म मान्छे भित्र वास्तविक मान्छे खोजीरहेछु -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असार २४ गते २१:४० मा प्रकाशित

PRAKASH SHRESTHA

अलिकति सास र अलिकति आश लिएर
म आम मान्छेहरुको भिडमा, एउटा मान्छे खोजिरहेछु
त्यस्तो मान्छे जसले आफुलाई भन्दा अरुलाई माया गरोस्
आफु भोको बसेर पनि अरुलाई खुवाउन खोजोस्
देशको भुगोलबाट टाढा भए पनि आफ्नो देशको माटो नभुलोस्
वृक्षको हाँगा काटोस्, पात झारोस्, फल टिपोस्
तर जरै नकाटोस्, अस्तित्व नमेटाओस्
हो त्यस्तै मान्छे खोजिरहेछु !

समाजमा धर्मको आठोसाँध नलागोस्
जातको तरवार नतेर्साओस्
क्षेत्र र वर्गको च्याँखे नथापोस्
संस्कार, रिती तिथिको विभेदको गन्ध नआओस्
एक भाई सडकमा दयाको भिक माग्दा
अर्को भाई आलीशान महलको धाक नदेखाओस्
एउटै थालमा भोजन गर्ने साथी
अहंकारको रागमा जलेर खरानी नबनोस् !!

हो म त्यस्तो मान्छे खोजिरहेछु
जो देशको माटो दुख्दा उसलाई दुखोस्
मनमा पाप पालेर बाहिर धर्मशाला नधाओस्
शक्ती र सामर्थ्यको मापनले सम्बन्धको क्षितिज नकोरोस्
जातभात, धर्मकर्म र भुगोलले सोचको आकाश नखुच्चाओस्
अपत्यारिलो असहजताको नाजायज फाईदा नउठाओस्
आस्था र भरोसामा ठेस लगाउने काँडे बल्छी नथापोस्
मित्रताको अंगोलोमा बाँधेर पिठ्युमा छुरा नरोपोस् !!!

खै यस्तो मान्छे भेटौला वा नभेटौला तर
म अविच्छिन्न खोजिरहेछु जताततै
जसले मानवताको न्युनतम धर्म निभाउन सकोस्
जन्मभुमिको लागी परेको बेला रगतको खोला बगाउन सकोस्
सबैखाले प्रलोभनमा नफसिकन देशको रक्षक बन्न सकोस्
कर्मभुमी जतै बनाएपनि, भौतिक उपस्थिती जतै रहेपनि
परेको बेला, देश जलेको बेला शितल मलम लगाउन सकोस्
भुगोलले टाढा भएर केही छैन
हाँगा र पात जतै फैलियोस् केही छैन
जरा भने सधै देशकै माटोमा जव्वर बनेर बसिरओस्
आपसमा फुटाउने मन हैन, सबैलाई जुटाउने मन बनोस्
व्यक्तीगत जीवन मात्रै हैन, सामाजिक जीवन बाँच्न सक्ने होस् !!!!
स्वार्थको घोडा चढेर सामाजिक सेवा गर्ने होईन
निस्वार्थ मानवीय सेवामा लाग्ने होस्
राजनितीलाई पेशा हैन, समाजसेवा बनाउने होस्
भाषणमा मानवता हैन, व्यवहारमा मानवता देखियोस्
हो यस्तै मान्छे भित्र वास्तविक मान्छे खोजिरहेछु
अफसोच यस्तो मान्छे न देशमा देखे न त प्रदेशमा
तर यस्तै मान्छे अविच्छिन्न खोजिरहेछु
ढुकढुकीमा एकमुठ्ठी प्राणवायु रहेसम्म
धर्तीमा अस्तित्व रहेसम्म
वास्तविक मान्छे खोजी रहेछु
बनावटी मान्छेको भिडमा
हो मैले सक्कली मान्छे खोजिरहेछु !!!!!

बाल्टिमोर, अमेरिका

प्रतिक्रिया