उखुको मूल्य भुक्तानीको माग गर्दै रौतहटका किसानले गरे सडक जाम

इनेप्लिज २०७३ असार १ गते १२:१० मा प्रकाशित

20160615_115601
लामो समयदेखि उखुको मूल्य भुक्तानी नपाएका रौतहटका उखु किसानले बुधवार दुई घन्टा सडक जाम गरेका छन् । तीन आर्थिक वर्षको गरी करिब नब्बे करोड रुपैया गरुडास्थित श्रीराम सुगर मिल्ससित पाउनुपर्ने बाँकी रहेको भन्दै उद्योगले भुक्तानीको लागि कुनै चासो नदेखाएका भन्दै बुधवार दुई घन्टा चक्का जाम गरेका उखु किसानले विहीवार तीन घन्टा चक्का जाम गर्ने बताएका छन् ।
विभिन्न समयमा उद्योग मन्त्रालय उद्योगमन्त्री सोमप्रसाद पान्डे र उद्योग राज्यमन्त्री मेघराज निषादको कार्यकक्षमा किसानसित उद्योगले किनेको उखुको मूल्य किसानले पाउनु पर्ने भनी वार्ता भएको र भुक्तानीको लागि सहमतिसमेत भएको तर भुक्तानीको तालिका प्रकाशन नगर्ने र किसानको भुक्तानी दिन उद्योगले चासो नदेखाएको राज्यको समेत ध्यानाकर्षण गराउन बाध्य भएर सडक आन्दोलनमा उत्रनुपरेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् ।

20160615_110807

पूर्वपश्चिम राजमार्गलाई जिल्लाको सदरमुकाम गौरसित जोड्ने वीरेन्द्र राजमार्गको छेउमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्सको मूल गेटअगाडि संघ अध्यक्ष यादवको नेतृत्वमा संघका पदाधिकारी तथा किसानहरुले त्रिपाल बिछ्याएर सडक जाम गरेपछि हजारौँ यात्रु अलपत्र परेका थिए । जिल्लाका करिब १८ हजार उँखु किसानको समस्यालाई उद्योगपतिले ध्यान नदिएको भन्दै बाध्य भएर सडक बन्दजस्तो आन्दोलन गर्नुपरेको अध्यक्ष यादवको भनाइ छ ।

किसानको करोडौँ रुपैया भुक्तानी दिलाउन सहजीकरण गरिदिन रौतहटका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्रमार्फत जानकारी गराइ सकेको भए पनि कतैबाट कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनको बाटो अपनाएको संघका कोषाध्यक्ष मनोज कुमार सहनीले बताएका छन् । किसानको उखु किन्ने तर भुक्तानी नै नदिने उद्योगको प्रवृत्तिले किसानहरु निकै मर्कामा परेको सहनीको भनाइ छ ।
सञ्जय मित्र, रौतहट

प्रतिक्रिया