मुग्लानमा यस्तै भएको छुँ

इनेप्लिज २०७३ वैशाख १५ गते १३:४१ मा प्रकाशित

FullSizeRender

आमाको अलिक ठुलो स्वरले
मुटु छियाँ-छियाँ हुने म
छिमेकीले हेप्यो भनेर
आँखामा आँसु टिलपिल पार्दै
आमाको काखमा लुटपुटिने म
र आमाले देखाएका सपना र बाचाहरुले
ठुलो छाती बनाएर गाउँ घुम्ने म
खालीखुट्टा खेत खलिहान चाहार्दा
सानो काँढा बिझ्दा
कुदेर आमाको घरेलु अस्पतालमा
उपचार गर्ने म
काँढा बिझ्नु जीवनको सबैभन्दा ठुलो पीडा सम्झेर
आमाको बुई चढी स्कुलसम्म पुग्ने म
हजुरआमाका सास्तर सुन्दै
रुचि र भावुकता बोकेर
हरेक साँझ निदाउने म
भोलि बिहानै उठेर हजुरआमालाई एउटै प्रश्न गर्ने म
‘मलाई कथा सुन्न किन उठाउनु भएन’

आमाले माइतबाट ल्याएको र
हजुरआमाले नातिका लागि हजुरबुवाको खल्ती टकटकाएको
एक दुई मोहोर र सुका
बडो जतनले राखेर खल्तीमा
साना-साना गुलिया मिठाईका दाना गनेर
कम्तिमा घर फर्कने बेलासम्म पुर्याउने
बडो जतनले खर्च गरेर बचाएको
केही मोहोर र सुका हराउला कि भन्ने डरले
मिनेट-मिनेटमा खल्ती जांच गर्ने म

हजुरआमा बाहिर जाँदा
दिनमा हजारौं पटक प्रश्न गर्ने र
आमाले मलाई नलगी माइत गएको बेला
ननिदाउदासम्म आमालाई कुर्दै
हजुरआमासंग ठुस्केर बस्ने म
आजकल त म कति कठोर भएको छु हँ
बर्षौसम्म आमाको अनुहार नदेख्दा पनि
ठुस्केर बस्ने बानी छुटीसकेछ
बर्षौसम्म हजुरआमाका कथा नसुन्दा पनि
खै यो मन भाबुकताले पग्लदैन

पहिलो कमाइको पैसाले
हजुरआमालाई भिटामिनको औषधि
र आमालाई रातो साडी उपहार बोकेर
वायुपंखी घोडा जसरी घर पुगेको म
पटक-पटक तलब थापिरहंदा यँहा
र फोनमै कमाई सुनाउदा आमालाई
हार्दिकताले कहिल्य मन खुशी भएको थाहा पाइन
हजुरआमाको ‘कहिले आउछस बाबु ‘ प्रश्नमा
मन कठोर बनाएर अर्को साल आउंछु भनि
पटक-पटक बुढी हजुरआमालाई
झुट बोलिरहँदा
‘हामी त आज हो कि भोलि’को उत्तरले
यो मन ढक्क भएको क्षण
खुट्टामा काँढा बिझ्दा बरर आँसु आउने म
एक थोपा आँसु नखसाली जागिरमा कुद्ने भएछु

आफ्नो घरलाई मन्दिर सम्झेर
पल्लो घरलाई पराई देख्ने र
पटक-पटक पल्लो गाउँमा हराउने म
यो बिबश बस्तीमा
क्षण -क्षणमा हराउने र देखिने म
हरक्षण उपस्थित महसुस गर्छु आफुलाई
र त आमाले ‘दुख छ कि ‘ भनेर प्रश्न गर्दा
यो कठोर शहर र समयले
क्षण -क्षण निद हराम गरिरहँदा
‘सब ठिक छ ,राम्रो छ ‘ भनेर झुट खवर पठाउने
हेर त कति कठोर भएको छु म

असार महिनामा
रोपाहारलाई अर्नी पुर्याउन जाँदा
रहरले केही क्षण खनजोत गर्दै
एकैछिनमा हलात थाकेर आलिमा सुस्ताउने
र तीन दिनसम्म आराम गर्ने म
अहिले कहिले दिनभर र कहिले रातभर
मेशिनसंग र मेशिनजस्तै भएर काम गर्दा
अहँ मेशिन जस्तै थाक्दिन वा थाकेजस्तो गर्दिन
र अर्को दिन फुर्तिलो अनुहार लिएर काममा कुद्ने
कस्तो कठोर र जाँगरिलो भएको छुँ म

पहिले बर्मा र अहिले ब्रमाण्ड पुग्ने
मुग्लान भासिने परिवारमा जन्मिएको म
रहरले हिन्दुस्तान पुग्दा-नपुग्दै
घरको मायाले तोरीलाहुरे बनेर फर्कने म
अहिले हजारौ कोस टाढा पुगिसक्दा पनि
परिवारको खुसी फर्काउन र
आसामी चुक्ता गर्न
चुंडेर खुसी,बिर्सेर देशका कथा
भुलेर लगौंटीया यारका गफिसहरु
अघोषित निर्वासनको कर्म बोकेर आएको म
साँच्ची म पहिलेभन्दा निकै कठोर भएको छु
परिवार ,गाउँ र न्यानो आत्मियता बिर्सेर
बर्षौ परदेशमा हराउने निर्दयी फकिरजस्तै
पुर्खाको कर्म बोकेर आएको
देशको आदिम मुग्लानी जस्तै भएको छुँ

अप्रिल ६ ,भर्जीनिया, युएसए

प्रतिक्रिया