ए देश !
मसँग तिम्रो नागरिकता छैन,
र पनि, तिम्रा चिन्ताहरु,
मेरा मगजका भार बनिरहेका छन् ,
‘राजनीति’ को अर्थ थाहा छैन मलाई ..
तर राष्ट्रवादले सधैँ घच्घचाइरहन्छ ।
अनसनकर्ताका ती चिन्ता र भोकाएकाहरुको भोकमा,
म राष्ट्रको अस्थिपञ्जर सलबलाईरहेको देख्छु ।
पीडितजनहरुका यी शोकहरुमा,
म शहीदका आत्माहरु चलबलाईरहेको भेट्छु ।
मलाई थाहा छ,
पक्ष र प्रतिपक्ष दुवै मेरा मेरुदण्डहरु हुन् ।
तर डा.के. सी. का यी त्यागहरु म भुल्दिन,
हो,
म एकको समर्थनमा अर्काको विरोध गर्दै गर्दिन !
किनकी, यी सबै मेरै रगत हुन् ।
जब नाकाहरु बन्द हुनेछन् ..
तब मैले यिनीहरुसँगै छाताको आेत माग्नुपर्नेछ,
सँगै बसेर चुलो फुक्नुपर्नेछ,
र,हात समाएर हिँड्नु पर्नेछ ।
हो,
मलाई दुख्नेछ हृदयमा फेरि ..
दुवैसँग म ब्रुसेट माग्नेछु ,
तर म मात्र होईन,
तर न्याँय बाँचिरहेको देख्न चाहन्छु म,
मसँग नागरिकता छैन अहिले,
म अपील गर्दैछु..
नेपालसँग कानुनी सम्बन्ध भएका,
हे सम्पुर्ण नागरिकहरु !
युद्द हारेजस्तो सिपाही र,
बाटो बिराएजस्तो यात्री बनाईएर ..
त्यो कहालीलाग्दो खहरे भीरमा,
धारिलो चट्टानमाथि पाउ टेकाइरहेको..
मेरो नेपाललाई मेरै घरमा फिर्ता ल्याईदेऊ ..
ए देश,
डा. के. सी. को ज्यान बचाईदेऊ…
– पोखरा
प्रतिक्रिया