पुनःनिर्माणको टिआइ नेपालद्वारा अनुगमन

इनेप्लिज २०७३ असार २४ गते १२:२६ मा प्रकाशित

काठमाडौँ, २४ असार । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भएका पुनःनिर्माणका कामको गुणस्तरीयताबारे नागरिक समाजका तर्फबाट ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अनुगमन गर्ने भएको छ ।

पुनःनिर्माण गुणस्तरीय भएको छ छैन , पीडितले सरकारले दिने भनिएको अनुदान रकम पाए पाएनन्, पीडितका गुनासा के छन् आदि विषयको अनुगमन गर्न लागिएको टिआइ नेपालका कार्यकारी निर्देशक आशिष थापाले  जानकारी दिनुभयो ।

“युरोपियन युनियनले भूकम्पपछिको पुनःनिर्माणका लागि दाता सम्मेलनमा सहयोग गर्न गरेको सम्झौतामा स्वतन्त्र नागरिक समाजका संस्थाले अनुगमन गर्ने व्यवस्था थियो, यो व्यवस्था अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, टिआइ नेपाल र युनियनबीच भएको बैठकले गुणस्तरीयताको अनुगमन गर्ने जिम्मेवारी दिएको हो”– उहाँले भन्नुभयो ।

टिआइ नेपालले पाँच वर्षसम्म युनियनको रु १२ करोड अनुदान सहयोगमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली काभे्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा जिल्ला समन्वय कार्यालय स्थापना गरी पुनःनिर्माणका क्रममा भएका कामको गुणस्तरीयता मापन गर्नेछ ।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया दाताले पुनःनिर्माणका लागि दिएको रकममा भ्रष्टाचार नहोस् भनी टिआइ नेपाललाई अति प्रभावित १४ जिल्लामा अनुगमन गर्न स्वीकृति दिइएको बताउनुभयो । पुनःनिर्माणका काम जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले कामको अनुगमन गर्न लागिएको टिआइ नेपालले जनाएको छ ।

प्रतिक्रिया