विदेशीभुमिमा पनि नेपाली संस्कार अपनाईन्छ – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ वैशाख २९ गते १३:१७ मा प्रकाशित

prakash 1

मान्छेले भन्ने गर्छन् भाषा, संस्कार, रहनसहन, मुल्य, मान्यता,आचरणलाई अनुसरण गर्न कुनै भुगोल र सिमाले छेक्दैन । सात समुन्द्रपारी पनि आफ्नो कला, संस्कृती, परम्परा कायम राख्न सकिन्छ । हामीलाई थाहाँ छ नेपाली जहाँ-जहाँ पुग्छन् , त्यहाँ-त्यहाँ अर्थात् विदेशमा समेत केही संख्यामा बसोबास गर्ने, जागिरमा संलग्न रहने भए भने समुहमा मिलेर आफ्ना चाडवाड, पर्वहरु मनाउने गर्छन् । विशेषगरी विशेष उत्सव, पर्वमा(नयाँ बर्ष, दशै-तिहार, ल्होसार, फागुपुर्णिमा, माघे संक्रान्ति, चैते दशै आदी विशेष पर्वहरुमा) सांस्कृतिक कार्यक्रमको आयोजना समेत खाडी मुलुक देखि बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया, स्पेन, अमेरिका, ईजरायल आदी मुलुकहरुमा भव्यताको साथ मनाउन नेपालबाट कलाकारहरु मगाउने त्यस्तै ती मुलुकहरुमा कार्यरत स्थानिय नेपाली कलाकारहरुलाई समेत सहभागी गराएर रमाईलो सांगेतिक कार्यक्रम समेत गरि आपसमा आत्मियता, सद्भाव र पारस्परिक विश्वासको मार्ग प्रशस्त गर्दछन् । पक्कै पनि यस्तो कार्य सराहनीय हुने गर्दछ ।

भुगोलबाट टाढा रहेर पनि आफ्ना व्यवहारिक जीवनमा गरिने संस्कारगत कार्यहरु जस्तै, वर्तवन्ध, नेवारी संस्कारमा गरिने वेलविवाह, गुफा(ओभा राख्ने )राख्ने, वैवाहिक कार्यक्रम, अन्य पुजापाठ, स्वास्थानीको सांगेता सम्बन्धी काम, भजन-कीर्तन लगायत धार्मिक आस्थाका आधारमा गरिने गतिविधीहरु समेत आफ्नै परम्परागत रुपमा सम्पादन गर्न पाउनु पक्कै पनि आफ्नो जन्मभुमिबाट टाढा रहेर पनि खुशी हुनुपर्ने महत्वपुर्ण पक्ष हुन आउँछ । यस्तै किसिमको ताजा घटनाको बारे केही चर्चा गर्न खोजिएको छ जसले एक किसिमको संदेश दिन खोजेको छ जस्तो की ईच्छा र चाहना हुने हो भनि परम्परागत संस्कारलाई विदेशमा समेत अनुसरण गर्न सकिने एवं नेपाली समुदायको सनातन देखि चलि आएको मुल्यमान्यतालाई अद्यावधिकरुपमा जीवन्त राख्न सकिने हुन्छ भन्ने संदेश दिन सक्ने छ ।

अस्ति भर्खरैको कुरा हो, विहान करिव ९.३० बजेको थियो भित्तामा टाँगिएको घडी र मोवाईल स्क्रिनमा देखाउने घडीमा त्यतीनै बेला मेरो गाउँको अत्यान्त सहयोगी आत्मिय भाईले एक्कासी फोन गरेर भने दाई आज विवाहको कार्यक्रममा जाने होईन? म त घरबाट निस्किसकेको छु तपाई पनि जाने भए म पनि त्यतातिर आएर तपाईलाई पिकअप गरौला । म त्यतीवेला विवाहको उक्त कार्यक्रममा जाने कुनै पुर्वसोच र योजनामा थिईन, हुनत: मलाई पनि सपरिवार चुले निम्ताको निमन्त्रण कार्ड २-३ हप्ता पहिला देखिनै आएको भने थियो तर विवाहको मुख्य कार्यक्रम/समारोह आयोजना गरिने जानाकारी गराईएको मेरिल्याण्डकै एक चिरपरिचित नाम चलेको मन्दिरमा जाने मनस्थिती बनेको थिएन । अर्को दिन आयोजना गरिएको भोजभतेर(पार्टी) मा सहभागी भएर बरबधुलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिने सोचमा थिए ।
यसरी एक्कासी अनेपेक्षितरुपमा आएको फोनले मलाई पनि त्यो वैवाहिक समारोहमा सरिक हुने मन पलायो र मैले हुन्छ तिमी आउँ म सामान्य तयारी भएर बस्छु भने । प्रायजसो १-२ हप्ताको अन्तरालमा ती मेरो आत्मिय भाईसँग फोनमा दु:ख-सुखका कुराकानी भईनै रहन्छन् मलाई उनी आफ्नै भाई जस्तो लाग्छ र उनीसँग मनका कुराहरु विनासंकोच साटासाट पनि गर्छु तर यो हप्ता भने उनीसँग कुराकानी भएको थिएन र यो विवाहमा जाने सम्बन्धी कुनै सरसल्लाह थिएन । यसरी एक्कासी हाम्रो कुराकानी भयो र केही वेरमै उनी मेरो अपार्टमेन्टमा आईपुगे र हामी कार्यक्रम स्थल तिर लागियो । करिव आधा घण्टामा हाईवेबाट पुगिने उक्त स्थलमा जाने क्रममा बाटोमा विशेषगरि गाउँघरको समाजको कुराकानी, अमेरिकी व्यस्त जीवन र दैनिक जीवनयापनको कुराहरु साथै बालबच्चाहरुको पठनपाठन एवं उनीहरुको भविष्य बारेमा गहन कुराकानी गर्दै अगाडी बढियो र करिव १०.३० मा वैवाहिक कार्यक्रम आयोजना गरिएको समारोह हलमा पुगियो ।

उक्त समयमा विवाह मण्डपमा पुजापाठका लागी सजाउनु पर्ने सामाग्रीहरु व्यवस्थितरुपमा सजाएर पुजापाठको लागी तयारीको कामहरु भईरहेको थियो भने करिव आधा जति हलमा भरिने गरि आगन्तुकहरुको जमघट भईसकेको थियो । माईती पक्षका अन्य निम्तालुहरुको उपस्थिती हुने क्रम चलिरहेको थियो यसै बीचमा कलात्मक तरिकाबाट सजाईएका विवाह मण्डपमा बेहुलीलाई नेपाली परम्परागत शैली गरगहना, पोशाकमा सजाएर राखिएको थियो त्यतीवेला पुजापाठको कार्यलाई संचालन गर्ने पण्डितको पनि उपस्थिती भएको थियो ।
यो विवाह नेवार केटा र केटी वीच हुन लागेकोले शायद पण्डित पनि नेवार पण्डितनै भए जस्तो लाग्थ्यो किनकी वीच-वीचमा नेवारी कल्चर अनुसारको रितीरिवाजका बारे पनि बताईरहेका थिए । कतै-कतै अंग्रेजी शव्दहरु पनि नेपाली वाक्यहरुमा घुसाएका थियो । सायद धेरै समय देखि अमेरिका बसेकोले पनि होला पण्डितले शुद्ध नेपाली बोल्न अप्ठ्यारो माने झै हाउभाउ देखाए झै लाग्थ्यो । वैवाहिक कार्यक्रमको विधी अगाडी बढिरहेको थियो र केही समय पछि दुलाह पट्टीबाट

जन्ती आउने काम भयो तर नेपालको जस्तो ब्याण्डबाजा सहित भने आएका थिएनन् ।
दुलाहा पट्टीबाट विहानै सगुन ल्याउने काम नेवारी परम्परा अनुसार भईसके जस्तो देखिन्थ्यो साथै दुलहीलाई टिकाटाला गर्ने र पाउको जलखाने काम समेत दुलहीको माईतीघरमै विहानै सम्पन्न भईसकेपछि त्यस कार्यक्रम स्थल मन्दिरमा आएको समेत जानकारी हुन आएको थियो । यसरी जव जन्ती आउने काम भयो तव दुलही वा माईती पक्षबाट आवस्यक स्वागत गर्ने काम नेपालकै चलनचल्ती अनुसार भएको थियो । त्यसपश्चात स्वयम्भर गर्ने, जग्गियामा पुजापाठ गर्ने काम समेत चलिरहेको थियो । दुलहा, दुलहीका आफन्तहरुको विवाह मण्डपमा चहलपहल बाक्लो थियो । विवाहको मंगल धुन निरन्तररुपमा मधुर स्वरमा बजिरहेको थियो भने विवाह मण्डपमा पण्डितले विधी पुर्याएर वैवाहिक कार्यलाई अगाडी बढाईरहेका थिए ।
उक्त समारोहमा खासगरी मेरिल्याण्डका नाम चलेका समाजसेवीहरु देखी व्यापारी, उद्यमीहरु, हामी जस्तै सर्वसाधरणहरुको समेत राम्रै उपस्थिती थियो । खासगरी महिलाहरु नेपाली महिलाहरुले विवाहमा लगाउने पोशाक साडी( विशेषगरि दोपट्टाको साडी) र गरगहनामा सजिएका थिए भने पुरुषहरु कोही दौरासुरुवाल, कोट र ढाका टोपीमा त कोही कोट, पाईन्टमानै सजिएर आएका थिए । यसो हेर्दा लाग्थ्यो नेपालकै कुनै विशेष ठाउँको प्रोग्राम हलमा वैवाहिक कार्यक्रम संचालन भईरहेको छ । विहानमा चिया-नास्ता( ब्रेकफास्ट) र दिवासमयमा लन्चको व्यवस्था गरिएको पनि थियो । यसै विचमा विवाह मण्डपमा नेवारी परम्परालाई समेट्ने गरि वैवाहिक कार्यक्रमको गतिविधीहरु चलिनै रहेको थियो । विशेषगरी कन्यादान, सिन्दुर राख्ने काम, सुपारी चलाउने( नातापाता चिन्नको लागी दुलाह-दुलहीको हातबाट दुलही पक्षका

आफन्तहरुले दक्षिणा राखेर सुपारी लिने) काम आदी चलिरहेकै थियो ।
विशेष गरि दुलाह र दुलहीका बाबुहरु नेपाली समुदायका सामाजिक संस्थाहरुमा नाम चलेका प्रतिष्ठित व्यवसायिक व्यक्तीहरु समेत भएकाले हुनुपर्दछ अधिकांश व्यक्तीहरु भद्र स्वभावका नाम चलेका व्यक्तीहरुकै चेहरा देख्न सकिन्थ्यो उक्त कार्यक्रम स्थलमा । यसै समयमा हामीहरु पनि केही चिनजान भएका व्यक्तीहरुको समुह त्यहाँनेर गफिने मौका मिलेको थियो । त्यस गफिने समुहमा मेरिल्याण्डमा सामाजिक सेवामा लागेका दिग्गज व्यक्तीहरु र नेपाली राजनिती एवं अमेरिकी राजनितीका पनि जानकार व्यक्तिहरुसँग कुराकानी गर्ने मौका पाईयो । त्यसबेला अहिलेको नेपाली राजनितीक माहोल, नेपालका नेताहरुको अमेरिकी आगामनको लहर, अमेरिकी नेपाली समुदायको हितका लागी खोलिएका सामाजिक संस्थाहरुको चालचलन आदी बारे गहनरुपमा छलफल चल्यो ।

अवका दिनमा अमेरिकन राजनिती र अमेरिकन व्युरोक्रेसीमा नेपालीहरुको प्रवेश के कसरी हुन सक्छ साथै नेपालको बारे के कसरी अमेरिकन वीच प्रवर्धनात्मक गतिविधी संचालन गर्न सकिन्छ । त्यस्तै नेपालबाट आउने नेताहरुलाई के कसरी अमेरिकाबाट केही नयाँ कुरा सिकेर जाने वातावरण तय गर्ने, के कस्ता अन्तरक्रिया कार्यक्रम, गोस्टी/ कन्फेरेन्स आयोजना गर्दा फलदायी हुन्छ । नेपालीहरुको सामाजिक संस्थामा काम गर्ने शैली कस्तो हुनुपर्दछ, नेपाली गैरआवासिय संघ अमेरिकाको अमेरिकामा बस्ने नेपाली समुदाय प्रति बहन गर्नु पर्ने भुमिका र जिम्मेवारिता के कस्तो हुनुपर्ने जस्ता विविध पक्षमा छलफल गरिएको थियो । साथै मेरिल्याण्डमा सामाजिक

काममा क्रियासिल व्यक्तीहरुको कार्य अनुभव पनि बुझ्ने मौका पाईयो ।
विवाह सम्बन्धी कार्यक्रम चलिरहदाँ समारोह हलको एकसाईडमा रहेको मेच र टेवुलमा हाम्रा कुराकानीहरु अगाडी बढेका थिए । यसले पनि नेपाली स्वदेशबाट जति टाढा रहेपनि आफ्नो नेपाली समुदायको लागी सरोकार राख्ने गतिविधीमा संलग्न हुन्छन् भन्ने कुरालाई प्रतिविम्वीत गरिरहेको थियो । अर्को तर्फ नेपालकै सबैजसो रितीरिवाज र संस्कार अनुसार संचालन गरिएको वैवाहिक कार्यक्रम एवं कार्यक्रम स्थलको वनावट र व्यवस्था अति व्यवस्थित तरिकाले निर्माण गरिएको थियो ।

सन् १९९७ ताका ईन्डियनहरुबाट निर्माण गरिएको “ग्रेटर बाल्टिमोर टेम्पल” वास्तवमै धार्मिक एवं वैवाहिक जस्ता कार्यक्रम संचालन गर्न सुविधा सम्पन भवनमा मुख्य मन्दिरको पुजापाठको लागी आवस्यक संरचनाहरुको व्यवस्था देखि सबैखाले पर्याप्त संरचनाका साथ सुसोजित शान्त, एकान्त स्थलको मानसिक आनन्द दिने गरि निर्माण गरिएको धार्मिक स्थलनै हो । यस मन्दिरमा विशेषगरि ईन्डियन एवं नेपाली भक्तजनहरुले भगवानको दर्शन गर्ने गर्दछन् ।

हुनत: भारतियमुलका व्यक्तीहरुले अमेरिकाका विभिन्न राज्यहरुमा यस्ता मठमन्दिरहरु स्थापना गरेका छन् । त्यस्तै नेपालीहरुबाट समेत केही राज्यहरुमा यसरीनै धार्मिक मन्दिर एवं धार्मिक स्थलको स्थापना र विकासमा पहल गरेको पाईन्छ । त्यस्तैगरि विशेषगरि पाकिस्तानी एवं अरेवियन मुस्लिमहरुले पनि विभिन्न राज्यहरुमा मस्जिदहरुको स्थापना गरेको पनि पाईन्छ । त्यस्तै विशेषगरि थाईल्याण्ड लगायत बौद्ध धर्मालव्वीहरुको बाहुल्यता भएको मुलुकबाट आएका आप्रवासीहरुले समेत गुम्वाहरुको निर्माण गरेको पाईन्छ । अर्को तर्फ ठाउँ-ठाउँमा चर्चहरुको व्यवस्था भएको पाईन्छ, अधिकांश अमेरिकनहरुको मुख्य धार्मिक आस्थाको केन्द्रविन्दुनै क्रिश्चियन धर्म भएकोले पनि यसरी चर्चहरुको संख्या धेरै हुनु स्वभाविकनै हो अझै युरोपियन मुलुक लगायत मेक्सिको र अमेरिकी सिमा क्षेत्रका देशहरुबाट आउने आप्रवासीहरुको समेत धार्मिक आस्था क्रिश्चियनीटी भएकोले अझै थप चर्चहरुको पनि स्थापना हुन गएको पाईन्छ ।
विकसित देशका जनताहरु भएर पनि अमेरिकनहरु बढी भगवान/ प्रभु प्रति बढी विस्वास प्रकट गर्ने भएकोले विशेष गरि हरेक हप्ताको अन्त्यमा अर्थात् शनिवार/आईतवार चर्चमा प्रार्थना गर्नेहरुको भिड लाग्दछ । त्यसो त अन्य धर्मालव्वीहरु समेत हरेक हप्ताको अन्त्य तिर आ-आफ्नो आस्थाको धार्मिक स्थलमा पुग्ने गर्दछन् । सबैजसो धर्मालव्वीहरु र संस्कारमा आस्था राख्नेहरुले आ-आफ्नो परम्परा अनुसार धार्मिक गतिविधी, चाडपर्व, उत्सव लगायत विवाह र मृत्यु पश्चात गरिने दाहसंस्कारका कार्यक्रमहरु सम्पादन गरेका हुन्छन् । यसरी हेर्दा धार्मिक स्वतन्त्रता भएको मुलुक अमेरिकामा आ-आफ्नो आस्था र सोच/दृष्टिकोण अनुसार धर्म, रितीरिवाजका कार्यहरु गर्न सकिन्छ र कसैलाई धर्म मान्न एवं नमान्न करकाप गर्न भने पाईदैन ।

कतिपय आप्रवासीहरु अमेरिकामा धार्मिक स्वतन्त्रता भएका कारणले पनि अमेरिका स्थायी बसोवासको लागी शरणार्थीको रुपमा आएका हुन्छन् । आर्थिक अवसर, वाक् स्वतन्त्रता, पोलिटिकल लिवर्टी लगायत विविध कारणले विभिन्न मुलुकबाट अमेरिका आउन लालयित हुन्छन् त्यसको साथै धार्मिक गतिविधी संचालन गर्न स्वतन्त्रता भएकोले पनि थप आकर्षित भएको देखिन्छ । अन्य देशबाट आएकाले जसरी आफ्नो धर्म, भाषा, संस्कार, रितीरिवाज, परम्परा, चाडवाड, मुल्य-मान्यतालाई आत्मसात गरेर अगाडी बढिरहेका हुन्छन् त्यस्तै गरि नेपाली समुदायहरुले समेत अमेरिकामा आफ्ना गतिविधीहरु संचालन गरेको पाईन्छ ।

अझै नेपालमा झै जनजातीहरुले छुट्टै किसिमको प्रचलित चाडवाडहरु, उत्सवहरु मनाउँदै आएको पनि देखिन्छ । नेवार, मगर, गुरुङ्, शेर्पा जस्ता जनजातीहरुले र नेपालको तराईबेल्टबाट आएका मैथेली/थारु समुदायले पनि आफ्नो समुदायको प्रचलित रितीरिवाजहरु सामुहिकरुपमा पर्वको रुपमा मनाउने गरेको पाईन्छ । नेवारहरुको सामुहिक वेलविवाह, गुफा राख्ने काम, कुनै कुनै राज्यमा विशेष जात्रा समेत संचालन गरेको पनि सुन्नमा आएको पाईन्छ । नयाँ गाडी र घर किन्दा समेत पुजाआजा गर्न साथै विभिन्न जापाठहरु/चण्डीपुजा, शिव-नारायणको पुजा समेत गर्न नेपाली पण्डितहरुको पनि उपलव्धता प्रायः नेपाली समुदायको बाक्लो संख्यामा उपस्थिती रहेको राज्यमा भएको पाईन्छ जसले गर्दा पारिवारिक धार्मिक गतिविधी संचालन गर्न पनि सजिलो भएको देखिन्छ ।
अत: भुगोल र सिमनाबाट सात समुन्द्रपारि रहेतापनि आफ्नो मौलिकतालाई कायम राख्न र आफ्ना सन्ततीहरुमा समेत त्यस किसिमको संस्कार अवलम्वन गर्न प्रेरित गर्ने काममा नेपाली समुदाय क्रियाशिल रहेको देखिन्छ । संसारमा संचार र यातायातको तिव्र विकास भएसँगै मानिसहरुको एक देशबाट अर्को देशमा रोजगारी एवं विभिन्न प्रयोजनमा जाने आउने क्रम बढ्दै गएको छ भने विकसित देशहरुमा विभिन्न अवसरको खोजीमा विकासोन्मुख देशहरुबाट जाने क्रम दिन प्रतिदिन बढी रहेको क्रममा नेपालमा पनि यसले तिव्रता लिएको पाईन्छ । तथापी हरेक देशमा नेपाली समुदायले आफ्नो पहिचान राख्ने काममा आफ्नो भाषा र संस्कारको संरक्षण एवं विकास गर्न सफल भएको भने पाईन्छ ।

यसैले धार्मिक स्वतन्त्रायुक्त धर्मनिरपेक्ष राष्ट्र हुँदैमा खासै त्यसले देशको धार्मिक एवं सामाजिक विकासमा बाधा पुर्याउन सक्दैन बरु सबै व्यक्तीहरुको आस्था र संस्कारले फुल्ने र फल्ने अवसर प्राप्त गर्न सक्छ । धार्मिक विविधतामा सामाजिक एक्येवद्धता कायम गरि अगाडी बढ्न सक्नुनै सबैको हित हुन जान्छ । यसतर्फ पनि नेपालमा बस्ने सबै नेपालीहरुको ध्यान पुग्न सके कहिकतै उठ्ने गरेका धार्मिक विषयका राजनैतिक आवाजहरु पनि मथ्थर भएर जाने र सबै किसिमका फुलहरुलाई एउटै मालामा उनेर राख्न सकिने देखिन्छ । यसो हुनसके मात्र नेपालमा भावी दिनहरुमा समेत आपसी मेलमिलाप र आपसी एकता कायम हुन सक्छ ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया