सन्दर्भ : बुद्द जयन्ती

इनेप्लिज २०७३ जेठ ८ गते १३:१४ मा प्रकाशित

image1

अझै आतंक छ आँगन वरिपरी ,
सुकेका छैनन रगतका टाटाहरु ,
सुनिएका छैनन नेपथ्यमा अझै पनि सन्नाटाहरु ,
हुने खानेहरु लुटिरहेकै त छन ,
हुँदा खानेहरु फुटिरहेकै छन ,दुखिरहेकै छन

यहाँ ज्यानमाराहरु खुलेयाम न्यायको खिल्ली उडाइरहेछन ,
भ्रस्टहरु बडेमानको माला पहिरेर जेल छुट्छन ,
मान्छे उनै तर नयाँ टोपी बदल्दै लुटेकै छन ,
लोकमानहरु हेरेको हेर्यै छन् ,
आफै बिवादित छन्,
हेर्ने हरु केवल मुकदर्शक बन्छन ,
सबै मान्छे उस्तै दुरुस्तै देखेपछि,
अनि के को शुभकामना दिनु ?

भनसुनको मनसून चलेकै छ ,
दिन ,महिना , वर्ष सबै फेरिने नै भए ,
तर पनि ,
उही काला मान्छेहरुकै हाली मुहाली छ
मानेले नाम फेरेर माइकल बनाएर के भो ,
मानोको लागि मलेशिया नगई पुगेकै छैन,
अनि भत्केको छानु हाल्न ,
हतारमा कतार नगई भएकै छैन ,
बारम्बार हाड छाला घिसिएको बेला ,
मान्छेको रगतमा पसिना मिसिएको बेला,
स्वाभिमान अभिमानले पिसिएको बेला ,
खोइ के को शुभकामना दिनु !

बम ,बारुद ,गोली , बेईमानी र क्रुरता फस्टाएकै छ ,
बुद्दको लिलामी अनि बुद्दुहरुको सलामी चलिरहेको बेला ,
हिजो बुद्दको मूर्ति फोडेर बुद्दत्व दुत्कार्नेहरु
मालिक बनेको बेला,
अनि आफ्नै बुद्धत्व जलिरहेको बेला ,
खोइ के को शुभकामना दिनु !!

प्रतिक्रिया