धार्मिक क्षेत्र गोद्धकमा रामनवमीको मेला सुरु

इनेप्लिज २०७३ वैशाख २ गते २:०६ मा प्रकाशित

रत्ननगर (चितवन), २ वैशाख । उचित प्रचार नहुँदा प्रसिद्ध भएर पनि ओझेलमा परिरहेको दक्षिण माडी नगरपालिका–३ द्रौपतीनगरमा रहेको धार्मिक क्षेत्रमा गोद्धक मेला सुरु भएको छ ।

रामनवमी पर्वका अवसरमा आयोजना हुँदै आएको चितवनबाट चालीस किलोमिटरको दुरीमा पर्ने यो मेलामा भारतबाट समेत सयौँ तीर्थालु आउने गर्दछन् । विशेषगरी पाँच पाण्डव बसेको स्थान र परशुरामले तपस्या गरेको स्थलको स्मरणमा यहाँ मेला लाग्ने गर्छ । गोद्धक क्षेत्र पुगेर दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप नाश हुने धार्मिक विश्वास रहेको स्थानीयवासी कृष्ण चौधरीले बताउनु भयो । पाँच पाण्डव बसेको क्षेत्रका रुपमा गोद्धकलाई लिइने गरिन्छ ।

गोद्धक मेला व्यवस्थापन समितिका अध्यक्ष केदारप्रसाद अधिकारीले मेला अवलोकन तथा परशुराम कुण्ड स्नान गर्न आउने भक्तालुको विगतभन्दा चहलपहल बढेको बताउनुभयो । गोद्धक मेला आउने मध्ये मनोरम झरना रहेको परशुराम कुण्ड हेर्न आउनेहरु धेरै हुने गरेका छन् । प्राचीन किंवदन्तीअनुसार परशुराम कुण्डमा परशुरामले तपस्या गरेका थिए । सोमेश्वर पर्वतबाट झरेको मनोरम झरना परशुराम कुण्डमा बगेको छ । परशुराम कुण्डमा नुहाएमा पाप नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

गोद्धक मेला व्यवस्थापन समितिका सचिव अमर थापाले मेला अवलोकन गर्न आउने तीर्थालुलाई सहज रुपमा बस्न तथा खानाको व्यवस्था मिलाइएको बताउनुभयो । गोद्धक क्षेत्रमा करिब ५०० भक्तालु बस्न मिल्ने धर्मशाला तथा चारवटा होमस्टे सञ्चालनमा छ ।
मेलामा शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, विरोलानाथ, झन्डी डाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकन गर्न पाइन्छ । माडी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष जीतेन्द्रबहादुर भण्डारीले गोद्धक क्षेत्रको धार्मिक महत्व उजागर हुन नसक्दा ओझेलमा परेको बताउनुभयो । गर्दी पर्यटन समितिका अध्यक्ष छविलाल भट्टराईले गोद्धक क्षेत्रको प्रचार–प्रसार गर्न सके जिल्लाकै धार्मिक पर्यटनको केन्द्र बन्ने बताउनुभयो । मेला यही वैशाख ५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया