मदरसा विद्यालय भवनको शिलान्यास

इनेप्लिज २०७३ वैशाख ३ गते ५:५१ मा प्रकाशित

उर्लाबारी (मोरङ), ३ वैशाख । मोरङको उर्लाबारीमा मदरसा तजबिदुल कुर्वानको विद्यालय भवनको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

उर्लाबारी–४ स्थित मदरसा छेउकै जमिनमा विद्यालय भवनको शिलान्यास गरिएको हो । विद्यालयको शिलान्यास मोरङ क्षेत्र नम्बर—९ का सांसद डिकबहादुर लिम्बूले गर्नुभएको थियो । २० लाख रुपैयाँको लागतमा चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी दुईकोठे विद्यालय भवनको शिलान्यास गरिएको हो ।

कार्यक्रममा सांसद लिम्बूले स्थानीय समुदायको चौतर्फी विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो । मदरसा सञ्चालक समितिका अध्यक्ष असहाव आलम ठकुराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अधिकांश वक्ताले मदरसामा आश्रित तथा पढ्न आउने मुस्लिम समुदायका विद्यार्थीलाई विद्यालय भवन बनेपछि पठनपाठनमा सहज हुने बताए ।

विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय मोरङबाट रु १२ लाख, उर्लाबारी नगरपालिकाबाट रु एक लाख र अपुग रकम जनस्तरबाट सङ्कलन गर्ने प्राचार्य बसिर खानले बताउनुभयो । मदरसामा अहिले कक्षा १ देखि ५ सम्मका मुस्लिम समुदायका सय जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया