बिक्नै छाड्यो संस्थानको चामल

इनेप्लिज २०७३ असार १९ गते ७:३६ मा प्रकाशित

सोलुखुम्बु, १९ असार । सात-आठ वर्षअघिसम्म दिनहुँ चामल किन्न आउनेको भीड लाग्ने खाद्य संस्थान डिपो कार्यालय सल्लेरी आजभोलि सुनसान छ ।

सदरमुकाममा सडक सुविधा पुगेपछि खाद्यको चामल किन्न आउने सेवाग्राहीको चाप घटेको हो । । कार्यालयले चालु आवमा एक हजार ७०० क्विन्टल चामाल ढुवानी गरे पनि ४१ क्विन्टल मात्र बिक्री गरेको छ । खाद्य संस्थान डिपो कार्यालय सल्लेरीका प्रमुख शम्भु रेग्मीका अनुसार बिक्री गरिएको चामल होटल सञ्चालकले किनेका हुन् ।

सल्लेरी डिपोमा गत वर्ष ७२८ क्विन्टल चामल ढुवानी गरिएको थियो । “गोदाममा चामल मौज्दात छ, लिन कोही आउँदैनन्,” रेग्मीले भन्नुभयो ।

दुर्गममा रहेको सोताङ डिपोमा एक हजार ४०० क्विन्टल चामाल ढुवानी गरिएको छ । तर अहिलेसम्म यहाँ चामल किन्न कोही पनि आएका छैनन् । सो डिपोमा गत वर्ष पनि चामल बिक्री वितरण हुन सकेको थिएन । यस्तै लुक्लामा तीन हजार ५०० क्विन्टलमध्ये हालसम्म एक हजार १०४ क्विन्टल चामल बिक्री भएको छ ।
बजार मूल्यभन्दा खाद्य संस्थानको चामल महँगो भएका कारण बिक्री हुन नसकेको हो । संस्थानमा रहेको सोना मन्सुली चामालको मूल्य प्रतिकिलो रु ४२ रहेको छ भने सोही चामल बजारमा रु ३८ मा पाइन्छ । त्यस्तै संस्थानले जिरा मसिनो चामल प्रतिकिलो रु ६० मा बिक्री गर्छ भने बजारमा सो चामलको मूल्य रु ५६ पर्छ ।
“मूल्य समायोजनका लागि केन्द्रमा पहल गरेको छु,” रेग्मीले भन्नुभयो । यस्तै, बजारमा विभिन्न गुणस्तरका चामल उपलब्ध हुनु, व्यापारीले घरमै पु¥याइदिनु, उधारोमा पाइनुलगायतका कारण संस्थानको चामल बिक्री हुन नसकेको हो । गाउँ गाउँमा सडक सञ्जालको बिस्तारसँगै चामल सहज रुपमा उपलब्ध हुन थालेपछि उपभोक्ता चामल किन्न खाद्य संस्थानको कार्यालय जान छाडेका बताइएको छ ।

प्रतिक्रिया