समाजमा अझै विभेदको राजनितीमा परिवर्तन आएको पाईएन-प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ जेठ ५ गते २१:१३ मा प्रकाशित

prakash

राजनिती समाज परिवर्तनको प्रमुख आधार हो तर राजनितीलाई गलत उपयोग गरिएमा समाजमा विभिन्न किसिमका अनुचित घटनाहरु, विभेदहरु, दंगाहरु पनि देखा पर्ने हुन्छन् । नेपालमा विगतका राजनितीक विकसित घटनाक्रमलाई हेर्ने हो भने यसले समाज, समुदायमा पारेको नकारात्मक प्रभावहरु निकै रहेको पाईन्छ । २०४६/४७ सालको परिवर्तन पछिका दिन देखि आज सम्मका दिनहरुलाई मात्र पनि हेर्ने हो भने राजनितीले समाजमा के कस्तो उथलपुथल ल्याएको छ र ल्याउने क्रम जारी छ त्यो जो कोहीले सहजै अनुमान गर्न सकिन्छ । जव नेपालमा बहुदलीय प्रजातन्त्र आयो, तव गाउँघर देखि शहर बजार जताततै राजनितिक पार्टीहरुको चहलपहल एकदमै बढ्यो । पार्टीहरुका आमसभाहरु जताततै हुन थाले । गाउँघर देखि शहरबजारमा पार्टीहरुको कार्यकर्ता बनाउन, पार्टी सदस्यया वितरण गर्न सबै पार्टीहरु निकै जोडतोडका साथ लागी परे । आ-आफ्ना पहुँच र प्रभावहरु अनुसार विभिन्न तरिका अपनाएर पार्टी सदस्यता सर्वसाधारण जनताहरुलाई बाँड्ने काम भयो । कम्युनिस्ट र काँग्रेसहरु संगठन विस्तारमा निकै खटेर लागे । त्यसको साथै राजावादीहरुले पनि नयाँ पार्टीहरु स्थापना गरेर पुर्व पञ्चहरुलाई संगठित गर्न थाले ।

बहुदल आएपछि २/४ बर्ष सम्म स्कुल देखि गाउँ टोल वस्ती सम्म राजनितीले निकै गाज्यो । यति सम्म की स्कुलहरु तथा कलेजहरुमा विद्यार्थीहरु वीचमा राजनैतिक पार्टीहरुको भातृसंगठनहरुको प्रभावले विद्यार्थीहरु वीच हरेक गतिविधीमा राजनितीक कित्ताकाट प्रवृती हावी भयो । कलेजहरुमा विद्यार्थी भर्ना, छात्रवास सुविधा, नि:शुल्क छात्रवृतीहरुमा समेत विद्यार्थी राजनैतिक संगठनको प्रभाव निकै पर्यो । स्कुलको व्यवस्थापन समिती गठन देखि हरेक गतिविधीमा राजनितीक दाउँपेचबाटै गतिविधीहरु निर्देशित भए । कलेजहरुका प्रशासनिक एकाईहरु विद्यार्थी संगठनहरुको ईशाराबाट संचालित हुन बाध्य भए प्राध्यापक, कर्मचारीहरु समेत विद्यार्थी नेताहरुको गोटी बन्न थाले फलस्वरूप पढाईका गतिविधी सुचारू हुनु भन्दा राजनैतिक कार्यक्रमहरुको बोलवाला बढि रह्यो ।

स्वतन्त विद्यार्थी यूनियनको नाममा विश्वविद्यालय, कलेजहरु राजनितिक अखडा बन्यो । राजनैतिक दलहरु आफ्नो बर्चस्व विश्वविद्यालय, कलेजहरुमा पार्नको लागी जस्तोसुकै वैध, अवैध टिक्डम अपनाउन पछि परेनन् । कतिपय नाम चलेका कलेजहरुका छात्रवासहरुमा स्व.वि.यु. को छत्रछहारीमा घरेलु हतियारहरु भण्डारण गरेर राख्ने काम पनि गरेको भेटियो । खासगरि भैपरि आउँदा विपक्षी विद्यार्थी राजनैतिक संगठनका विरुद्ध लड्नको लागी र विशेषगरि स्व.वि.यु. चुनाव आफ्नो पक्षमा पार्न त्यस्ता घरलु हतियार भाला, खुकुरी, तरवारहरु प्रयोग गर्ने काम पनि भए । अझै पनि कतिपय कलेजहरुमा विद्यार्थी वीच हुने झडपमा यस्ता हतियार सहित विद्यार्थीहरु आपसमा लडेका खवरहरु सुन्नमा पाईन्छ ।

अझै गहकिलो विषय त त्यतीवेला गाउँघरमा विवाह, व्रतबन्ध लगायतका कामहरुमा समेत राजनितिक प्रभाव देखिन्थ्यो । कुनै केटाकेटीहरुको विवाह गर्नु पर्यो भने कुन पार्टीको केटा र केटी हो, समान राजनैतिक पार्टी हो की हैन भनि हेर्ने गरिन्थ्यो र राजनैतिक पार्टी मिलाएर मात्र विवाह गर्ने चलन केही बर्ष चलिरह्यो । यस्ता विवाह, व्रतबन्ध, धार्मिक कार्यक्रमका निमन्त्रणाको प्राथमिकतामा समेत राजनैतिक पार्टीको आधारहरुले महत्व पाउने गर्दथे अर्थात् कसलाई निम्ता गर्ने-नगर्ने सम्बन्धमा पनि राजनितिक विषयवस्तु पहिलो प्राथामिकतामा आउने गर्दथ्यो । मर्दा-पर्दा सबैतिर राजनैतिक पार्टीलाई अगाडी सार्ने चलननै बसेको थियो । दोकानबाट सरसामान किन्दा देखि चियापसलमा चिया पिउँदा समेत राजनैतिक पार्टीको रंगनै अगाडी तेर्सिने गर्थ्यो । रमाईलो कुरा त एउटै परिवारमा राजनैतिक आस्था नमिलेका कारण भाईहरु आपसमा छुट्टाविन्दा/अंशवण्डा गर्ने र बोलचाल समेत बन्द गर्ने समेत देखियो ।

त्यस्तै बाबु-आमाको काजक्रिया समेत छुट्टा-छुट्टै बस्ने, मेलापाता-पर्म, ऐचो-पैचोमा समेत राजनैतिक कारणले प्रभाव पारेको थियो । स्कुलहरु, बोर्डिंगहरु, कलेजहरुलाई समेत फलानो पार्टीको भनेर चिनाउने र पढ्ने-पढाउने कुरामा पनि विद्यार्थी भर्ना र शिक्षक-प्राध्यापकहरुको भर्ना , सरुवा-बढुवामा समेत राजनिती हावी हुने गरेको थियो । त्यस्तै घर-घरमा आफ्नो आस्था भएको पार्टीको झण्डा गाड्ने, युवाहरुले पार्टीको झण्डा अंकित टि-सर्ट, क्यापहरु लगाएर हिड्ने, आपसमा भेट हुँदा नमस्कारको सट्टा जयनेपाल र लालसलाम, अभिवादन जस्ता शव्दहरुबाट संवोधन गर्ने प्रचलन थियो ।
सामान्य खेतवारीको आठोसाँधमा, कुलो-नहरबाट पानी लगाउने क्रममा पधेरोमा पानी थाप्ने क्रममा समेत राजनितिक कारण आपसमा झै-झगडा हुने र समुदायमा जान्ने सुन्ने हुँ भन्नेबाट आपसमा समझदारी गराउने क्रममा पनि राजनितिक आस्थाको आधारमा न्याय दिने काम प्रभावित हुने गर्थ्यो । सामुदायिक बनको व्यवस्थापन समिती बनाउने क्रममा होस् या स्वास्थ्यचौकी, खानेपानी, बाटोघाटो, स्कुल आदीको व्यवस्थापन समिती देखि विभिन्न समिती बनाउँदा समेत राजनितिक भागबण्डा लगाउने चलन चलेको थियो ।

२०६२/६३ सालको परिवर्तन पछि वर्तमान समय सम्म आईसक्दा पनि विभिन्न सामाजिक कार्यहरु सम्पादन गर्ने क्रममा यस्ता राजनैतिक प्रभाव नदेखिएका हैनन् तापनि वहुदल आएपछि लगत्तै केही बर्ष सम्म निकै राजनैतिक प्रभाव सर्वत्र देखिएतापनि त्यतिवेलाको भन्दा आजकल कम देखिएको महशुष गरिन्छ । आजकल राज्यले विकास निर्माणमा सांसद विकास कोष लगायतका कार्यक्रम मार्फत विकास बजेट विनियोजन गर्ने प्रचलनले भने बढीनै राजनैतिक चलखेल र आफ्ना कार्यकर्तालाई एउटा-एउटा आयोजना सुम्पेर अलि-अलि लोकलाई लाज ढाक्ने गरि काम गर्ने र बाँकी मिलेर खाने चलन भने अत्याधिक मात्रामा चलिरहेको छ ।

नेताहरुले जतिसुकै मिठा र लोकप्रिय भाषण गरेपनि वास्तविक फिल्डमा खासै काम भएको पनि देखिदैन र भए गरेका विकास निर्माणका आयोजनाहरुको गुणस्तरियता पनि देखिदैन । आर्थिक बर्ष समाप्ति हुनै लाग्दा विकासे कामका गतिविधी बढे जस्तो देखिन्छ र कागज मिलाएर नेताहरु र कार्यकर्ताहरुको गोजी भर्ने काम बढिरहेको हुन्छ । सस्तो लोकप्रियताका भाषण गर्दै हिड्ने नेता र तिनैको बोलीमा हाँ मा हाँ मिलाउने भतुवा कार्यकर्ताहरुको कारण सर्वसाधरण जनताको नाममा रातारात मालामाल हुने गिरोह गाउँघर देखि शहर बजार सम्म बढिरहेको छ । जस्तोसुकै अार्थिक अनियमितता र अपराध गरेकोलाई समेत राजनैतिक संरक्षण दिने प्रवृती देखि भ्रस्टचारले गनाएका नालीका किरा समेतलाई उच्च पदमा पुर्याउने राजनैतिक कार्यकर्ताहरु र सपना देखाएर जनतालाई रनभुल पार्ने चेपारे नेताहरुको विगविगी नेपालमा ह्वात्तै बढेको छ जुन अतिनै चिन्ताजनक विषय हो ।

गरिव जनताहरु बाँस, गाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी नपाएर रातदिन अभावमा पिल्सिएर बाँचेका छन् । अझै एक बर्ष पुरा हुँदा समेत भुकम्प पिडितको आवास र गाँसको उचित व्यवस्था हुन सकेको छैन, पिडित समक्ष आवस्यक तथ्यांक संकलन गर्न जाने राज्य पक्षका कर्मचारी-प्राविधिकहरु राजनैतिक संगठनको दवावबाट निर्देशित भएर उचित यथार्थ तथ्यांक संकलन गर्नु भन्दा पनि पृथक किसिमले क्रियाशिल रहेको खवरहरु मिडियाहरुमा आएका छन्, देशका जिम्मेवार कार्यकारी प्रमुख दिनदिनै नयाँ नयाँ योजना सुनाउनमै व्यस्त छन्, जनताको आधारभुत समस्याहरुलाई समाधान गर्न नसकिरहेको वेला पिडाहरुमा मलम लगाउनुको सट्टा झन नुनचुक छर्ने गरि काम सरकारी निकाय, कर्मचारीतन्त्रबाट भईरहेको देखिनु, छिमेकी राष्ट्रहरु वीचमै आपसमा लडाउने तल्लिन राजनितिक पार्टीहरुको गतिविधी बढ्दै जानु, जातिय एवं धार्मिक विषयलाई आधार बनाई राजनैतिक आन्दोलन चर्किनु, सबै राजनैतिक दलहरुले आफुले गरेको भन्दा अरुले गरेको काम राम्रो हुनै नसक्ने गलत मानसिकता प्रदर्शित गर्नु, राज्यका हरेक गतिविधीमा राजनिती हावी हुनु जस्ता तमाम कुराहरु नेपाली आमजनताको आर्थिक उन्नती र सामाजिक हित विपरित छन् । यसलाई समयैमा सुधार गर्न नसके नेपाल अझै निकै पछाडी पर्ने र विदेशीहरुको परनिर्भरता एवं वैदेशिक पलायनवादमा वृद्धि आउने देखिन्छ ।

सरकार र राज्यले केवल सपना बाँड्ने मात्र हैन ती बाँडेको सपना पुरा हुने औचित्य सहित कार्यान्वयनमा पनि लाग्नु पर्छ । केवल आगामी चुनावलाई केन्द्रविन्दुमा राखेर तत्कालै पुरा हुन नसक्ने हावादारी सपना बाँड्नु उपयुक्त हुँदैन । सपना देख्नु नराम्रो हैन तर वास्तविक यथार्थता र तत्कालको समस्या समाधान गर्न तत्परता देखाउनु आवस्यक छ साथै हुन सक्ने कामको मात्र सपना देख्ने बानीको विकास हुनु जरुरी छ । विकशित देशहरुले मंहलग्रहमा वस्ती बसाल्ने सपना देख्नु स्वाभाविक हो किनकी उनीहरुले गर्नु पर्ने विकास गरिसके अव गर्नु पर्ने प्राथमिकतामा त्यही परेर त्यतातिर लागे होलान् तर हाम्रो जस्तो अल्प विकसित देशमा सामान्य बाटोघाटो, झोलुंगे पुलको व्यवस्था, सिंचाईको लागी कुलो, नहरको व्यवस्था हुन सकेको छैन, दुरदराजमा अझै कृषि सडक, स्कुलहरु, स्वास्थ्य चौकी, खानेपानी, सरसफाईको सुविधा लगायतका सामाजिक सेवा पुग्न सकेको छैन ।

परम्परागत कृषि प्रणाली आधुनिक कृषि प्रणालीमा रुपान्तरित भएर वेरोजगारीको समाधानमा भुमिका खेल्न सकेको छैन, प्रतिव्यक्ती आय र राष्ट्रिय उत्पादन वृद्धिदर बढ्न सकेको छैन, आर्थिक, सामाजिक, मानविय परिसुचकहरु सन्तोषजनक छैन, देश विश्वमै भ्रस्टचार हुने मुलुकमा माथी सिढी चढिरहेको अवस्था छ, शान्ती-सुरक्षा दिनप्रतिदिन कमजोर बनिरहेको छ, वेरोजगारीको समस्या बढिरहेको छ, यी र यस्तै अनेकन समस्यालाई राज्यले पहिले समाधान गर्न तर्फ तड्कारो रुपमा लाग्नु पर्ने देखिन्छ । यसरी हेर्दा राजनैतिक पार्टीहरु र सरकार कहिकतै जिम्मेवार भएर लागेको देखिदैन केवल भाषण र कागजमा जनताको जिवनस्तर उकासिएको छ तर समस्या जस्ताको त्यस्तै बर्षौ देखि रहँदै आएका छन् । यस्तो विकराल परिस्थितीमा केवल सत्ता र भत्तामा ध्यान केन्द्रित गरि आपसमा राजनैतिक विवाद चर्काउनु र विभेदकारी गतिविधी संचालन गर्नु नेपाल र नेपाली जनतको हित विपरित हुन जान्छ । तसर्थ सम्पुर्ण राजनैतिक पार्टीहरु दलगत स्वार्थबाट माथी उठेर आपसमा मिलेर आवधिक योजनाहरुलाई अक्षरस कार्यान्वयन गरि जनहितका लाग्नु जरुरी छ । केवल विरोध र ध्वंशको राजनिती गरेर देशलाई कम्बोडिया, सिरिया र सोमलिया बनाउन तर्फ लाग्नु दुर्भाग्य सिवाय केही हुन सक्दैन ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया