भरतपुर अस्पतालले थालेसिमियाका बिरामीको निःशुल्क उपचार गर्ने

इनेप्लिज २०७३ असार ७ गते १०:३४ मा प्रकाशित

bharatpur-hospitalरत्ननगर (चितवन), ७ असार । भरतपुर अस्पतालले थालेसिमिया(रगतको गडबडीबाट हुने रोग) का ५२ बिरामीलाई निःशुल्क उपचार दिन थालेको छ ।

भरतपुर अस्पताल विकास समितिले आफ्नै खर्चमा निःशुल्क सेवा दिन थालेको हो । थालेसिमियाका बिरामी १५-१५ दिनमा उपचारका लागि अस्पताल आउनुपर्छ । अस्पतालले प्रतिपोका रु ८५० पर्ने रगत महिनामा दुई पोकाका दरले उपलब्ध गराउँदै आएको अस्पतालका सामाजिक सेवा प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो ।

बिरामीलाई औषधि पनि निःशुल्क रूपमा नै वितरण गर्ने गरिएको छ । बिरामीलाई परिचयपत्र दिइएको र सोही आधारमा सेवा पाउने छन् । अस्पतालले थालेसिमियाका बिरामीलाई चढाएको रगतको पैसा ब्लड बैंक भरतपुरलाई दिने गरिएको छ । “वार्षिक रुपमा करिब रु पाँच लाख रकम खर्च हुन्छ” – अस्पतालका सहायक लेखापाल कृष्ण शर्माले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बोनम्यारो ट्रान्सप्लान्ट यस रोगको अन्तिम उपचारको विकल्प हो, तर उक्त सेवा नेपालमा नै उपलब्ध नभएको र बिरामीलाई विदेशमा गर्न महँंगो भएकाले वैकल्पिक रूपमा मासिक रगत हाल्नुपर्ने हुन्छ भन्नुभयो । अस्पतालमा एक वर्षको शिशुदेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले हेमोग्लोबिन बनाउने क्रोमोजोममा हुने गडबडीबाट यस्तो समस्या आउने बताउनुभयो ।

प्रतिक्रिया