चर्को घाम र ‘लु’ले जनजीवन प्रभावित

इनेप्लिज २०७३ वैशाख ३ गते ६:०९ मा प्रकाशित

308610_369374503183308_942436149_nनेपालगन्ज, ३ वैशाख । नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेरसमेत चिनिने नेपालगन्जमा केही सातायता अत्यन्त चर्को घाम र तातो हावा (लु)का कारण जनजीवन प्रभावित भएको छ ।

नेपालगन्जस्थित मौसम विभागको कार्यालयका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी ‘रेकर्ड’ गरिएको छ । मौसम विज्ञका अनुसार यहाँको अधिकतम तापक्रम अझै बढ्ने अनुमान छ ।

गर्मी महिना सुरु भएयता नेपालगन्जमा पानी परेको छैन । आमनागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नुपरेको छ ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ ।

यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्छन् ।

गर्मीका कारण घाउखटिरा, आउमासी, टायफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

यहाँका अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको छ ।

त्यसैगरी, गर्मीमा विद्युत्को खपत अधिक हुन थालेपछि यहाँस्थित विद्युत् प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौतीको तालिका प्रकाशित गरेको छ ।

प्रतिक्रिया