शत्र सहकारी खारेजीमा

इनेप्लिज २०७३ असार २५ गते १२:३० मा प्रकाशित

रत्ननगर (चितवन), २५ असार । चितवनमा यो वर्ष १७ वटा सहकारी खारेजीको प्रक्रियामा पुगेका छन् । नियमानुसार काम नगरेका र निक्रिय रहेकाले ती सहकारी खारेजी प्रक्रियामा गएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवम् सहकारी प्रशिक्षक चोलाकान्त पोखरेलले जानकारी दिनुभयो ।

खारेजी प्रक्रियामा परेका १७ सहकारीमध्ये तीन वटा सहकारीले खारेज गरी पाउँ भनेर निवेदन दिएका छन् भने अन्य सम्पर्कमै नआएकाले खारेजी प्रक्रियामा परेका हुन् ।

पोखरेलका अनुसार यो वर्ष २८ वटा नयाँ सहकारी दर्ता भएका छन् । थपिएकामा सबैभन्दा बढी कृषि सहकारी संस्था रहेको कार्यालयका सहकारी निरीक्षक ऋषिराम भुसालले जानकारी दिनुभयो । एउटा सहकारी स्थापना गर्न न्यूनतम २५ जना सेयर सदस्य चाहिने र प्रतिसेयर न्यूनतक रु १०० हुनुपर्ने सहकारी ऐनमा उल्लेख छ ।

थपिएकामा १६ वटा कृषि सहकारी, छ वटा वचत तथा ऋण सहकारी, एक वटा मौरीपालन सहकारी, दुई वटा ताजा तरकारी उत्पादक सहकारी रहेकोे भुसालले जानकारी दिनुभयो । यस्तै नयाँ दर्ता भएकामा दुई वटा सामाजिक उद्यमी र एउटा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

पछिल्लो समयमा सरकारले कृषिमा अनुदान बढाएको र कृषि पेसामा युवा आकर्षित हुँदै गएकाले यसरी कृषि सहकारी थपिएका हुन् ।

जिल्लामा आजसम्म नयाँ दर्तासँगै ६८६ वटा सहकारी पुगेका छन् । अघिल्लो वर्ष चितवनमा ६५० वटा सहकारी थिए । यस्तै आठ वटा विषयगत सहकारी सङ्घ छन् । जिल्लामा अहिले वचत सहकारी मात्रै २८३ पुगेको छ । दुग्ध सहकारी १३८ छ भने कृषि सहकारी १२६ पुगेको छ ।

थपिएका अधिकांश सहकारी गाउँ क्षेत्रमा रहेको र ती सहकारीले स्थानीयको आयआर्जनमा ठूलो सहयोग पु¥याएको भुसालले बताउनुभयो ।

विकट गाविस काउले र सिद्धि गाविसमा समेत सहकारी खुलेको भन्दै अहिले चेपाङसमेत सहकारीमा संलग्न भएर आयआर्जन बढाउन थालेको सहकारी प्रशिक्षण कार्यालयले जनाएको छ ।

चितवनको दाहखानीमा खुलेको नमुना कृषि सहकारी संस्थामा चेपाङ समुदाय पनि सहभागी छन् । उक्त सहकारीका अध्यक्ष आइतसिंह चेपाङ सहकारी संस्थाकै कारण अहिले आफूहरु घरमै तरकारी फलाएर खान थालेको बताउनुहुन्छ ।

पश्चिम चितवनको पार्वतीपुरका किसान बाबुराम पौडेल सहकारीका कारण सयकडा तीनमा ऋण लिनु नपरेको भन्दै साना र गरिब किसानलाई ठूलो राहत मिलेको बताउनुहुन्छ ।उहाँ हाल यहाँको सरस्वती दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत हुनुहुन्छ । सहकारी खुलेपछि एक माना दूध समेत घर नजिकै लगेर बेच्न सकिने भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया