सेनाबाट सहयोग पाएपछि दलितबस्ती दङ्ग

इनेप्लिज २०७३ वैशाख १ गते ४:५५ मा प्रकाशित

भीमदत्तनगर, १ वैशाख । वेदकोट नगरपालिका–४ बैतडास्थित सार्कीपार्की टोलकी ६२ वर्षीया मायादेवी भुल झन्डै दुई दशकसम्म घर छेउको चौधर खोलाको बाढी र कटानबाट निकै ग्रसित भइन् । आफूसित भएको दुई बिघा खेतमा चार कट्ठा जमिन मात्रै बाँकी रहेपछि मायादेवी मङ्गलबार भने हर्षित मुद्रामा सेनाको जयजयकार गर्दै गरेको भेटिइन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका–४ सार्कीपार्की टोलका करिब एकसय दलित परिवारको बर्खामा स्थानीय चौधरखोलामा आउने बाढीबाट ग्रसित छ । बाग्लुङको ढोरपाटन सर्नै लागेको नेपाली सेनाको हनुमानध्वज गुल्मले करिब दुई साता लगाएर सहयोगस्वरुप चौधरखोलामा तटबन्ध बनाइदिएपछि दलितबस्तीमा खुसी छाएको हो । गत वर्ष खोलामा आएको बाढी घर पस्दा ज्यान जोगाउने क्रममा छोरा पट्टेराम भुलको दायाँ आँखासमेत गुमेको पीडा सम्ँिझदै मायादेवीले आगामी दिनहरुमा आउने बाढीबाट सेनाको तटबन्धले जोगाइदिएको बताइन् ।

“विगतका वर्षमा बाढीको त्रासमा जीवन गुजार्दै गर्दा पीडा बुझ्न धेरै सङ्घसंस्था आए,” मायादेवीले रासससँग भनिन् –“हाम्रो लागि त सेना भगवान् हो ।” विसं २०२५ मा बैतडीबाट बसाइँ सरी आएका मायादेवीको परिवार हरेक वर्ष चौधरनदीमा आउने बाढीबाट ग्रसित हुँदै आएको थियो । “सेनाले तटबन्ध बनाएपछि बर्खामा बाँच्ने आश पलाएको छ,” मायादेवीका छोरा पट्टे भुलले भने – “गत वर्ष बाढी आउँदा भाग्ने क्रममा काठमा ठोक्किएर मेरो एउटा आँखाले संसार देख्न छाड्यो ।”

सार्कीपार्की टोलका १२ परिवार उक्त खोलामा आउने बाढीबाट पूर्ण रुपमा विस्थापित भइसकेको स्थानीयवासी उत्तरे भुलले बताउनुभयो । “२०३८ सालमा बैतडीबाट बसाइँ सरी आउँदा मै सित तीन बिघा जग्गा थियो,” उनले भने – “अहिले म अरूको जग्गामा टहरा बनाएर बसेको छु ।”

उहाँले चौधरखोलामा दीर्घकालीन तटबन्ध बनाउने योजना ल्याइनुपर्नेमा जोड दिए । सेनाले सहयोगस्वरुप बनाएको तटबन्ध एक कार्यक्रमबीच मङ्गलबार बिहान दलित समुदायलाई हस्तान्तरण गरिएको छ । तीस मिटर लामो तटबन्धको हस्तान्तरण कार्यक्रममा सेनाको श्री नं २५ वाहिनी अड्डाका महासेनानी शेर सिंह विष्टले भविष्यमा पनि सेनाले साधनस्रोतले भ्याएसम्म पीडित बस्तीमा मलम लगाउने विश्वास व्यक्त गरे । उनले चौधरखोलामा तटबन्ध निर्माणमा स्थानीयवासीका साथै अन्य सङ्घसंस्थाको पनि सहयोग रहेको बताए ।

तटबन्ध निर्माणका नेतृत्वकर्ता हनुमानध्वज गुल्मका गुल्मपति सेनानी सुमनकुमार पण्डितले नागरिक–सैनिक सम्बन्ध सदृढ पार्न सामाजिक कार्यक्रममा सेनाले सहयोग गरेको बताए । हनुमानध्वज गुल्मले विपद् व्यवस्थापनका साथै अन्य सामाजिक काममा समेत कञ्चनपुरमा महत्वपूर्ण भूमिका निभाइआएको छ ।

तटबन्ध हस्तान्तरणमा दलित बस्तीका अगुवाले सैनिक अधिकारीलाई टीका र पुष्पगुच्छाले सम्मानसमेत गरेका थिए । “सेनालाई जनताको माया रहेछ।” स्थानीयवासी राम भुलले भने –“यसरी नै सरकारले हाम्रो बस्तीमा ध्यान पु¥याइदिए हामीले सुकुम्वासी र बाढीपीडित बन्नुपर्ने थिएन ।” तटबन्ध निर्माणमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय कञ्चनपुर लगायतको पनि सहयोग रहेको थियो ।

प्रतिक्रिया