भवन पाएपछि भूकम्पपीडित खुसी

इनेप्लिज २०७३ असार ११ गते ५:४१ मा प्रकाशित

मेलम्ची ११, असार । नेपाली सेना शत्रु भञ्जन गुल्मले सिन्धुपाल्चोक जिल्लाको भोटेनाम्लाङ गाविस–९ तिपेनीका १२ परिवारलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरी शुक्रबार हस्तान्तरण गरेको छ ।

गत वर्षको विनाशकारी भूकम्पले र त्यसपछिका परकम्पले स्थानीयवासीको घर पूर्णरुपमा क्षति भएको थियो । पीडितको पहिचान गरेर क्षति भएको सर्वसाधारणको एकीकृत बस्ती विकास गर्ने योजनाअन्तर्गत सेनाले १२ कोठे सामूहिक आवास भवन सर्वसाधारणलाई उपलब्ध गराएको हो ।

नेपाल सरकार पुनःनिर्माण प्राधिकरणको ग्रामीण विकास योजनाअन्तर्गत विनियोजन भएको रकमद्वारा २२ दिनमा सेनाले भवन निर्माण गरेर गुल्मपति श्यामशरण गोतामेले बताउनुभयो ।

भूकम्प प्रतिरोधात्मक सामूहिक आवास पाएपछि वर्षा र चर्काे घाममा ओतलाग्न सजिलो भएको भन्दै आफूलाई निकै खुसी लागेको स्थानीय वृद्धा गङ्गामाया गिरीले बताउनुभयो ।

यसैगरी नेपाली सेनाले सिन्धुपाल्चोक जिल्लाको तीन गाविस तौथली, भोटेचौर र भीमटारमा नेपाल सरकारकोे पुनःनिर्माण प्राधिकरणअन्तर्गत सामूहिक आवास भवन निर्माणपश्चात् हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया