‘ एउटा विषादी सम्झना ‘

इनेप्लिज २०७३ असार २८ गते २२:३५ मा प्रकाशित

sunita raiसमयको बुँइ चढी
कैयौं वसन्त र शिशिर ऋतुहरु
मुस्काए, रंगिए र खुइलिए

नखुइलिएको त वस् एउटा विषादी सम्झना छ
जो कहिलेकाही सुनामी बनि आउँछ
र, भुमरी बनि समेट्छ सबै-सबै आफैंमा

तिमीले म सम्म आइपुग्ने
गल्लि र गोरेटोहरु भुलेदेखि
बिर्सिएका छन् यी आँशुले
अकस्मात खस्न
र सम्झिएर तिम्रो ठेगाना सोध्न

अब
तिमी फर्किन्नौं भन्ने जानेर नै
अनेक शृंगार गरूँ लाग्छ
तिम्रै नाममा
र पर्खौं लाग्छ घन्टौं ,
पाती चढाएर कसम खाएको
मा…थी देउरालीमा

एक झोक्का उट्पट्याङ्ग बतास
जिस्क्याएर भाग्छ, मलिन अधर
जोरी खोज्दै किनारासँग
उताउलो छालहरू
भत्काइदिन्छन् एकाग्रता
पैताला मुनिको बालुवामा सिंघौरी खेल्दै


कहिलाही
बेसुर मडारिएर आउँछन्
विषादी सम्झनाका घोर बादलहरु
र बर्सिन्छन् छताछुल्ल हुनेगरी
उसैगरी सोध्छन् यी आँखाहरु
अन्त्यहीन यी बाटाहरुको अन्त्य
बैचेन मनहरु सोध्छन्
मृत्यु पछी ब्युँझने शहर
जहाँ मुस्काइरहेको देखुँ तिमी

विसर्जित गरूँ त्यहीं
यो एउटा विषादी सम्झना … ।

 

प्रतिक्रिया