ए कांग्रेसीजन हो ! के यहि प्रबृर्तिलाई स्वाभिमान भन्ने हो र ?

इनेप्लिज २०७३ वैशाख २९ गते ०:५४ मा प्रकाशित

SARGAM

ओली सरकारले आफू धरापमै परेको बेला आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मैले सोचेको थिएँ : देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस र अरु प्रतिपक्षले यसलाई सकारात्मक नै लेलान् । किनकी देश र परिवेश दुखेको बेला हो यो ।

भुकम्प पछिको पुनर्निर्माणमा दलीय भागवन्डा नमिल्दा भएको ढिलाई र राहतमा लागेको गिद्देदृष्टि देख्दा यस्तो लागिरहेको थियो कि नेपालमा जति बेईमान र भ्रष्ट अन्त कतै छैनन् । भुकम्पले थिलो थिलो पारेका पूर्बाधार, शरीर र मनहरुलाई कति सहयोग र सहानुभूतिको जरुरी थियो भन्ने कुराको नैतिक जिम्मेवारीमा सरकार तथा दलहरु चुकिरहँदा जनताले लोकतन्त्र माथि नै प्रश्न चिन्ह उठाउनु भनेको दल र दलीय पद्दतिलाई चुनौति दिनु हो भन्ने कुरा किन नबुझेका होलान् ?

लोकतन्त्रमा थोरै मतको प्रतिनिधित्व गर्नेहरुको पनि सम्मान हुनुपर्छ किनकी ती मतहरु पनि जनताकै मतहरु हुन् तर सर्वाधिक धेरै मत ल्याउने दलका प्रतिनिधिहरुले पनि जब तिनकै मतदाताहरुको अभिमत कुल्चने कोशिश गर्दछन् त्यतिवेला स्वतन्त्र मनले बिश्लेषण गर्नैपर्छ । यति बेला नेपाली कांग्रेसले गरेको बेतुकको बिरोधलाई आम मतदाताहरुले मन पराएका छैनन् , स्वतन्त्र बिश्लेषकले मन पराएका छैनन् ।

यसो भनिरहँदा यो पंतिकारले ओली सरकारको जयजयकार गर्यो भनेर बुझ्न थाल्यो भने त्यो अतिशयोक्तिपूर्ण हुनेछ। किनकी यो सरकारलाई पनि औला ठड्याउने प्रशस्त आधारहरु छन् । यो पंक्तिकारले निरन्तर क़लम चलाएर सबै दलका नेतृत्वलाई कुरी कुरी गरिरहेकै छ ।

पछिल्ला घटनाक्रमहरु सरकार परिवर्तनको रस्साकस्सी र नीति तथा कार्यक्रमको प्रस्तुति संगै आएका राजनैतिक उथलपुथलले के प्रमाणित गरिरहेका छन् भने सत्ताका प्राप्तिका लागि बिगतमा जेल देखि नेल खाएका जिम्मेवार नेताहरु पनि सबैखाले सम्झौता गर्न तयार छन् ।

पछिल्लो राजनैतिक चलखेलले त के पुष्टि गर्दछ भने ओली सरकारको उल्टो दिनगन्ती शुरु भएकै हो जुन कुरा एमालेले चाल पाईसकेको छ । तर सत्तामा सधैभरि कोहि आसिन हुँदैन भन्ने कुरा स्वीकार गरेरै पनि सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा जनताका चासोका बिषयहरुलाई बिफल गराउन प्रतिपक्षहरुले थापेको च्याँखे उनीहरुकै लागि प्रत्युत्पादक हुने कुरा निश्चित छ ।

मैले एउटा कुरा बुझ्न सकिरहेको छैन: स्वदेशी लगानीमा फास्ट ट्र्याक बनाउने कुरा , चीनसंग पारवहन संझौता गर्ने कुरा, राजदूत फिर्ता बोलाउने र फिर्ता पठाउने कुरा , एनसेलले कर बुझाउने कुरा र अन्य झिनामसिना कुरामा अहिले कांग्रेसी जनहरुबाट भएको धुँवाधार बिरोधका औचित्यहरु के हुन सक्छन ? त्यसै गरि मुलुकको ढाडै भाँचिने गरि गरिदै अाएका बन्द हड़ताल निषेध गर्ने र अठार बर्ष देखि हुन नसकेको स्थानीय निकायको चुनाव गराउने कुरा किन बिवादका बिषय बन्छन् ?

हो भारत संगको हाम्रो संबन्ध रोटी र बेटी संग छ तर देशको स्वाभिमाननै दाईजो दिनेगरी कसैसंग त्यस्तो सम्बन्ध राखिरहने हो भने हामी कहिले उँभो लाग्ने होला ? त्यसैले सबै बैकल्पिक बाटोहरुको अवलम्वन गर्नुपर्छ भन्ने कुरा कसरी गलत हुन्छ ? त्यसैगरि आफ्नो घर आफै बनाउने कुरा र राज्यमा ब्यापार गरेर अरबौँ कमाउने कम्पनीहरुलाई कर तिर भन्नु कसरी नाजायज हुन्छ होला ?

यद्यपि सरकारको नीति तथा कार्यक्रमले अमुक दलका कार्यकर्तालाई पोष्ने काम हुन्छ भने त्यस बिरुद्द बोल्ने अधिकार सबैलाई छ र हुनुपर्छ ।

अर्को कुरा राजदूत कुनै पनि पार्टीको भागबन्डामा बनाउने परिपाटी बिडम्वनापूर्ण हो यसले कतिपय अवस्थामा देशकै प्रतिष्ठामा आँच पुर्याउँछ तर पनि एउटा राजदूतले तत्कालीन सरकारको बचाउ गर्नु पनि उसको पदीय आचरण भित्र पर्छ कि पर्दैन ?

कांग्रेस बहुदलको आगमन पछि पटक पटक सत्तामा आएकै हो, पढेलेखेका बिज्ञ नेताहरु पदमा पुगेकै हुन् खोई त देशले प्रगति गरेको ? आफ्नै दलको सरकार ढाल्ने, सांसद किनबेच गर्ने, देशघाती संझौता गर्ने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने हरु कांग्रेसमा थिए थिएनन् ? किन राज्यको संबैधानिक निकायले भ्रष्ट ठहराएका खुम बहादुर र गोबिन्दराजहरुले कांग्रेसमा अझैपनि हालिमुहाली गरिरहेका छन् ? कांग्रेसी जनहरु हो : जनताले जवाफ चाहेका छन् , के यहि प्रबृर्तिलाई स्वाभिमान भन्ने हो र ?

हो , दलीय संरचनामा पक्ष प्रतिपक्ष हुन्छ र हुनुपर्छ तर आफ्नो हातमा डाडुपन्यु हँदा सबै ठिक र अरुको हातमा हुँदा सबै बेठिक हुने कुन राजनैतिक सिद्दान्त अन्तर्गत पर्दछ ? आफ्ना राम्रा नीति तथा कार्यक्रम घोषणा गरेर लोकप्रिय हुने कि अरुको धुँवाधार बिरोध मात्रै गरेर ?

मेरो र मैले प्रतिनिधित्व गर्ने बिचार समूहहरुको चासो के मात्र हो भने कहिले सम्म देश तपाईहरुको हठले गिडगिडाउने ? किन देशमा स्थायित्व आउने कुरामा पक्ष प्रतिपक्षलाई सहयोग गर्नु हुन्न ? सरकार परिवर्तन संगै जादूमय छलांगको ढोल पिटेर किन जनतालाई भ्रममा पार्नुहुन्छ ? तपाईहरुले हिजो सत्तामा हुँदा कति गर्नुभो जनताले देखेका छैनन् र ? शेर बहादुरज्यू : पराईको भक्तिगान गाउनु के तपाईहरुको भाषामा स्वाभिमान हो र ? यदि हो भने आम कांग्रेसी मतदाताहरुले तपाईको यो क़दममा कसरी साथ देलान र ?

कांग्रेसी जनहरु : त्यसैले देश आफ्नै बलबुताले बनाउने कुरामा भाँजो नहाल्नुस, ब्यापारीलाई कर तिराउने कुरामा भाँजो नहाल्नुस, परजीवि भएर हैन पराक्रमी बन्ने योजनामा भाँजो नहाल्नुस । जसले बनाएपनि हाम्रै देश बन्छ । पात्र हैन प्रबृर्ति परिवर्तन गर्न तम्तयार हुनुहोस र जनता प्रति उत्तरदायी हुनुहोस । सकारात्मक परिवर्तनका लागि खबरदारी गर्नुस । त्यसैगरि एमाले , एमाओवादी र मधेसवादी अनि राजावादीहरु : तपाईंहरु पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुस तपाईहरुका कार्यकर्ता र हनुमानहरुको चियों चर्चो गर्नुस, देश नबनेको लुछाचुँडीले हो ।

हैन भने जनतालाई बताईदिनुस तपाईहरुले चाहेको स्वाभिमान कुन चराको नाम हो ? जनता जान्न चाहन्छन ।

[email protected]

प्रतिक्रिया