आजको जमाना विश्वाव्यापीकरणको युग हो । विज्ञानले विश्वलाई साँघुरो बनाई दिएको छ । एक देशका नागरिक अर्को देशमा जाने आउने क्रम तिव्र छ । त्यसैक्रममा नेपालबाट अमेरिका आउने क्रम पनि तिव्र छ । अझै सामान्य मान्छे भन्दा पनि नाम र दाम समेत कमाएका प्रतिष्ठित मान्छेहरु समेत अमेरिका आएर सधैका लागी बस्ने क्रम बढ्दै गएको छ । विभिन्न बहानाबाजीका कार्यक्रम बनाएर अमेरिका आउने माध्यम बनाउनेको विगविगीनै छ । त्यसमा सबै भन्दा बढी खरो रुपमा प्रस्तुत हुने र विभिन्न सांगेतिक कार्यक्रम गरि दर्शक (नेपाली समुदाय) लाई मनोरञ्जन दिने नाममा हप्तै पिच्छे जस्तो यस्तै कार्यक्रमहरु अमेरिकाका हरेक स्टेटमा आजकल आयोजना गरिन थालिएको छ ।
नेपालमा भुकम्प गएपछि अर्को अमेरिकामा थप कार्यक्रमको आयोजना गर्ने बहाना , भुकम्प पिडितलाई राहत जुटाउने सांगेतिक कार्यक्रम गर्ने नयाँ तरिकाबाट अमेरिकामा नाम चलेका र केही नव उदयमान कलाकार सहजै अमेरिका आउने वातावरण बनेको छ । कलाकार आउन, नेपाली समुदायलाई मनोरञ्जन दिउन राम्रो कुरा हो तर कलाकार ल्याएर सांगेतिक कार्यक्रम गर्ने केही फण्ड कलेक्शन गरेर नेपालमा असहाय, भुकम्प पिडातलाई सहयोग पुर्याउन खोज्नु एकातिर अमेरिकामा बस्ने नेपाली समुदायमा नेपाली गित, संगीत र कलाकारिता प्रस्तुत गरेर नेपाली संस्कृती, गित-संगितलाई जिवन्त राख्न मद्दत मिल्नुका साथै अर्को तर्फ नेपालमा समेत सामाजिक काम हुन जानु प्रसंशनिय काम हुन सक्छ । जुन रुपमा बाहिरबाट यस्तो किसिमको आवरणगत तथ्य देखिएपनि सत्य भने अलग पनि भेटिने गर्छ ।
अधिकांश नयाँ कलाकार र केही नाम चलेकाहरु समेत मानव तस्करहरुको जालमा परेर ठुलो धनरासी समेत खर्चेर अमेरिका आएर त्यस्ता कार्यक्रममा सहभागी हुने गरेको देखिएको छ । नेपालमा कलाकारिताबाट खासै भविस्य नदेखेर र धेरै कलाकारहरुको रोजाई नै अमेरिकामा स्थायी बसोवास गर्ने रहेको देखेर पनि नयाँ कलाकार र केही स्थापित कलाकार पनि जीवनको उत्तरार्धमा अमेरिकी बसाई प्रति लोभिएको पाईन्छ । आम मान्छेहरुले भने झै सन्ततीहरुको उज्जवल भविष्य र विलासिताको जीवन विताउन भनेर अमेरिका एकपटक आएपछि सकभर त्यसै पटक सधैका लागी यतै बस्ने निर्णय गर्ने वा नभए अर्को पटक आएर सधैका लागी बस्ने कदम चाल्ने सोचमा रहेको देखिन्छ ।
पछिल्लो समयमा नाम चलेका कलाकारहरु समेत अमेरिका आएर बस्ने भई सकेपछि अहिले त अमेरिकामा नेपाली समुदायको हितका नाममा खोलिएका अधिकांश संस्थाहरुमा समेत कलाकारहरुकै बाहुल्यता देखिन्छ । हुनत अमेरिकामा नेपालबाट सबै पेशा र वर्गका व्यक्तीहरु आएर स्थायीरुपमा अमेरिकन नागरिकता लिएर बसेका छन् । नेपालमा भन्दा बढी राजनितीको नशा लाग्नेहरु र हरेक दिन जसो विभिन्न पार्टीका धुपाउरे नेताहरुलाई एर्पोर्टमा खाँदा लिएर जानेहरुको टिम दिनप्रतिदिन बढ्दै गएको छ । त्यस्तै पत्राकार, फोटोग्राफर , डाक्टर, ईन्जिनियर , वकिल, पुर्व प्रशासकहरु, प्रहरी-सेनाको पुर्व अधिकृतहरु, शिक्षक , प्रोफेसर, व्यापारी, संचारकर्मीहरु, राजनैतिक नेताहरु, विद्यार्थीहरु, सामान्य व्यक्तीहरु समेत पनि अमेरिकामा नभेटिने सपना र नमेटिने तृष्णाहरु साँचेर बसेका छन् । सबैका चाहना र ईच्छालाई कसैले टिकाटिप्पणी गर्नु पनि खासै राम्रो हैन तापनि देखाउने दाँत र चपाउने दाँत फरक फरक हुँदा कतिपय अवस्थामा नेपाली समुदायहरु आपसमै एक अर्का प्रति ससंकित र सम्बन्धहरु विग्रने अवस्थाहरु पनि दिनहुँ बढ्दै गएको छ ।
खासगरी यस आलेखमा कलाकारहरुको बारे सामान्य कुराहरु जोड्न खोजिएकोले अरु तिर बढी कुरा नगरौ जस्तो लाग्यो । वास्तवमा कलाकारहरु राष्ट्रलाई चिनाउने प्रतिभावान स्रष्टा पनि हो । यस्तो मुल्यवान स्रष्टा आज आएर छदमभेदी रुपमा अमेरिका आएर बस्नु पर्ने बाध्यता कसरी हुन पुग्यो यसबारे कहिकतै बाट गांभिरता देखाएको पाईएको छैन । बरु दिनप्रतिदिन नयाँ नयाँ शैलीको सांगेतिक कार्यक्रमको नाम दिएर वैधानिक तवरबाट भित्र भित्रै दलाली गरेर लाखौ रकम लिएर अमेरिकामा सधैको लागी sandwich बनाएर , पिज्जा डेलिभरी गरेर, वयटर भएर , क्यासियर भएर सामान्य नागरिकले गर्ने काम र कलाकारिता विहिन बनाएर ज्युउन बाध्य बनाईएको छ । यति सम्मकी यस्ता सांगेतिक कार्यक्रममा पहिला नाम चलेका कलाकारहरु सामान्य दर्शक बनेर थपडी बजाएर बस्न र दर्शक दीर्घामा नाँच्न प्रयोग हुन थालेका छन् ।
कुनै वेला निकै चल्तीका गायक-गायिका, नायक-नायिका, संगितकार, हास्यकलाकारहरु समेत आजकल सामान्य दर्शक बनेर सांगेतिक कार्यक्रममा उपस्थित हुनु पर्ने र नयाँ कलाकारको स्टेज प्रोग्रामलाई साथ दिन सामान्य दर्शक दीर्घा बस्नु पर्ने अवस्था आउनु पक्कै पनि कलाकारहरुको संख्यात्मकरुपमा अमेरिकामा उपस्थिती बढी हुनु र विगतको कलाकारिता पेशालाई निरन्तरता दिन उपयुक्त फिल्ड नपाउनु हो भने कलाकारिता सम्बन्धी संघसंस्थाहरु पनि राजनैतिक दलका भातृसंगठनको रुपमा स्थापित भएको आभास हुनु हो ।
अझै कताकता सामान्य दर्शक भन्दा कलाकारिता सँग जोडिएका व्यक्तीनै आम दर्शकको रुपमा बढी देखिनु आफैमा तितो अनुभव हुनु हो किनकी दर्शकको रुपमा प्रस्तुत स्वयं कलाकार कार्यक्रममा प्रस्तुती देखाउने कलाकार भन्दा निकै क्षमतावान र नाम चलेका समेत रहेको हुनु कताकता आम दर्शकले पनि नरमाईलो ठान्नु स्वभाविक हो भने त्यो भन्दा बढी स्वयं दर्शक कलाकारले पनि आत्मगलानी महशुष गर्नु र आफु भित्रको कलाकारिता क्षीण हुँद गएको अनुभव गर्नुका साथै आम दर्शक र शुभचिन्तक बाट टाढिदै गएको महशुष समेत गर्नु हो । तसर्थ सकिन्छ नेपालमै बसेर कलाकारितामा विकास गरौ नसके विदेशमा आएर पनि त्यसै क्षेत्रमा लाग्ने कोसिस गरौ ।
एक्स्ट्रा अर्डिनरी पर्सनको रुपमा पाएको स्थायी बसोबास गर्ने अनुमतीलाई पनि सम्मान हुने र नेपालका कला, संस्कृतीलाई जीवन्त पार्ने काममा तमाम कलाकारहरु लाग्नु उपयुक्त हुनेछ । कलाकारिता भनेको जो कोहीले सजिलै अपनाउन सकिने पेशा पनि नरहेकोले यस पेशा अपनाएकाहरुले यसको संरक्षण र सम्वर्धनमा लाग्नु जरुरी छ । हुनत यस्तो काममा लाग्न कलाकारहरुको संस्थाहरु खुलेका पनि छन् ती संस्थाको माध्यमबाट कलाकार र कलाकारिताको हितको लागी अघि बढौ । नेपाली कला-संस्कृतीलाई सम्वर्धनमा टेवा पुग्ने गरि स्कुलहरु खोल्न र नेपाली भाषा, कला, संस्कृती बारे पठनपाठन हुने व्यवस्था मिलाउन समेत अमेरिकन शैक्षिक निकाय र अधिकारीहरु सँग सम्पर्क अगाडी बढाएर स्कुल तहमा र कलेज तहमा समेत त्यस्ता विषयमा कलासहरु संचालन गर्न आवस्यक पहल गरौ ।
अमेरिकाबाट कलाकारिता सम्बन्धी नयाँ कुराहरु सिकेर नेपालमा गएर समेत कलाकारिता क्षेत्रमा आवस्यक सहयोग गरौ । यसो त अमेरिकाबाट केही सिकेर कलाकारिता क्षेत्रमा लाग्न खोज्नेहरुको खेदो खनेको समेत नदेखिएको हैन तथापी बोल्ने मुखलाई छेक्न त कसले सक्छ र तापनि आफुले सिकेको र जानेको कुरा अरुमा संप्रेषण गर्नु राम्रो र उपयोगी नै हुन्छ । हामी नेपालीको अरुको कामको नकारात्मक टिप्पणी गर्ने जेनेटिक गुण नै हो यसमा सुधार हुन अझै धेरै समय लाग्न सक्छ । जे होस् कलाकारहरुले आफ्नो पेशाको सम्मान र ईज्जत जोगाई रहने काममा लाग्नु भने जरुरत छ ।
बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका
प्रतिक्रिया