युवाको नेतृत्वमा खेलमैदान निर्माण

इनेप्लिज २०७३ असार २६ गते ६:१४ मा प्रकाशित

footshaal-400x208बाबियाचौर (म्याग्दी), २६ असार । उत्तरी म्याग्दीको ग्रामीण बस्तीमा खेलमैदान निर्माण कार्यले तीव्रता पाएको छ । नारच्याङ, शिख, घार, टिकोट, नाँगीमा स्थानीयवासी युवाको सक्रियतामा सुविधासम्पन्न खेलमैदान निर्माण भएको हो ।

मैदान निर्माण भएपछि खेल प्रशिक्षण र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । खेलको माध्यमबाट युवाले प्रतिभा प्रस्फुटनको अवसर पाएका छन् । विशेषगरी उत्तरी क्षेत्रमा बास्केटबल र भलिबलका लागि खेलमैदान निर्माण भएको छ ।

भिरालो भूगोल रहेको र फुटबलका लागि खेलमैदान बनाउन आवश्यक पर्ने धेरै जमिन नभएकाले यस क्षेत्रका युवा–युवतीमाझ बास्केटबल खेल बढी लोकप्रिय रहेको कान्छीबाराही युवा क्लब शिखका बिसन रानाले बताउनुभयो ।

खेलमैदान निर्माणमा सरकारी निकायको तुलनामा स्थानीय बासिन्दा, सङ्घसंस्था र प्रवासीको लगानी बढी रहेको छ । नारच्याङको बेसी गाउँमा खेलमैदान निर्माण गर्न जिविसले विद्युत् रोयल्टीमार्फत रु एक लाख अनुदान उपलब्ध गराएको थियो ।

क्लबको नेतृत्वमा विदेशमा रहेका नारच्याङका युवाबाट थप रु छ लाख जुटाएर स्थानीय बासिन्दाले श्रमदान गरेर २८.५ मिटर लम्बाइ र १६ मिटर चौडाइ भएको बास्केटबल र भलिबल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण गरेको अध्यक्ष हेमनारायण गर्बुजाले बताउनुभयो ।

खेलमैदान निर्माणका लागि बेसीगाउँका बासिन्दाले श्रमदान गरेर कालीगण्डकी किनारबाट बालुवा, गिट्टी ढुवानी र ढुङ्गा सङ्कलन गरेका थिए । एक वर्षअघि शिखको शिख उच्च मावि परिसरमा कान्छी बाराही युवा क्लबले विदेशमा रहेका शिखका युवाको सक्रियतामा खेलमैदान र मञ्च निर्माण गरेको थियो ।

शिखमै फुटबल खेलमैदान निर्माणका लागि पहिलो चरणको काम सकिएको छ । तारबार र प्याराफिट बनाउने तयारी भएको छ । त्यसैगरी घारको ३ र ४ नं वडामा पर्ने खिवाङ गाउँमा पनि प्रवासीको सहयोगमा प्याराफिट र मञ्चसहितको खेलमैदान निर्माण भएको छ ।

हिस्तानको टिकोट र राम्चेको नांगीमा पनि बास्केटबल खेल सञ्चालनका लागि ढलान गरेको खेलमैदान बनाइएको छ । खेलमैदानहरु खेल गतिविधि सञ्चालनका लागि मात्र नभएर सांस्कृतिक कार्यक्रम, आमसभा, भेला, सम्मेलन आदि कार्यक्रम आयोजना गर्नका लागि पनि प्रभावकारी भएका छन् ।

प्रतिक्रिया