अम्बर गुरुङ

इनेप्लिज २०७३ असार १ गते ०:४५ मा प्रकाशित

ambar-gurung

“म अम्बर हुँ तिमी धर्ति लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला”

एकचोटी यो गीत मेरो कानमा परेको थियो – कैयन बर्ष अघि | र, अपरिचित अनुहार भएको त्यस व्यक्तिका रचना, संगीत र गायन कौशलले मलाई जकड़ीहाले | मेरो आँखामा आकाश र धरतीको मिलनभुमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो जसमा सुर्य डुब्दै थियो – यो सिद्ध गर्न मानौ त्यो मिलनरेखा एक महाशुन्य हो |

अम्बरको फ्यान म त्यसरी बने |

पछी, भूपी शेरचनका माध्यमद्वारा उसंग मेरो परिचय भयो | भूपिले एक दिन एक नया गीत सुनायो, जो उसको रचना थियो , अम्बरको संगीत थियो र थियो अरुणाको स्वर ….

“किन ………मेरो

किन ………अन्त

बसन्त !

बाल्जमा बाँधिएको धुनले गीतलाई राम्रो मोड दिएका थिए | म मुग्ध भएँ | मेरो आँखामा झरेका, सुकेका पातहरु हावामा गोलो फन्को मारी बाल्ज्को लामो फन्को मारिरहेका देखिए |

“यो मान्छे कस्तो छ” भनी ? मैले सोधेको थिए, भाबाबेसमा |

सोझो र स्पस्ट प्रश्नको उत्तर दिन साह्रै गाह्रो हुन्छ जो सुकै लाई पनि भूपी जस्तो ट्याक्क मिल्ने उपमा दिन सक्नेलाई पनि | एकछिन उ अल्मलियो अनि भन्यो – उ मान्छे शायद होइन, उ मित्र हो र जसको लागि मित्र होइन, उसका लागि कलाकार हो र जसका लागि कलाकार होइन, उसका लागि गायक हो र जसका लागि गायक होइन उ जन्मेको पनि छैन |”

भूपि जिन्दाबाद ! अम्बरको यति छरितो शब्द रेखा यस भन्दा मिठो बन्न सक्दैन | यो कुरा आज बर्षौं पछी म अनुभब गरिरहेछु, उ संग अनेक आत्मीयताको सागर पार गरेपछि |

त्यसबेला म भूपिको व्याख्याको मर्ममा अल्मलिरहे | उसले मेरो अतृप्त जिज्ञासा पैलायो शायद, भनेको थियो, अम्बर काठमाण्डौ आउदा भेट्टाई दिउँला |

अम्बर काठमाण्डौ आउनु अघि अनेक घटना भए | अगमगिरिको नौलाख तारा उदायो | यसले उसलाई अधिराज्यमा जनप्रियता ल्यायो | र गीत गल्लीगल्लीमा अनेक स्वर अनेक धुनमा गाइयो | उसले अरु पनि अनेक रचना गर्यो, उ झन् प्रिय बन्यो |

अनि उ काठमाण्डौ आयो | अम्बरको व्यस्ततालाई निचोरनाचार पारेर पनि भूपीले दुइ घण्टा उसलाई मेरो घरमा ल्याईहाल्यो |

उसको अनुहार पनि देखें | पक्का गुरुङ अनुहार छ | गोर्खा आर्मीमा गएर युनीफर्म लाएमा खसी भेंडाको हुलमा मिल्ला जस्तो | भूपी जस्तै पुड्को, उस्तै ठुलो टाउको, उस्तै हँसिलो | जीउ भने स्यानो, अनुहार भने गहकिलो | बोल्दा उसको स्वरमा जुन नरमपना छ, गाउदा त्यसमा त्यतिकै ठोसपना |

गीत उसले त्यहाँ गाएन | त्यसकारण म स्वर जत्तिकै प्रभावित अनुहारबाट भईन | उ गइहाल्यो |

शायद अब बाटोमा देख्यो भने उसले चिन्ला नचिन्ला को जानोस |

अनि म दार्जिलिंग गएँ | त्यहाँ धेरै परिचित छन – सब कहाँ आफ्नो आगमनको स्वरूप भेट्न गएँ | उसकहाँ पनि गएँ | उ कतै टुरमा गएको रहेछ | खबर छाडी राखें |

एक या दुइ दिन त्यसै भेटघाट चिनापर्चीमा बित्छ तर अम्बर छैन | अकस्मात एक साँझ ग्लेनारिमा आईपुग्छ | मलाई खोज्दै | झ्वास्स मैले पो चिन्न सकिन, उ मलाई ठम्याईहाल्यो | अनि त्यहीं साँझ प्रोग्राम बन्छ | उसलाई अनुमति बिना गाउन मनाही छ | हामी अगमको आयोजनामा ५-६ जना जम्छौ |

झ्याल ढोका लाएर उ उदांगीन्छ, स्वरमा सरस, अर्थात रसयुक्त बैठकमा हामि मग्न हुन्छौ | त्यहाँ पहिलोपल्ट “पहाड सुक्यो जस्तो लाग्छ” ले मलाई छोप्छ | त्यसबेला यो उसले भर्खर रचेको मात्र थियो |

अनि हाम्रो ३-४ दिन साँझ बित्छ | परिचय भने गाढा हुन्छ तर मित्रतामा परिणत हुदैन | भूपिको भाषामा भन्ने हो भने गायकबाट बढी उ मेरो दृष्टिमा कलाकार बनिसक्यो – अझ नाघिसक्यो तर मित्र भने बनेको छैन….उसका सम्बन्धमा जान्न म ईच्छुक छुं अब | धेरै स्रोतबाट अनेक कुराको जानकारी हुन्छ | उसको आर्थिक अबश्था देखि लिएर उसका रोमान्सहरु, उसका सफलता देखि लिएर उसका बन्धनहरू | अनि उसका लेखक दृष्टिमा पर्छन | एक स्वादिलो बहाब छ, एक स्पष्टता छ, अनाबश्यक्तता छैन | मन पर्छ तर मन मात्र पराउछुं, अभिव्यक्त गर्ने साधन छैन मेरो – म संग उसको पत्र ब्यबहार आरम्भ भएको छैन | हामि दुबैको प्रकाशित लेखद्वारा हामि दुवै एकअर्का लाई सम्झन्छौ, त्यति मात्र हो | मानौ हामि दुवै अव्यक्त प्रेमलाई चन्द्रमा ताकेर चिसाईरहेछौ | मुगल-कालिन प्रेमको पराकाष्ठा जस्तो |

कति बर्ष बित्छ थाहा छैन ….

उसको काठमाण्डौ आउने चर्चा चल्छ | “रुपरेखा” का सम्पादक उत्तम बाट म यो समाचार सुन्छु | यो पनि सुन्छु अम्बर आफ्नो बर्तमान सरकारी सेवाबाट अवकाश लिदैछ | र शायद काठमाण्डौमा केहि काल बिश्राम गरोस | उसका लागि म आफ्नो घर अर्पण गर्दछु जति बसे पनि | म मान्छे मतलबी छु, उसंगको सहवास द्वारा उसको आत्मियता अपनाउने मेरो लोभ छ | उत्तमले मेरो निमन्त्रणा पाउछ |

काठमाण्डौका कार्यक्रमबीच सरकारी पाहुनाको रुपमा उ होटेलमा बस्छ | अनि आउछ उ घरमा आतिथ्यको समाप्ति पछी |

तिनताक म, फेरी आफ्नो जीवनको एक अनौठो र अप्रकाशित मोडमा छुं | साहित्यको भुत टाउकोमा चढेको छ | उपन्यास थालेको छु, प्राचिन पस्चात्य साहित्यको अनुबाद थालेको छुं | दुइको बिचमा कथा कहानी निबन्ध लेख्छु सुनाउन | र मलाई मान्छे मन पर्दैन, मनपर्छ एकान्त | यस्तो अबश्थामा उ घरमा आईपुग्छ |

दिनभर उ अरुका लागि, रात मेरो लागि हामि गिलास समातेर बस्छौ, साहित्यको चर्चा गर्छौं, वा उ संगीतको चर्चा गर्छौं, वा हामि रेकर्ड सुन्छौं | बिथोबिनको सोनाटाहरु, सिम्फोनिहरु, दाइलन टमसका कविताहरु, मेरियान मुरका कविताहरु |  हामि सुन्छौ र एक संसारको सिर्जना गर्दै जान्छौ |

तिनताक एकदिन म भन्छु – अम्बर, नेपालीमा मेजर वर्क किन नगर्ने ?

उसको पनि त्यता मन गैसकेको रहेछ | उ सहमत हुन्छ | कान्टेता तथा सिम्फोनिको सिर्जना सम्बन्धि चर्चामा एक रात दुइ बजेको पत्तै पाउदैनौ | अन्त्यमा हामी तिन बिषय-बस्तु छान्छौ | देबकोटा, हिमाल तथा कान्टेतामा रक्स्यापन |

उ भन्छ – तीनैवटा तपाई लेख्नुस म संगीत दिन्छु | म स्वागत गर्छु | भोलिपल्ट बिहान रक्स्यापन माथि मेरो योजना तयार हुन्छ | चार प्रमुख बिभाजन म गर्छु |

१. खानु अघि ! २. खाउँ कि ? ३. खाएको ! ४. लागेको !

यसलाई पनि प्रत्येक बिभाजन लाई ४ अंशमा छुट्याउछुं | भोलिपल्ट बिहान हामी यसुपर फेरी चर्चा गर्छौं | हामी भाबाबेसमा बग्छौँ | आत्मीयतामा डुब्छौं | तापनि, मित्रता अपनाउन असमर्थ हुन्छौं | शायद अम्बरलाई कसीमा घोटीरहेछु |

हामी दुबैलाई थाहा छ प्रत्येक मान्छेको एक वा अनेक मकुण्डो हुन्छ | हामी दुवै मुकुण्डो भित्रको अनुहार जाच्ने प्रयत्नमा छौं | उ भन्दा बढी शायद म, कारण म अगुल्टोले पोलेको बिरालो हुँ |

अन्तिम रात हामी बढी भाबाबेसमा हुन्छौ | म अम्बरलाई टेप गर्न तयार छुं | उ पनि आफ्नो शक्तिको चरम सीमामा छ | भन्छ जे भन्नुस म गाउछु |

काठमाण्डौको बत्ति साह्रै टेम्परामेन्टल छ | कुठाउँमा मुड पकडीदिन्छ | पछी टेप यसो सुन्यो, अम्बर पो मात्तिएको भान हुने | ८-१० गीत सकस्त संग भर्यौं | अनि टेप बन्द गरेर कान खोल्यौं | एकप्रकारले त्यो रात जीबनमा अविस्मरणीय रहनेछ | एकप्रकारले भन्नुको अर्थ हो, पछी अर्को रात पनि आयो |

प्रायश: गायकको कमजोरी हुन्छ, स्केलको | अम्बर त्यो रात स्केलका परिधि भन्दा बाहिर थियो | जीबनमा त्यस्तो निर्बन्ध गायक देखेको वा सुनेको मेरो पहिलो अनुभब थियो |

प्रतिभा त्यहाँ निर झल्क्यो | म मित्रताको छेउछाउ तिर पुगें | अनि उ जान्छ, फर्कन्छ कालिम्पोंग | यसपछि हामी प्रेमपत्र प्रारम्भ गर्छौं |

उ काठमाण्डौ आवासको लागि धन्यबाद ज्ञापन गरेर मलाई लेख्छ | म सहबासको लागि धन्यबाद पठाउछु | तर ….. अब बेला आयो उसको अलिकति मुल्यांकन गर्ने | अम्बर असलमा हो के ? पख, अझै बेला भएको छैन | अझै बुझुं अम्बरलाई |

उसको काठमाण्डौ आबासमा मैले उसलाई दुइ नबिन गीत दिएँ | उसले मन परायो | लिएर गयो, संगीतबद्ध गर्न | पछी एक गीत अर्को पठाएँ | त्यो झन् मन परायो | आफ्नो रचना कसैले मन पराइदियो भने रचनाकार खुट्टा चमौलाजस्तो गर्छ |

उसमाथि अम्बर जस्ताले रचना सुनेर आँखा डबडबाई दिंदा, म के गरूँ हँ ? उसको म्वाई खाएँ |

मित्रताको पहिलो खुड्किलो थियो त्यो | कति मतलबी म हँ ?

यसपछि कामबिशेषले मलाई भारत जानु पर्यो | कलकत्ताबाट मैले उसलाई तार गरें, कस्तो छ तिम्रो मुड र फुर्सत भनेर उसले जवाफ दियो – कालिम्पोंग सिन्डिकेटमा स्वागत गर्छु | प्रतिष्ठाको कति भोको म रहेछु भन्ने त्यहाँ चाल पाएँ | सिन्डिकेटको अर्थ मैले ठुलो समारोह तथा स्वागतको अर्थ मैले माला गुनें | असजिलो रुपमा त्यस भिषण अबश्थाको सामना गर्न म कालिम्पोंग ओर्ले | जसलाई यी शब्दहरुको अर्थ थाहा छ यो ठट्टा उनैमा समर्पित |

कालिम्पोंगको सिन्डिकेट | ६.३० बजे पुग्छु | कालिम्पोंग म झन्डै १४ बर्ष पछी गैरहेछु | कताकता एक-दुइ मोड चिनेको जस्तो लाग्छ | अन्यथा नौलो छु | म आएकै प्लेनमा दिलिप कुमार पनि थियो | त्यसकारण बैगन ड्राइभर तथा अन्य यात्रीको चर्चाको बिषय झन्डै बाटो भरी त्यहि नै रह्यो | बीचमा ड्राइभर संग आत्मियता बढाएर मैले एक बचन लिएँ – केहि गरि मोटर स्ट्यान्डमा लिन कोहि आएन छ भने उसले मलाई पुर्याइदिनेछ अम्बरको घर सम्म | उ मन्जुर भयो |

तर अम्बर तथा श्रीमती गुरुङ पर्खिरहेछन त्यस जाडोमा |

घर पुगें | तोंग्बाले न्यानो स्वागत गर्यो | कुमार भाई ( ईन्द्र कुमार गजमेर) पनि आईपुगे | अनी हाम्रो लामो सेसन चल्यो |

अम्बर भन्थ्यो – उसलाई हार्ट एटक भए पछी घांटी खुलेको त्यो प्रथम दिन थियो | र, दम कमजोर नै थिए |  उ आफ्नो शक्तिको ८० प्रतिशत मात्र थियो | तापनि, ती प्रशस्त थिए उसको प्रतिभा दर्साउन |

त्यस रात उसले मैले रचेको एक गीत सुनायो | मैले पटक्क रुचाईन तथा ठाडै भनिहाले | उसले चित्त दुखायो, शायद मुखमा ठाडै सुन्ने दुस्साहस उसले अझै भोगेको थिएन | म मान्छे असलमा मुर्ख हुँ | कहिलेकाहीं यस्तो ब्लंट भईदिन्छु, त्यसको पाराकाष्ठ हुदैन | तापनि, त्यस दिन मलाई लागेको थियो अम्बर शब्द र रचना भन्दा बढी संगीतको धुनलाई प्राथमिकता दिन्छ | धुनका सन्मानमा उ शब्दलाई भाचिदिन्छ | असलमा शब्द ठोस सोलिड हुन्छन र संगीतले तिनको व्यक्तित्व सल्लक्कै निल्न सक्नु पर्छ – टुक्राएर होइन | टुक्राएपछी शब्द आत्माहिन हुन्छन र संगीत बिधवा बन्छे | गीतलाई एकप्रकारले हामी रसभरी संग दाज्न सक्छौं | रसभरीको चोक्टा बनाएर खानु, रस चुहाउनु मिष्ठान्नसेविको अज्ञानताको बोधक हो | शब्दको हत्या गरे बापत म रन्थनिए |

अम्बरको रचनामा दोषको एक बाहुल्य यहि हो | उ सबभन्दा बढी संगीतज्ञ हो, त्यसपछि चित्रकार, त्यसपछि कबि, त्यसपछि गायक | उसका रचनामा पनि यहि मर्यादा-क्रम हुन्छ | त्यसैले मुड चाहिं उ पकडीहाल्छ | तर कहिलेकाहीं सरलताले उसलाई परित्याग गर्छन | एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतमा मुड सिर्जना गर्ने देन दार्जिलिंग तथा कालिम्पोंगकै बढी छ | काठमाण्डौमा नातिकाजी र अन्य झल्याकझुलुक देखा पर्ने एकदुई व्यक्ति बाहेक हाम्रो संगीतमा नयामोड दिने काम प्रबासी भाई ले नै गरे |

म संग चर्चा हुँदा काठमाण्डौका संगीत-प्रेमीहरु भन्छन दार्जिलिंगका गीतमा रबिन्द्र संगीतको प्रतिध्वनी आउछ, खासगरी अम्बरका रचनामा | आंसिक रुपमा यो सत्य पनि हो कारण बाताबरण र शिक्षाको प्रभाब पर्यो होला | उसमा प्रारम्भिक कालमा तर त्यो यदि भाब पकडीने शैली तिखारिने एक साधन मात्र एक खुड्किलो मात्र भएको छ भने त्यसले हाम्रो संगीतलाई एक अर्कै बिश्व दृष्टिगोचर गर्नेछ | र शायद त्यो प्रक्रिया प्रारम्भ पनि भैसक्यो |

फरमेंटेसनको त्यस कालबाट अम्बर अब पार पनि भैसक्यो ……. हामी दार्जिलिंगमा छौं | होटलमा | दुइ जना मात्र | एकप्रकारले एकान्तबास | हामी संग आबश्यकिय बाजाहरु कोठामै छन् | कुमार भाई आउछन | अम्बर गाउछ | हामी आफैमा मस्त छौं | त्यसपछिको दार्जिलिंग यात्रामा मेरो एक अनौठो अनुभब रह्यो | अनेक मित्र छन् त्यहाँ तर ति राजनीतिका सामु मित्रतालाई समेत नतमस्तक पारी दिन्छन | सानो ठाउँ भएर होला सबले सबको दैनिकी गतिविधिको पूर्ण जानकारीमा चासो राख्ने गरेको | एकार्कोको राजनीति कठ्बार वारिपारी बसेर पनि जोर्नी र कापबाट चियो गर्ने गरेको | राजनीतिलाई ब्यबसाय मात्र मनिदियेर मित्रता एबं साहित्यिक बन्धुत्वलाई अलग्ग राख्न मेरा साथीहरु सफल भए भने त्यो ठाउँ साह्रै रमाइलो स्वर्गमय हुने थियो |

यिनै कारणले हामी कसै कहाँ भेट्न गएनौ, र सकभर कोठामा नै तिन दिन बितायौं | र ति तिन दिन मेरा लागि अविस्मरणीय रहनेछन | अम्बर संग मेरा आत्मसात त्यहीं भयो | एकदिन हामी रोयौं, अर्को दिन हामी नाच्यौं |

फायर प्लेसमा आगो बलिरहेछ | साईड टेबलमा रमको गिलासमा ज्वालाका प्रतिबिम्ब सल्बलाई रहेछन | मधुरो उज्यालोमा हामी दुइ जना आफ्ना जीवनका बिगतको लेखा जोखा गरिरहेछौं | हामी के पो कुरा गर्दैनौ, सफलता, प्रेम, घृणा, साहित्य, रुची, बिबाह, पत्नी, पुत्र, पैसा …..जति कुरा गर्यो उत्तिकै बिबिधता छ दुइको जीबनमा, तर पनि दृष्टिकोणमा क्या समानता | अनुभबहरुको माध्यम, समय र स्थान अलग छन्, तथापि बेदनाको तापक्रम उही | जंगलको दुइ किनारबाट मानौ भित्र पसेर, बाटो बिराई बिराई अकस्मात भेट भएका दुइ बटुवा हौँ हामी | र संक्षेपमा कुरा गर्ने हो भने हाम्रो बार्ता यसप्रकारको थियो –

“अम्बर, तिमीले सिमलको बोट देख्यौ हगी, लटरम्म फुल फुलेको ?” देखेको छुं “

सानै हुरीमा बैसको सपना सिमलको फुल झैं झरी गयो | तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो | “वाह ! मलाई आँखा तरी गयो | साँची नै आँखा तरी गयो | “सानै हुरीमा …अँ .. झरी गयो …. अँ …आँखा तरी गयो   | ठिक, ठिक. ठिक |

त, चोट उही हुनु पर्दैन, व्यक्ति उही हुनु पर्दैन, तापनि जुन सुकै ठाउँमा चोट लागे पनि बगेको रगतको रंग र दर्द र त्यसको मिठो सम्झना उही हुन्छ | कलाकारको घाउको टाटो मष्तिस्कमा हुन्छ, र उ चाहिएको बेला पाप्रो उप्काई त्यसको अनुभूति बाट प्रेरणा पाउछ |

सायद यहि थियो हाम्रो मिलन-स्थल |

त्यहाँ मैले जाने, ज्यादै मन मिले पछी सर्ट हेन्डमा कुरा गर्न सकिदो रहेछ | र नया अनुभबहरु अनुहार नहेरेर पनि टेलिप्याथी बाट व्यक्त गर्ने क्षमता उम्री आउदोरहेछ | यस परिश्थितिमा पुगे पछी जीवनको मुल्य अर्कै हुन् जान्छ | यस्तो अनुभब हुन्छ – मानौ शब्द, बाक्य, भाषा, साहित्य, यी सब अपूर्ण मानवका आफुलाई व्यक्त गर्ने एक क्रूड साधन हुन् | देवताहरु के आपसमा कुरा गर्दा भाषाबाट गर्दा हुन् ? यति कम बार्ता शब्दका मध्यम द्वारा भयो, मानौ हामी बीच झगडा भैसक्यो |

म हिड्दा उसले मोटरको ढोका निर ग्वाम्म अंगालो मार्यो, बस | न हामीले हात मिलायौं न गुड विसेज छर्यों, न फर्किएर नै हेर्यौं | मैले कमसेकम हेरिन | कारण मलाई थाहा थियो उ कस्तो अनुहार लाएर, के सोचेर कसरि बिशेष ढंगबाट पाईला चाल्दै थियो | अनि मलाई विश्वास छ उसले पनि मोटर तिर फर्केर हेरेंन | कारण उ जान्दथ्यो, म कसरि चुरोट सल्काएर के कुरा सोचेर विन्ड-सिल्ड पारी बगिरहेको दृश्यमा चिप्लेर पनि नाचिप्लने प्रयास गरिरहेको थिएँ |

“नाईल नदीमा सिजर बिदा भैसक्यो – उसको नाउ तरंगीत भैसक्यो | क्लियोपेत्राले निश्चय पनि, त्यो दृश्य हेरिन -”  ईतिहास सांक्षी छ यी त्यस बेलाका राजकबीका उद्गार हुन् |

अनि हाम्रो भेट भएको छैन ….|

एकप्रकारले आबश्यकता पनि छैन | कारण उ अब अग्निपरीक्षामा पसिसकेकोछ | हालसालै उसको आमाको मृत्यु भयो | र जस्ले क्यान्सरको पिडाबाट आमा बाबु मरेको देखेको छ, उसलाई थाहा हुनेछ, छोरा यदि कालाकार भयो भने त्यसले के अनुभब गर्नेछ |

सूचना पाएपछी मैले उसलाई यस्तो एक चिट्ठी पठाएँ |

प्रिय अम्बर,

यो चिट्ठी मैले अघि नै पठाउनु पर्ने हो तथापी आज पठाईरहेछु | मलाई थाहा छ गत महिना जुन रुपमा तिमीले बिताउनु पर्यो त्यो साह्रै कष्टप्रद थियो | मेरो पनि पिताको मृत्यु क्यान्सर बाट भएको हो | मेरी आमालाई परित्याग गर्ने पितालाई मैले जीबनमा धेरै पछी मात्र माया गर्न थालें | र, साच्चैं माया त उनलाई क्यान्सरले छोएपछि मात्र उम्र्यो मेरो मनमा | ३ बर्ष उनलाई रोगले सतायो | र, जीवनको अन्तिम तिन महिना मैले बिताएँ | आफ्नै हातले ख्वाएर सेवासुश्रुषा गरेर | र उनले प्रण पनि मेरै काखमा छोडे | त्यस तिन महिनामा मैले बुझेको छु क्यान्सर कत्तिको कष्टप्रद हुदोरहेछ | त्यसकारण, तिम्रो चिट्ठी पाएर आमाको खबर पढ्नासाथ एकक्षणभित्र मैले त्यो अनुभब फेरी दोहोर्याएँ | लागेको थियो, तिमीलाई सान्त्वनाका केहो शब्द लेखुं | तर लेखिन |

त्यसको कारण छ | जुन पिरियड तिम्रो सामु थियो, जुन बेदना, जुन कष्ट र जुन नैराश्यले तिमीलाई घेरेका थिए तिनको अनुभब म सयकडौ माईल टाढा बसेर पनि पाईरहेको थिएँ | र, प्रत्येक क्षण म सोचिरहेथें – यो तिम्रो आत्मालाई खार्ने र तिम्रो सिर्जना शक्तिलाई तिखार्ने एक अबश्यम्भाबी प्रक्रिया हो | यसमा जति मान्छे एक्लिन्छ उ त्यतिनै क्रियटिभ हुन्छ | तिमीले भनेको सम्झे फेरी मनमा अनेक भाबना आईरहेछन तिनलाई मुर्तरुप दिनु छ | लाग्यो मलाई, तिमि यस अग्निपरीक्षाबाट पार भएपछी, तिमीमा एक अर्कै प्रतिभा व्याप्त हुनेछ | एक परिपक्वता, एक बेदनामय सिर्जनब्यथा | यसैको सिम्बोल बाँकी तिम्रो लामो जीबन अघि बढी नै रहनेछ | तत्कालिन ब्यथा त एक गुज्रने फेज मात्र हो यति सम्झे |

पिता र माता कसैको बचिरहदैनन, न तिमि बाच्छौ न म बाच्छु | तर पनि कता कता ति सबै हामीभित्र हाम्रा सन्तान भित्र एक क्रममा बाँचिरहन्छन | तिनको मृत्युको विभीषिकाका माध्यमद्वारा यदि हामीमा सिर्जनाशक्ति बढ्छ भने, मलाई लाग्दछ हामीलाई जन्म दिएर उनीहरुले एक ठुलो उपकार गरेका छन् – आफ्नै लागि, हाम्रै लागि, राष्ट्रकै लागि |

नारायण गोपाल द्वारा माताको मृत्युको समाचार हिजो बिहान मात्र पाएँ | अहिले यो लेखिरहदा तिम्रो चिट्ठी पाएँ | एकफेर आउँ कि भन्ने पनि मैले नसोचेको होइन | तर फेरी तिमीलाई एक्लै रहन दिनु नै उचित ठाने |

तिमिभित्र जो अंश आमाको छ, त्यसैको माध्यमद्वारा आमाले युगानुयुगसम्म सुख र सन्तोष पाइरहनुहुनेछ | रह्यो उहाँको भौतिक शरीर, त्यो पृथ्बी आकाश, बायू, जलको अंश थियो, त्यो तिमीले फ़र्काइदीई हाल्यौ | छोराको कर्तब्य सायद यहि हो पनि र आमालाई रोगको कष्ट त भयो अन्तिम समयमा, तर पनि पति र पुत्रको समक्ष प्रण छाड्न पाउनु पनि उहाँको ठुलो सौभाग्य रहेछ | ईश्वरले गरुन उनको आत्माले शान्ती पाओस |

हामी सबैको सम्झना र यथावत प्यार छ तिमीलाई | ज्यादै दिक्क मानेर ब्याकुल भएका छौं भने केहि दिनलाई यहाँ आऊ | म कहाँ बस, दुख सुखको कुरा बाटौला | तिम्रो मन पनि काममा लाग्ने सम्भावना हुनेछ | आउने निश्चय गर्यौ भने, संकोच अलिकति पनि नमानी, हिडिहाले पनि हुन्छ |

जवाफ पाएको छैन | थाहा छैन उसको चिट्ठी आउँछ वा उ, केहि फरक पर्दैन |

मलाई थाहा छ अब आउने निकट भविष्यमा उसले गरेको रचनामा उसको प्रतिभा तिखारिएर देखिनेछ | एक नया भल आउनेछ जस्ले नदीको किनारालाई नया मोड दिनेछ |

नदीमा भल आउदा उसको पानीमा मलिलो माटो पनि बगेको हुन्छ | त्यहीं माटोमा उर्बराशक्ति हुन्छ | त्यसैमा बालि फस्टाउँछ | हुन् त माटोले स्थान परिबर्तन गरेको हुन्छ र मलाई लाग्छ अम्बरको पनि अब शैलीमा परिबर्तन हुनेछ, तर पनि आत्मबेगले नदीलाई आफ्नो कर्तब्य बिर्साउने छैन |

यहि मेरो लिखित रुपको शुभेच्छा हो | तिमीलाई, अम्बर अब नि तिम्रो उर्बराशाक्तिको प्रतिक्षामा छ |

धरती र अम्बरको मिलन संगीतमय क्षितिजमा हुनेछ | तिम्रो गीत, म अम्बर हुँ तिमि धरती, लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला | अब पुरानी भैसक्यो | नया गीतको आबश्यकता छ | हामीलाई |

( शंकर लामिछानेको प्रतिक्षा सम्भबत उहिल्यै पूरा भयो | अम्बरको उर्बराशक्ति अब त अजम्बरी पनि भैसकेको छ | यसै साता फेरी एकपटक नौलाख तारा हैन जुन अम्बरका रुपमा उदाए | शंकर र अम्बरको मित्रतालाई सलाम गर्दै अम्बरको यो बिम्ब प्रतिबिम्ब साभार गरेका छौं | )

साभार प्रस्तोता :  बसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका     

प्रतिक्रिया