सिमानाका रङग सिमानाका तरङगले निम्त्याएको सौन्दर्य

इनेप्लिज २०७३ वैशाख १४ गते २१:५८ मा प्रकाशित

simana

नेपाली नियात्रा लेखनमा दामोदर पुडासैनी ‘किशोर’ स्वनामधन्य नाम हो । उनका यात्राका प्रेमिल तरङ्गहरु, नमेटिएका चित्रहरु, मायालु हुम्ला जस्ता नियात्रा कृतिहरुले साहित्य भण्डारमा बेग्लै छाप छोड्न समर्थ बनेका छन् । त्यसो त उनका आधा दर्जन कविता संग्रहरुले पनि बेग्लै मूल्य र मान्यता स्थापित गरि चर्चित बनेको प्रसंग बिर्सन सकिँदैन ।

रत्न पुस्तक भण्डारले बि.सं. २०७२ मा उनको नयाँ नियात्रा संग्रह– सिमानाका रङ्ग सिमानाका तरङ्ग प्रकाशमा ल्याएपछि नियात्रा पारखीहरुको लागि एउटा विशेष कृति प्राप्त भएको महशुस भैरहेको छ ।

सिमानाका रङ्ग सिमानाका तरङ्ग नियात्राकार पुडासैनीले श्रीलंका, थाइल्याण्ड, म्यान्मा र बंगलादेशको भ्रमण गरि ती देशहरुको भूगोल, संस्कृति र मानव जीवनको विविध प्रशंगहरुलाई आत्मसात गर्दै पोखिएका अनुभूतिहरुको परिपाक हो । यतिखेर सिमाना, जात, रंग, धर्म र भेषभूषा जस्ता काल्पनिक र भ्रामक आधारहरुमा मान्छे विभाजित छ । मान्छे आखिर स्वतन्त्र जन्मन्छ, तत्पश्चात उसलाई विभिन्न परिबेसले विभाजित गर्दछ । तर मान्छेको सग्लो पहिचान भनेको मान्छे मात्र हो ।

माथि उल्लेखित विभिन्न काल्पनिक तथा भ्रामक आधारहरुमा विभाजित हुनुको कारण मान्छेमा प्रतिस्पर्धा, अहंकार, र तेरो मेरोको भावना तिब्ररुपमा बढेको पाईन्छ । यो सारा जगत धर्तिमा रहेका सम्पूर्ण मान्छे र जीवहरुको साझा सम्पत्ति हो । तर, काल्पनिक सिमानाको कारण आ–आफ्नो पक्षमा शक्ति बढाउनको लागि तँछाड मछाड चलिरहेछ । काल्पनिक सिमाना र बास्तविक संसारलाई लेखक पुडासैनीले भ्रमण मार्फत नजिकबाट नियाले र यो कृति सिमानाका रङ्ग सिमानाका तरङ्ग जन्माए । उनको यो कृतिको अध्ययनले दक्षिण एशियाली र दक्षिण पूर्वी एशियाली राष्ट्रहरु र यस वरिपरिका सिमानाका रङ्ग सिमानाका तरङ्ग अनुभूत गर्न असाध्यै सजिलो भएको छ ।

यस कृतिमा नियात्राकार पुडासैनीले श्रीलंकामा चलेको गृहयुद्ध भोगेको वर्णन अत्यन्त मीठो शैलीमा वर्णन गरेका छन् । नियात्राकार स्वयम् त्यतिखेर नेपालमा चलेको द्वन्दबाट प्रभावित भएका थिए । श्रीलंकामा पुग्दा द्वन्दको अझ त्रासपूर्ण भूमरीमा फस्नु पर्दा पनि पुडासैनी आत्तिएनन्, बरु राजधानी कोलम्बोमा मात्र सिमीत नरही क्यान्डी जस्तो दुर दराजमा समेत भ्रमण गरेर अत्यन्त रोचक शैलीमा नियात्रा तयार गरेका छन् । त्यसको अलाब उनको श्रीलंकाली साथी चन्द्रलतासंगको भ्रमण, श्रीलंकाली मित्रहरुसंग साटेको न्यानो माया, श्रीलंकाको कला, संस्कृति, भूगोल र सम्बृद्धिका पक्षमा देखे भोगेका प्रसंगहरुलाई मन लोभ्याउने गरि शब्द चित्रमा उतारेका छन् । पुडासैनीमा हरेक मिहिन घटना र दृष्यहरुलाई पनि जादुगरि किसिमले शब्द चित्र तयार गर्न सक्ने क्षमता छ भन्ने कुरा यी नियात्राहरुले पुष्टि गर्दछन् ।

यो कृतिमा लेखक दामोदरले थाइल्याण्डको भ्रमणलाई पनि बेग्लै ढंगले नियात्रामा ढालेका छन् । वर्षेनी थाइल्याण्डको भ्रमण गर्ने पर्यटकहरुको संख्या कम छैन । तर, दामोदरले थाइल्याण्ड भ्रमणको अवसरलाई सदुपयोग गरेर थाइल्याण्डका स्थान र मानव दैनन्दिनलाई पाठकले आफै पुगे जसरी ग्रहण गर्न सक्ने नियात्राहरु तयार गरि दिएका छन् । पुडासैनीले समुन्द्रको गतिलाई मात्र स्पर्श गरेका छैनन् त्यसबाट उब्जिएको तरङ्गलाई पनि पाठक समक्ष रोमाञ्चकारी ढंगले प्रक्षेपण गरेका छन् । रात होस या दिन उनको लेखनीमा छुटेको छैन । उनी बैंकक शहरको सुकुम्भितका कुना कुनामा रातभर चहार्छन्, सेक्ससप, सेक्स मार्केट र रात्रीकालीन यौन जीवनलाई नजिकबाट नियालेर जस्ताको तस्तै नियात्रामा उतार्दछन् ।

यात्रामा हरेक ठाउँहरुको भ्रमण गर्नु र देखे भेटेका प्रसंगहरुलाई नढाँटीकन आफ्नो लेखनीमा उतार्न सक्नु नियात्रा लेखकको सबै भन्दा महत्वपूर्ण जिम्मेवारी पनि हो । यस अर्थमा पुडासैनी लेखनमा सत्यबादी हुन् र सत्यको उजागर गर्न निडर पनि छन् ।यस कृतिमा रहेको नांगो आकाश नांगो धर्ति शीर्षकको नियात्राले मान्छेले नग्न बनेर स्वतन्त्र पूर्वक यौनकृडामा मस्त रहने प्रसंगलाई पनि यथार्थपरक ढंगले अभिव्यक्त गरेका छन् । आखिर मान्छे परिधान पहिरेको नांगो नै हो, सम्पूर्ण धर्ति र आकाश पनि त नांगो नै छ, र सत्य पनि सधैं नांगो नै हुन्छ । त्यसैले नांगोपनलाई घृणा होइन मर्यादित बनाउनु पर्छ भन्ने नियात्राकार किशोरको अभिव्यक्ति मननीय छ ।

पुडासैनी भ्रमणको क्रममा म्यान्मा पुगेपछि त्यहाँ नेपाली मूलका मान्छेहरुसंग आत्मीयता साटासाट गर्न पाउँदा अत्यन्त आल्ह्वादित बनेका छन् । उनी त्यहाँ रहेका नेपाली मूलका मान्छेहरुसंग नाचगान गर्छन्, नेपाली हुनुको कारण माया साटासाट गर्छन्, नेपाली बस्तीहरुमा पुगेर नेपालीपनका र नेपाली मनका चमकधमकहरुलाई असाध्यै रुचिकर ढंगले नियात्रा बुन्दछन् । लेखक पुडासैनीले म्यान्माका पहाड, फाँट, समथर भूभाग, जंगल, एयावदी नदि, इन्या ताल, कान्दाउजी लेक जस्ता प्राकृतिक दृष्यहरुलाई पाठक स्वयम्ले देखे भोगे जस्तै अनुभूति हुने गरी प्रष्ट्याएका छन् । उनी स्वेडगउँ पगोडा, बोजोक मार्केट, गोल्डेन भ्याली जस्ता स्थानहरुमा मन फुकाएर घुम्छन् र त्यहाँको बैभवशाली सम्पदाहरुको अतुलनीय ढंगले नियात्रा जन्माउछन् ।

पुडासैनीले म्यान्मा भ्रमण गर्दा त्यहाँ प्रजातन्त्रबादी नेतृ आङसाङ सु यूकी निवासमै नजर बन्द थिइन् । प्रजातन्त्र र सु यूकीको उच्चारण मात्र गर्यो भने जेल सम्मको सजायँ हुन्थ्यो । त्यस्तो अवस्थामा पनि पुडासैनी सु यूकिको निवास अघिल्तिर पुगेर सैनिकहरुसंग वार्तालाप गर्दछन् र स्वतन्त्रताको पक्षमा वकालत गर्दछन् । त्यस बाहेक बुद्ध धर्म भने पछि हुरुक्कै हुने बर्मेलीहरुको स्वभाव प्रति व्यंग्य पनि गरेका छन् ।

पुडासैनीले म्यान्मामै जन्मेकी पार्वतीसंग बिहे गरेको प्रसंग, रुबि जस्ता गहनाहरु अत्यधिक पाइने प्रसंग, नेपाली दुताबासमा म्यान्माली अधिकारीहरुसंग भएको भलाकुसारी र प्रेम र त्यसले निम्त्याएका घटना परिघटनाहरुलाई मिहिन र शब्द चित्रको माध्यमबाट सुललीत ढंगले प्रकाशमा ल्याएका छन् । यी नियात्राहरु पढ्न थाले पछि पाठक यसरी लठ्ठिन्छन् कि नियात्रा नसकियोस् र निरन्तर पढिरहन पाइयोस् भन्ने भित्रि इच्छा जागिरहन्छ ।

बंगलादेश समुद्रसंग जोडिएर रहेको देश हो । समुद्र देख्नमा जति सुन्दर हुन्छ भोग्नमा त्यति नै कठिन छ भन्ने कुरा पुडासैनीको बंगलादेशमा रहदा लेखिएका नियात्राहरुबाट प्रष्ट हुन्छ । समाजका हरेक उमेर, वर्ग र क्षेत्रका मान्छेहरुसंग पनि पुडासैनी सजिलै मित्रतताको गाँठो कस्न सक्दछन् र त्यसलाई लेखनीको अभिलेखमा उतार्न सक्दछन् । बंगलादेशको ढाकामा चार लाख भन्दा बढी रिक्शा चालकहरु बस्दछन् । उनीहरुमध्ये कतिपय रिक्शामै जन्मन्छन् र रिक्शामै मर्दछन् । पुडासैनीले रिक्शा चालकहरुसंग मित्रता मात्र गाँसेन्न् उनीहरुको जीवनशैली, रिक्शा सजाउने कला, रिक्शा साहित्य र रिक्शाले मानवीय जीवनमा पारेको असरलाई पनि कथानक ढंगले प्रस्तुत गरेका छन् । त्यस बाहेक समुद्री लहरहरुले ढाका शहरलाई बेलाबेलामा अत्याएका घटनाहरु, मत्स्य बजार, ढाकाको जीवन शैली र हिन्दु र इस्लाम धर्मका अनुयायीहरुका रोचक घटनाहरु पनि यस कृतिमा समेटिएका छन् ।

समग्रमा दामोदर पुडासैनी ‘किशोर’को नविनतम् नियात्रा संग्रह नेपाली नियात्रा भण्डारमा विशेष पहिचान छाड्न सफल भएको छ । अत्यन्त नविन ढंगबाट सृजना गरिएका शीर्षकहरु, हरेक नियात्राको शुरुमा पाठकको हृदय छुने सूत्र वाक्यहरु, नविन वान्कीले भरिपूर्ण बिम्बात्मक काव्य रसले भरिएको लेखनशैली र सम्बन्धित ठाउँको स्वरुप झल्कने ओजनदार जानकारीमूलक अनुच्छेदहरुको श्रृंखलाहरुको कारण सिमानाका रङ्ग सिमानाका तरङ्ग नियात्रा साहित्यको एक विशेष पाटोको रुपमा उभिएको छ । यो नियात्रा संग्रह पढेपछि पाठकले रोचक उपन्यास, मीठो कथा र शक्तिशाली कविताको त्रिबेणी भेटेको सफलता पनि हात पार्दछ । त्यसैले यो नियात्रा कृतिलाई नियात्रा लेखनको नविन आयाम भन्नुमा पनि अतिशयोक्ति होवोइन l

प्रतिक्रिया