अदालतमा अस्पताल सेवा

इनेप्लिज २०७३ असार १ गते ३:१७ मा प्रकाशित

फलेवास (पर्वत), १ असार । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको आकस्मिक उपचारका लागि जिल्ला अदालतमा प्राथमिक उपचार सेवा सुरु भएको छ ।

कार्यालयमा उपलब्ध भौतिक सेवासुविधाअनुरुप सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले मङ्गलबारदेखि अदालतमा प्राथमिक उपचार सेवा सुरु गरिएको हो । जिल्ला अदालतले धौलागिरिमा नै पहिलो पटक यो सेवा शुभारम्भ गरेको छ । जिल्ला अस्पतालको सहयोगमा अदालतले अहिले सात प्रकारका औषधि वितरण गर्ने भएको छ ।

अदालतमा सेवा लिन आएका सेवाग्राही तत्काल बिरामी परेमा वा कुनै घटना भएमा आकस्मिक सेवा दिनका लागि र कार्यालय समयमा कुनै आपत्कालीन समस्या आइपरेमा प्राथमिक उपचारस्वरुप औषधि प्रदान गर्ने उद्देश्यले प्राथमिक उपचार सेवा शुभारम्भ गरिएको शाखा अधिकृत दयाराम पोख्रेलले जानकारी दिनुभयो ।

उक्त सेवामार्फत टाउको दुख्ने, पेट दुख्ने, पखाला, रुघाखोकी, ज्वरो, काटेको, पोलेको घाउमा लगाउने औषधि लगायत अन्य सेवा पनि उपलब्ध छन् । उक्त औषधि व्यवस्थापनका लागि अदालतले कार्यालयमा यथावत् रहेको भण्डार शाखालाई जिम्मा लगाएको छ । कार्यालयको बाहिरपट्टि प्राथमिक उपचार नामक बक्स राखेर औषधि सुरक्षित रुपमा सबैले देख्न सक्ने ठाउँमा भण्डारण गरिएको पोखरेलले जानकारी दिनुभयो । औषधि जिल्ला अस्पतालले निःशुल्क उपलब्ध गराउने गरी सो सेवा सुरु गरिएको हो ।

प्रतिक्रिया