हिंसापीडितका लागि ‘सुरक्षित घर’ निर्माणकार्य सुरु

इनेप्लिज २०७३ असार ५ गते ७:१७ मा प्रकाशित

फलेवास (पर्वत), ५ असार । विभिन्न हिंसामा परेका पीडित महिला तथा बालबालिकालाई न्याय दिलाउनका लागि राखिने ‘सुरक्षित घर’ को पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण सुरु भएको छ ।

समाज र परिवारबाट पीडित र अपहेलित भई न्यायका लागि जिल्लास्थित न्यायिक निकायमा आउने महिला तथा बालबालिकाका लागि मुद्दा टुङ्गो नलाग्ने बेलासम्म खान बस्नको व्यवस्था गर्न सुरक्षित आश्रयस्थल बनाउन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक गङ्गा पन्तको विशेष पहल, लैङ्गिक हिंसा निवारण जिल्ला समन्वय समितिको संयोजनमा उक्त आश्रयस्थल बनाउन लागिएको हो । भवन निर्माणका लागि स्थानीय सरोकारवाला निकायले साथ दिएपछि झन्डै रु दुई करोडको लागतमा भवन निर्माणकार्य सुरु भएको छ ।

भवन निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, क्लबले आर्थिक सङ्कलनका लागि तीव्रता दिएका छन् । १४ कोठा र हलसहितको निर्माण हुने भनिएको तीनतले भवन निर्माणको जिल्लाका तीन वटा सांसद, जिल्ला विकास समिति, कुश्मा नगरपालिकालगायतले आर्थिक सहयोग गरेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुभयो ।

हालसम्म झन्डै रु ३० लाख रकम सङ्कलन भएको आचार्यले जानकारी दिनुभयो । जिल्ला विकास समिति पर्वतले रु १० लाख, कुश्मा नगरपालिकाले रु पाँच लाख सहयोग गरेका छन् ।

त्यस्तै सांसदहरु अर्जुनप्रसाद जोशी र कल्पना चापागार्इंले रु तीन÷तीन लाख र अन्य सङ्घसंस्था र व्यक्तिबाट आर्थिक सङ्कलन जारी रहेको छ । शारीरिक र मानसिक रुपमा हिंसामा परेका बालबालिकालाई संरक्षण गरी राख्ने भवन नहुँदा महिला प्रहरीको कोठामा राख्नुपर्ने बाध्यता भएको र अब उक्त आश्रयस्थल निर्माण सम्पन्न भएलगत्तै यस्तो समस्या पनि समाधान हुने भएको छ ।

यसैबीच उक्त भवनको शनिबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले शिलान्यास गर्नुभएको छ । सो अवसरमा बोल्दै उहाँले भवन जति छिटो सम्पन्न गर्न सक्यो त्यति नै छिटो जिल्लाका हिंसापीडित महिला तथा बालबालिकाले राहत पाउने भएकाले समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया