भूकम्पपीडितका लागि पर्यटकीय नमुना गाउँ निर्माण

इनेप्लिज २०७३ जेठ २५ गते ७:५८ मा प्रकाशित

bhukampa

भक्तपुर, २५ जेठ । आरपी फाउन्डेसनका अध्यक्ष एवम् भक्तपुर दत्तात्रय निवासी सम्पदा संरक्षणकर्ता रवीन्द्र पुरीले परम्परागत शैलीमा भूकम्प प्रतिरोधी नमुना गाउँ बनाउने घोषणा गर्नुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रका आर्थिक अवस्था अत्यन्तै न्यून भएका भूकम्पपीडितका लागि परम्परागत शैलीमा ३० घर निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गर्नुभएको हो । स्थानीयस्तरमा पाइने ढुङ्गा, माटो र काठको प्रयोग गरेर पर्यटकलाई आकर्षित गर्ने गरी भूकम्प प्रतिरोधी पर्यटकीय नमुना गाउँ निर्माण गरिने पुरीले बताउनुभयो ।

तीस घरसहितकोे नमुना गाउँको ढाँचा सार्वजनिक गर्दै पुरीले भन्नुभयो– “भूकम्पले घर भत्किएका ग्रामीण क्षेत्रको गाउँमा परम्परागत नमुना गाउँ बनाएर हस्तान्तरण गर्छौं, त्यसलाई पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्छौं ।”

उहाँले प्रतिघर रु पाँच लाखका दरले ३० घर निर्माणका लागि फाउन्डेसनले दाता मार्फत रु एक करोड ५० लाख लगानी गर्ने बताउनुभयो । पुरीले भन्नुभयो˗ “दुई तलाको एउटा घर निर्माणका लागि रु १० लाख लाग्छ, रु पाँच लाख हामी जुटाउँछौँ, बाँकी रु पाँच लाखमध्ये रु तीन लाख बराबरको भूकम्पले भत्किएकै घरको ढुङ्गा र काठ पुनः प्रयोग गरिन्छ र नपुग रु दुई लाख सरकारबाट आउने अनुदानबाट जुटाउन सकिन्छ ।”

नेपाल सरकारको भवन विभागबाट मान्यताप्राप्त ढाँचा अनुसार १३औँ शताब्दीमै प्रयोगमा आइसकेको चुकुल, टाइबिम, नसलगायत परम्परागत प्रविधि अपनाएर घर निर्माण गरिने उहाँको भनाइ छ ।

काभ्रेपलाञ्चोक वा सिन्धुपाल्चोकको कुन क्षेत्रमा नमुना गाउँ बनाउने भन्नेबारेमा अध्ययन भइरहेको बताउँदै उहाँले केही दिनभित्रै यसको टुङ्गो लगाएर गाउँको छनोट गरी कामको सुरुआत गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया