विपस्सना ध्यान बुद्ध दर्शन

इनेप्लिज २०७३ जेठ ११ गते ०:३४ मा प्रकाशित
NWGN_Women's_Day-79
विपस्सना ध्यान (Vipassana Meditation) को बारे चर्चा परिचर्चा धेरै सुनेता पनि यसबाट हुने लाभ भन्दा यो काम गर्न निक्कै गाह्रो हुन्छ भन्ने कुरा मेरो मानसपटलमा बसेको थियो। यस सालको मेरो चाहना ध्यान बारे अनुभव गर्ने रहेकोले नयाँ साल देखि ध्यान बस्ने अभ्यास गरे l नर्देन क्यालोफोर्निया बिपस्सना सेन्टरमा पुगे। ध्यान बस्ने बाताबरणमा १० दिन; दिनको १० घण्टा शिविरको अनुसाशनलाई पालना गरेर बिपस्सना ध्यान गरे, जुन काम मेरो जीवनको एक महत्वपूर्ण कामको रुपमा बुझ्दछु।
 
बिपस्सना ध्यान के रहेछ ? यसको अभ्यास र यसबाट हुने लाभको बारे मैले शिविरमा गरेको केहि अभ्याश र सुनेको प्रबचनको आधारमा बुझेको कुरा यहाँ बाड्दैछु। मानवलाई दुखबाट मुक्त गर्ने बिद्या बिपस्सना ध्यान; जुन बिद्या आज भन्दा २५०० वर्ष पहिला सिद्धार्थ गौतमले मानवलाई दुखबाट मुक्त गर्ने मार्गदर्शनको खोजीमा कठोर ध्यान बसेर आफ्नो साढे तीन हातको शरीरमा भएको सम्बेदनाको अनुभूतिबाट सत्यताको बोधले निर्माण प्राप्त गरि संसारिक दुखबाट उहाँ मूक्त भए र गौतम बुद्ध बने । 
 
भगवान गौतम बुद्धले देखाउँनु भएको दुखबाट मुक्तिको मार्गदर्शन रहेछ बिपस्सना ध्यान भन्ने बुझे। मनलाई एकात्रित गरि आफ्नो शरीरमा भैरहेको सम्बेदनालाई अनुभूतिको स्तरमा जान्नु र त्यहिँ सम्बेदनाहरुको माध्यमले आफु भित्र भएको बिकारलाई फालेर चित्तलाई सफा गर्ने ज्ञान (टेक्निक) नै बिपस्सना ध्यानको अर्थ बुझे। 
 
हाम्रो मन गाउँमा घुसेको बौलाहा हात्ती जस्तै हो यदि त्यो हात्तीलाई वशमा राख्न सक्यो भने त्यसले हाम्रो भलाईको लागि काम गर्छ नत्र बिगार्छ त्यस्तै मनलाई वशमा राखेर हाम्रो भलाईको लागि काम गराउँने टेक्निक साधना रहेछ बिपस्सना ध्यान भन्ने बुझे  
 
बर्माले जोगाई रहेको यो पुरानो बिद्याको लाभ सबै मानवले लिन सकुन भन्ने उदेश्यले अहिले बिपस्सना ध्यान सेन्टर संसारका धेरै देशहरुमा स्थापित छन्। शिविरमा शुद्ध  स्वास्थ्यबर्द्धक खानाको अति राम्रो व्यवस्था  गरि मनलाई एकत्रित बनाउँने खालको बाताबरण मिलाउँन मन भड्किने खालको कृयाकलापहरु जस्तै, बोल्न, आँखा जुध्न, शरिर जुध्न वा कुनै पनि प्राबिधिक साधन प्रयोग गर्न बन्देज गरि मनलाई आफ्नो शरिरिमा भैरहेको सम्बेदनामा ध्यान केन्द्रित गर्न लगाउछ। 
 
महिला पुरुष अलग राख्ने व्यवस्था छ। बिहान ४ बजे उठ्ने घन्टी बजेपछि ४:३० देखि ६:३० सम्म ध्यान बस्ने; बिहानको खाजा तथा आराम गरि फेरी ८ बजे देखि ११ बजे सम्म ध्यानको समय अनि खानाको साथै आरामको समय; दिउँसो १ बजेको घन्टी सँगै ५ बजे सम्म फेरी ध्यान बस्ने चियाको बिश्राम पछि ६ देखि ९ बजे सम्म ध्यान र धर्म प्रबचन हुन्छ। 
 
दिनभरि गरेको कामको अर्थ बुझाउँनुको साथै मनलाई एकत्रित गर्ने ज्ञानको प्रत्येक बेलुकी एस. एन. गोएङ्काद्वारा धर्म प्रबचन हुन्छ। यो प्रबचनलाई स्थानीय भाषीहरुले स्क्रिनमा हेर्छन भने अन्य भाषीहरुले आ-आफ्नै मातृभाषामा सुन्नु पर्ने प्राबधान र व्यवस्था रहेछ । १० औ दिनको बिहान १० बजे दखि बोल्न पाउँने भएकोले सबै साधकहरु एक अर्कासँग मनको कुरा साट्दै अति खुशी मुडमा हुन्छन। 
 
११ औ दिनमा बिहानको ध्यान पछि खाजा खाईन्छ र सबै जनाले आ-आफूले लिएको सरसफाईको कामको जिम्मेवारी बडो खुशीले गर्छन। ध्यान केन्द्रहरु सबै निशुल्क हुन् आफुलाई राम्रो लागेको कुरा अरुले पनि पाउन सकोस भन्ने मन जाग्नु आफैमा राम्रो कुरा भएकोले मन भएकाहरुले चन्दा दिन्छन केन्द्रमा पुगेर सेवा गर्दो रहेछ्न। यसरि सेवाको भावनाले बिपस्सना केन्द्रहरु चल्दोरहेछ जसले हरेक मानिसले भगवान गौतम बुद्धले देखाईराख्नु भएको दुखबाट मुक्ति हुने मार्गदर्शनमा हिड्ने तरिकाको अभ्यास बिपस्सना ध्यान केन्द्रमा गर्न सक्दोरहेछ। 
 
एस. एन. गोएङ्का भन्नुहुन्छ- १० दिनको बिपस्सना ध्यान भनेको मुक्तिको लामो बाटोमा कसरि हिड्ने भन्ने सानो अभ्यास मात्र हो, यस अभ्यासलाई प्रत्येक दिन बिहान र बेलुकी एक एक घण्टा गर्नैपर्छ र बर्षको एक चोटि केन्द्रमा गएर अभ्यास गर्दा बाटो छिटो काटिन्छ। उहाँको भनाई अनुसार धर्म भनेको कर्मकाण्डा गर्नु होईन धारणा गर्नु हो। जस्तै धर्मको नाममा बर्त बसेर, चिन्तनमनन गरेर, शास्त्र पढेर, बोलेर वा नामको लागि दान दिएर धर्म हुदैन। 
 
धर्मको सहि अर्थ बुझ्न प्राकृतिक नियमलाई बुझ्न पर्छ र त्यसलाई आफ्नो जीवनमा पालना गर्नुपर्छ। भगवान गौतम बुद्धको तिन बिशेष घट्ना जन्म, ज्ञान प्राप्त र मृतु सबै आकाशमुनि बाहिर प्रकृतिमा नै भयो। जसरि उहाँले बिपस्सना ध्यानले आफ्नो भित्रि चित्त सम्म पुगेर दोष रागको भावनालाई मेटाएर त्यसमा करुणा प्रेम र मैत्रीको भावनाले भरेर बुद्ध बने। उहाँले हिड्नु भएको बिपस्सना ध्यानको बाटो हामीले पनि सहि ढंगले प्रकृतिको नियमलाई बुझेर पालना गरेर हिड्न सक्यौ भने त्यहिँ बुद्ध दर्शन हो। जसले जीवन जिउँने र मर्ने शैली राम्रोसँग जान्दछ र अनन्त हुन्छ। यी सबै भनाई गोएङ्कको प्रबचन र मेरो केहि ध्यान अभ्यासबाट मरो बुद्धिको स्तरले बुझेको कुराहरु हुन्। 

प्रतिक्रिया