रौतहट जिल्ला अस्पतालको सेवाप्रति सेवाग्राहीको

इनेप्लिज २०७३ जेठ २५ गते २:१९ मा प्रकाशित

20160606_145435

रौतहटको जिल्ला अस्पताल गौरको सेवा तथा सुविधाको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्यमा क्रियटिभ ग्रुप अफ नेपाल रौतहटले आयोजना गरेको जिल्ला स्वास्थ्य कार्यालय तथा गौर अस्पतालबाट प्राप्त हुने सुविधा सम्बन्धी सर्वपक्षीय सार्वजनिक सुनुवाइ कार्यक्रममा दर्जनौँ सेवाग्राही तथा स्थानीयले जिल्ला अस्पतालको सेवा तथा सुविधाबारे प्रश्न उठाएका थिए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागी सेवाग्राहीहरुले अस्पतालमा डाक्टर नभएको, डाक्टरले क्लिनिक तथा निजी अस्पतालमा एक्सरे र अन्य जाँचको लागि पठाउने गरेको, सरकारले सिफारिश गरेको औषधिसमेत पाइने नगरेको, कोही विरामी आउने बित्तिकै रिफर गर्ने गरेको, अस्पतालको शौचालय दुर्गन्धित रहेको, नियमविपरीत अस्पतालको कम्पाउन्डभित्र औषधि पसल सञ्चालनमा रहेको, अस्पतालसित कुनै पनि सूचना माग्दा पाउने नगरेको, अस्पतालले दिने खाना झन् रोगी बनाउने किसिमको रहेको, सुत्केरी महिलाले पाउने न्यानो झोला तथा रकम पाउने नगरेको, अस्पतालप्रति मध्यमवर्गको समेत विश्वास घटेको लगायतका आरोप तथा गुनासो हुँदा अस्पतालको तर्फबाट समेत सफाइमा तर्क दिइएको थियो ।

जिल्लाका अन्य विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही, नागरिक समाज तथा सञ्चारकर्मीहरुको ठूलो जमघट रहेको थियो । अस्पतालको सेवा जनताको स्वास्थ्यलाई ध्यानमा राखेर मन जित्ने किसिमले हुनुपर्ने सुझाव दिइएको थियो ।

प्रतिक्रिया