मानवाधिकार चलचित्र महोत्सवमा ‘जोगिमाराका जिउँदाहरु’ देखि ‘रक्ताम्य गह्राहरु’सम्म

इनेप्लिज २०७३ जेठ २८ गते ११:१९ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । चौथो नेपाल मानवाधिकार चलचित्र महोत्सव जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्नुपर्छ भन्ने मान्यता बोकेर बनाएका १३ देशका ३२ चलचित्र देखाइनेछ । नेपालसहित भारत बङ्गलादेश, पाकिस्तान, अमेरिका, इजरायल, इरान, अस्ट्रेलिया, कम्बोडियालगायत देशका चलचित्र छन् ।

महोत्सवमा पाँच नेपालीसहित २५ चलचित्र प्रतिस्पर्धाका लागि उत्रिनेछन् । नेपाली चलचित्रमा मोहन मैनालीको ‘जोगिमाराका जिउँदाहरु’, ध्रुव बस्नेतको ‘रक्ताम्य गह्राहरु’ आदि प्रदर्शन हुनेछन् । आज पहिलो दिन निर्देशक मनोज पण्डितको चलचित्र ‘छायाँ’ पहिलो सार्वजनिक प्रदर्शन गरिनुका साथै ओस्कार अवार्ड विजेता पाकिस्तानी वृत्तचित्र ‘अ गर्ल इन द रिभर’को विशेष प्रदर्शन गरियो ।

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न र सामाजिक परिवर्तनको अभियान चलाउन यस्ता चलचित्र महोत्सवले सघाउ पु-याउने बताउनुभयो ।

आयोजक केन्द्रका अध्यक्ष चिरञ्जीवी कर्ण विआरीले व्यावसायिक चलचित्रले मात्रै मानवअधिकारको आवाज बुलन्द गर्न नसकेको परिप्रेक्ष्यमा वैकल्पिक चलचित्रका रुपमा यस्ताखाले चलचित्र प्रदर्शनमा ल्याएको बताउनुभयो ।

प्रतिक्रिया