजको घर जस्तो
हो यस्तै हालतमा छ मेरो देश

खै कसरी देश सार्भभौमसत्ता सम्पन भनेर भनौ
संझौतामा बाँचेको, कृत्रिम प्राण भरिएको
अशक्त बुढो मान्छे जस्तो देश
सन्तानले छाडेर प्रदेशमा डेरा जमाई सक्दा
नक्कली व्यापारी, उद्यमी बनेर भाग्दै गर्दा
अव कसरी भनौ देशभक्त मान्छे भनेर
विदेशका गल्ली गल्ली गएर भन्दै छन्
देशप्रेम भएका भनिएका महोदयहरु
जता जता बस्न मन लागे बसे हुन्छ
हामी पनि भविश्यको डेरा खोज्न आएका हौ
थपडी परर पार्दै खादाको बर्षादहरु बर्षाउँदै
मोटा मोटा अक्षरमा न्युज आउँछ
देशभक्त फलानोलाई सम्मान गरियो यसरी
खै बुझ्न गारो भयो
देशभक्तहरु देश छोड्न संदेश दिन आएका की
देश जोगाउन देश फर्क भन्न आएका

नढाँटी भन्दा देशमा बस्नेहरुको भिड साँघुरो हुँदैछ
प्रदेशलाई देश सम्झनेको भिड बढ्दैछ
साँच्चै भन त तिम्रो मन देशमै छ
मन त विदेशको महल र काल्पनिक शुख भोगमा छ
अनि कसरी तिमी देशका बासिन्दा हौ
देश त अस्थायी डेरा बन्दैछ
नफक्रदै फुलको कोपिला
आतुर छ विदेशको आगनमा सजाईन
विडम्वना सजावटी फुलको अस्तित्व बनेर
विदेशी गल्ली, चोकमा यान्त्रिक मानव बन्दै छ
मेरा देशका देशभक्त नागरिकहरु
अव कसरी भन्छौ तिमी देश फर्क भनेर

देशमा बस्नेहरुनै देशमा नबस्ने सुचिमा दर्ज हुँदैछन्
देश छोड्ने लिस्टमा धेरै दर्ज भएर बसिरहेको बेला
देश छोड्ने भिसा कुरेर बसेकाहरुले
कसरी देश फर्क भन्छौ
कसरी देशभक्तीको पाठ घोकाउँछौ
नढाँटी भन त साथी
जन्मदै गरेको अवोध शिशुको मन बाहेक
कतिजना देश बस्न चाहन्छन् दिलनै देखि
तिम्रो अनुसन्धानमा टेक्निकल ईरर नहुने हो भने
१० प्रतिशत भन्दा बढि देशमै रहन चाहदैनन्
९० प्रतिशतका लागी देश त डेरा हो
साँच्चै देश धेरैको लागी अस्थायी डेरा हो

यसैले म त भन्छु
म देश हराउँदै गरेको देशको अनागरिक हुँ
मलाई नागरिक हुन दिएनन् शासक र सत्तावालले
हो म धपाईएको अनागरिक हुँ र
यस्तै अनागरिक बन्दै छन् धेरै युवाहरु क्रमिकरुपमा
खै कसरी रोक्छौ
यो अनागरिक बन्ने होडबाजीको खेल
खै कोही आउँला वा जन्नमेला जस्तो छैन
देशलाई देशकै आकार र प्राण भर्ने राष्ट्रभक्त
कामना गर्छु अव धेरै अनागरिक दैनिक नबनुन भनेर
कामना गर्छु जन्मिदा नागरिक बनेको
बनोस् सधै नागरिक, नबनोस् अनागरिक
नबनोस् अस्तित्व मेटिएको केवल यान्त्रिक मानव
(अमेरिका )

प्रतिक्रिया