कठै मेरो देश !

इनेप्लिज २०७३ जेठ ५ गते २१:०१ मा प्रकाशित

 

image1

हावा हैन तर ,
दिनदिनै उडिरहेको छ,
पानी हैन तर…
छिन छिनमै बगिरहेको छ,
यहाँ उडाउनेहरु ,घरमै छन,
यहाँ बगाउनेहरु,घरमै छन्
त्यसैले त बेजोडले,
उडिरहेछ मेरो देश,
घस्सिएर , खिईएर,दर्फरिएर
गुडिरहेको छ मेरो देश ,
कठै मेरो देश !
….. ……. ……….
कहिले ,
सिंगापुर बन्न खोज्छ,
कहिले,
स्वीटजरल्यान्ड बन्न खोज्छ,
अमेरिका, अष्ट्रेलिया बन्न खोज्छ,
कसैको पट्यारलाग्दो त,
कसैको पत्यारलाग्दो बकपत्रमा,
तर यहिँ,
मान्छे सिटामोल नपाएर मर्छ,
जीवनजल नपाएर मर्छ,
भोकले मर्छ,
जाडोले मर्छ,
कहिले हुल दंगाले मर्छ,
जमाना देखि सिमाना सम्म,
च्यातिदै , मेटिदै छ , रेटिदै छ,
कठै मेरो देश !
…… …….. ……..

घरभित्रै परिचय छैन यहाँ,
जग हल्लिरहेको छ,
तर भित्ता भागवन्डाको कलह छ,
जग्गाकै पहिचान हराईरहँदा,
लालपुर्जामा खोसाखोस छ,
बोल्नेहरुले बोलिरहेछन्,
पोल्नेहरु पोलिरहेछन्,
मानौ बोल्ला र पोलौँला भनेर,
आगो लिएर बस्नेहरु छन्,
आगोमा घ्यू थप्नेहरु छन्,
कहिले आगोले डढ्छ,
कहिले पानीले बगाउँछ,
कठै मेरो देश !
…… ……… …………
देश च्यात्नेहरु यहिँ छन्,
लुट्नेहरु यहिँ छन्,
बचाउने हातहरु कमजोर छन्,
आवाजहरु मन्द छन्,
दिउसै रात पार्नेहरु,
लगातार सूर्य छेकिरहेछन्,
पर्दा बन्द गर्दैछन्,
भागबन्डा मिल्दा सबै मिल्छन्,
नमिल्दा बवन्डर गर्छन्,
आफ्नै आमाको छाती चिथोर्न,
आफ्नै बा को जेथा निचोर्न,
अहोरात्र खटिरहेछन्,
जुटिरहेछन्…
बिहान देखेको गुमाने,
धर्म परिवर्तन गर्छ,
साँझ माईकल बन्छ,
अर्को दिन लिंग परिवर्तन गर्छ,
अनि आफ्नै बंश धिक्कार्छ,
दुत्कार्छ आफ्नै ईतिहाँस,
खै ! न उठ्छ,न थचारिन्छ !
दिन दिनै बजारिन्छ,
उस्तै छ, दुरुस्तै छ !
कठै मेरो देश !
कठै मेरो देश !
– शिकागो

                                      image1

प्रतिक्रिया