गरुडामा इलाका प्रशासन कार्यालयको सेवा आरम्भ

इनेप्लिज २०७३ असार २४ गते १३:५० मा प्रकाशित

gaurda (4)

निकै लामो प्रयासपछि रौतहटको गरुडामा इलाका प्रशासन कार्यालयको सेवा आरम्भ भएको छ । एक कार्यक्रमबीच क्षेत्रिय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेले इलाका प्रशासन कार्यालय गरुडाको उदघाटन गर्दै नेपाल सरकारको लक्ष्य तथा नीति अनुसार गाउँमै सरल तरिकाले सर्वसाधारणलाई सेवा प्रदान गर्न इलाका प्रशासन कार्यालयको स्थापना भएको बताएका छन् ।

गरुडाको चिनीमिलअगाडि रहेको उखु उत्पादक संघको भनवमा स्थापित इलाका प्रशासन कार्यालय गरुडाको सेवा आरम्भ गर्दै क्षेत्रिय प्रशासक घिमिरेले प्रत्येक नागरिकको घर दैलोमा सिंह दरवार पुर्याउने लक्ष्य अनुरुप नेपाल सरकारबाट तराई एवं पहाडी जिल्लाका जनताहरुलाई समुचित ढंगबाट कम खर्चमा बढि भन्दा बढि सेवा सुविधा पाउनका लागि सरकारी कार्यालयको इलाका स्तरिय उपशाखा कार्यालयहरु स्थापना गर्ने अभियान संचालन भएको सोही योजना अनुरुप रौतहटको गरुडामा प्रशासनिक कार्यालयको स्थापना भएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा गरुडा नगरपालिका वार्ड नम्बर १ का नागेन्द्र राउत तथा सन्तोषी देवीका छोरा रवीन्द्र कुमार चौरसियालाई इलाका प्रशासन कार्यालय गरुडाबाट वंशजको आधारमा पहिलो नेपाली नागरिकताको प्रमाणपत्र तथा मधेसी प्रमाणित गरी प्रदान गरिएको छ । चौरसियालाई क्षेत्रीय प्रशासक घिमिरे सबैका सामु नेपाली नागरिकताको प्रमाणपत्र तथा मधेसी प्रमाणित प्रमाण प्रदान गरेर इलाका प्रशासन कार्यालय गरुडाको सेवा प्रारम्भ भएको बताएका छन् ।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले तत्कालको लागि गरुडा नगरपालिकाका सम्पूर्ण वडाहरुको नागरिकता, पासपोर्टको सिफारिस, मधेशी प्रमाणित लगायतका कार्यको सेवा आरम्भ गरिएको र निकट भविष्यमै राजनीतिक दलहरुको सहमतिमा पायक पर्ने अन्य गाविसको सेवा विस्तार गर्ने बताएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीद्धय पशुपति उपाध्यया, गंगा पाण्डे, जिल्लाका कार्यालय प्रमुखहरु, राजनितिक दलका प्रतिनिधिहरु तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा रौतहटका स्थानीय विकास अधिकारी उमेश बस्नेतले इलाका प्रशासन कार्यालयको स्थापना हँुदा यस क्षेत्रका बासिन्दाहरुमा नयाँ विकासको आयाम थपिएको जिकिर गर्दै विकास निर्माण लगायतका हरेक कार्यमा भईरहेका अनियमितता सबैलाई रोक्न यस कार्यालयको अहम भुमिका निर्वाह भएमा मात्र जिल्ला भरी विकासको लहर फैलिने र अपनत्वको भावनाको विकास हुने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादव, नेकपा एमाले रौतहटका उपसचिव शेख कलिमुल्लाह तथा रौतहट उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष कन्थमुनि प्रसाद जयसवाल लगायतकाले मन्तव्य व्यक्त गर्दै मध्यरौतहटका पायक पर्ने अन्य गाविसका सेवाग्राहीलाई पनि इलाका प्रशासन कार्यालय गरुडामा सेवा प्रदान गर्न र दरबन्दी थप गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया