एउटी नावालिकाको संकल्प … म परदेश जान्न आमा

इनेप्लिज २०७३ असार २३ गते ७:०५ मा प्रकाशित

unnamed

हिजो अबेरसम्म ..
खुल्ला आकाशमुनि,
आमा र म  बात मार्यौ,
मैले पोखेँ कौतुहलता :
” आमा, केही दिन भयो,
किन तिम्रो आकाशमा घाम उदाएन ?”
“कता विलिन भए ती नक्षत्रका  ताराहरु ?”
… आमा मौन थिईन्,
तर मैले फेरि साेधेँ ,
“आमा !
मेरा दाजुहरु नुन पानी खोज्न परदेशिएका हुन् ?”
“के तिनीहरुले पानी भेट्टाउनेछन् मरुभूमिमा ?”
… उत्तर पाउने आशामा पर्खिरहेँ,
आमाका गलाहरु अबरुद्ध जस्तै थिए,
मेरो आवाज अनायास,
फेरि फुत्त बाहिर निस्कियो –
“आमा,…
दाजुहरुले उता मकै,कोदो खाएका हैनन् ,
त्यस्तो अन्न खान पाएका थिए अरे..
जुन हाम्रो खेतबारीमा उब्जेकै छैन,
त्यसैले,
बाकसभित्र सुत्ने अवसर पाएर नेपाल फर्के ।”
“के बाकसभित्र गर्मी भएन तिनीहरुलाई आमा ?”
… आमाको नयनबाट  झर्यो,
अविरल आँशु,
रुनु न हाँस्नु,
केही गर्न नसकेझैँ .. अत्तालिएर
घाँटी चिरिदैँ आवाज निस्कियो :
“तिम्रा दाजुहरु फर्केका होईनन्,
शरीरहरु त मूढ़ों जस्तै,
प्राणबिहीन  थिए बाकसभित्र,
तड्पिरहेका छन् अरे अझै ..
आत्माहरु त उतै उतै !”
~म स्तब्ध भएँ,
सायद उनको उत्तर बुझिन,
तर आवाज बुझ्न सक्छु,
विवशता,पीडा,छट्पटी, अनि सहनशिलता ।
यी सबै उनका आवाजका पर्याय हुन् ।
फेरि आमाका ती निर्दाेष नयनहरु नियालेँ
अनि मनन गरेँ ..
“मेरी आमालाई मेरो खाँचो छ,
मैले आजै संकल्प गरेँ,
कसम आमा …
म परदेश जाने छैन ,
रातो बाकसमा भरिएर ताप्न नमिल्ने आगो र,

राख्न नमिल्ने सन्दुक बनेर…,
फर्कन म परदेश जाने छैन ।
~ पोखरा

प्रतिक्रिया